
रगतको क्यान्सर जोखिमपूर्ण रोगमध्ये पर्छ । यसको उपचार नै हुँदैन भन्ने भ्रम कतिपयमा अझै पनि रहेको पाइन्छ । तर बोनम्यारोमा भएको स्टेम सेलको प्रत्यारोपण र औषधिबाट रक्त क्यान्सरको उपचार सम्भव भएको डा. विशेष पौड्याल बताउँछन् । रोगको प्रकृति अनुसार औषधि उपचार वा बोनम्यारो प्रत्यारोपण गरिने उनको भनाइ छ । प्रस्तुत छ, रक्त रोग तथा क्यान्सर, लक्षण, बोनम्यारो प्रत्यारोपण लगायत विषयमा आर्थिक अभियानका काशीराम बजगाईले डा. पौड्यालसँग गरेको कुराकानीको सार :
रगतका रोग कस्ता प्रकारका हुन्छन् ?
रगतमा दुईओटा तत्त्व हुन्छन्, कोषिका र तरलपदार्थ । कोषिकामा सेता रक्तकोष, राता रक्तकोष र प्लेटलेट्स हुन्छन् भने तरलपदार्थको रूपमा प्लाज्मा हुन्छ । शरीरमा भएका राता रक्तकोषको कमीले अक्सिजन आपूर्तिमा ह्रास ल्याउँछ भने सेता रक्तकोष कम वा बढी भएमा रगतको संक्रमण सम्बन्धी रोग देखिन्छ । यस्तै प्लेट्लेट्सको कमीले रक्तस्राव अत्यधिक हुने, शरीरमा नीला डाम देखिने र गिजाबाट रगत बग्ने जस्ता रोग देखिन्छन् । यसैगरी प्लाज्मामा विभिन्न किसिमका प्रोटिन हुन्छन् । ती प्रोट्रिन कम भएमा रक्तस्राव अत्यधिक हुने र बढी भएमा रगतका नलीहरू थुनिने रोग देखिन सक्छ ।
रगतको क्यान्सर किन हुन्छ ?
कुनै बिरामीलाई पहिले शरीरका अन्य अंगको क्यान्सर भई केमोथेरापी वा रेडियोथेरापी गरिएको छ भने उक्त बिरामीलाई रगतको क्यान्सर हुन सक्छ । यस्तै विकिरणका कारण पनि यसको सम्भावना हुन्छ । जस्तै– दोस्रो विश्वयुद्धमा जापानमा आणविक बम विष्फोटपछि त्यहाँ रगतको क्यान्सरका बिरामी बढेका थिए । रगतको क्यान्सर हुने अर्को कारण रबर लगायत उद्योगमा प्रयोग हुने बेन्जिन नामक तत्त्व हो । लामो समयसम्म बेन्जिनको सम्पर्कमा रहँदा पनि रगतको क्यान्सर हुन सक्छ । यस्तै ईभी, हेलिकोब्याक्टर पाइलोरी लगायत भाइरसको संक्रमणले समेत रक्त क्यान्सरको सम्भावना बढाउँछ । विभिन्न अध्ययनबाट यी ४ कारण रगतको क्यान्सर हुन सक्ने देखिएको छ । रगतको क्यान्सर हुने अन्य कारण प्रमाणित भइसकेका छैनन् ।
रगतसम्बन्धी रोगका लक्षण के के हुन् ?
सामान्यतया रगतको क्यान्सर र रगतसम्बन्धी अन्य रोगका लक्षण करीब उस्तै हुन्छन् । क्यान्सर भएर राता रक्तकोष घटेमा श्वास फेर्न गाह्रो हुने, भर्याङ चढ्न नसकिने, स्वाँ–स्वाँ हुने, बसेर उठ्दा रिंगटा लाग्ने, छातीको भाग दुख्ने, धेरै थकाइ लाग्ने जस्ता लक्षण देखिन्छन् ।
त्यसैगरी क्यान्सरको कारण सेता रक्तकोषको संख्या घटेमा विभिन्न संक्रमण देखिन्छन् । तर जाँच नगरी रगतको क्यान्सर भए/ नभएको यकिन गर्न सकिँदैन । त्यसैले शरीरमा नीला डाम देखिएमा, गिजा र शरीरका अन्य अंगबाट अप्रत्याशित रगत बग्न थालेमा रगतको जाँच गरी रोगको निदान गर्नुपर्छ । यसैगरी हड्डी दुख्न थालेमा, छाम्दा शरीरका विभिन्न अंगमा डल्ला–डल्ला देखिएमा, देब्रे पेटमा मासुको डल्लो आएजस्तो अनुभूति भएमा, विभिन्न संक्रमण भइरहने र निको नहुने वा छिटो बल्झिने गरेमा रगतको रोग हुन सक्छ ।
रगतको क्यान्सर कत्तिको जटिल हुन्छ ?
विस्तारै बढ्ने र एकैचोटि बढ्नेगरी रगतको क्यान्सर २ किसिमको हुन्छ । विस्तारै बढ्ने क्यान्सर ५/ ६ वर्षसम्म पनि थाहै नहुन सक्छ । तर एकैचोटि देखिने क्यान्सर जोखिमपूर्ण हुन्छ । २–३ महीनाभित्रै यसको उपचार गरिएन भने बिरामीको मृत्यु हुने सम्भावना अधिक हुन्छ । समयमै उपचार गरियो भने रगतको क्यान्सर जोखिमपूर्ण हुँदैन ।
रगतको क्यान्सरको उपचार कसरी हुन्छ ?
केमोथेरापी र बोनम्यारो प्रत्यारोपण गरी दुई किसिमले क्यान्सरको उपचार गर्न सकिन्छ । सामान्य अवस्थामा केमोथेरापी गरिन्छ, जसमा औषधिको सहायताबाट क्यान्सरका कोशिका नष्ट गरिन्छ । यसको काम रोगलाई नियन्त्रणमा राख्नु हो । कहिलेकाहीँ केमोथेरापीबाटै रोगबाट मुक्ति पाउन पनि सकिन्छ । रक्त क्यान्सरको उपचारमा राम्रो उपाय भने बोनम्यारो प्रत्यारोपण हो । तर यसको उपचारका लागि बोनम्यारो प्रत्यारोपण अनिवार्य भने होइन । शुरूमा औषधिको सहायताबाट उपचारको प्रयास गरिन्छ । त्यसबाट सम्भव नभए मात्र बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ ।
बोनम्यारो प्रत्यारोपण कसरी गरिन्छ ?
हाम्रो शरीरमा भएको स्टेम सेलले रगतको सम्पूर्ण कोष बनाउने गर्छ । बोनम्यारोमा हेमाटोपोएटिक स्टेम सेल (एकदमै थोरै मात्रामा रगतमा पनि) हुन्छ । बोनम्यारो प्रत्यारोपणका लागि सोही सेलको प्रयोग हुन्छ । विशेष मेशिनको सहायताबाट बोनम्यारोको स्टेम सेल झिकेर बोनम्यारो प्रत्यारोपण गर्न सकिन्छ । रोगको प्रकृति अनुसार केहीलाई विशेष किसिमको औषधिको प्रयोग गरेर रगतबाट झिकिएको स्टेम सेल पनि दिन सकिन्छ । उक्त प्रक्रियामा शुरूमा केमोथेरापीबाट रोग नियन्त्रणमा राखिन्छ ।
त्यसपछि ठूलो मात्रामा केमोथेरापी दिइन्छ । केमोथेरापी सकिएको भोलिपल्ट बोनम्यारो प्रत्यारोपण गरिन्छ । तर यसका लागि दाता र बिरामीको बोनम्यारो १०० प्रतिशत मिल्नुपर्छ नत्र कम्तिमा पनि ५० प्रतिशत मिल्नुपर्छ । आफ्नै सहोदर दाजुभाइ तथा दिदीबहिनीको बोनम्यारो शतप्रतिशत मिल्ने सम्भावना बढी हुन्छ ।
प्रत्यारोपण गरिएको बोनम्यारोले केही असर पनि गर्छ ?
दाताबाट बिरामीमा प्रत्यारोपण गरिएको स्टेम सेलले काम गर्न १४ देखि २१ दिन लाग्छ । यस बीचमा उक्त सेल बिरामीको शरीरलाई प्रतिकूल बन्न सक्छ । त्यसको नियन्त्रणका लागि औषधि सेवन गर्नुपर्छ ।
नेपालमा बोनम्यारो प्रत्यारोपणको अवस्था कस्तो छ ?
नेपालमा बोनम्यारो प्रत्यारोपण शुरू भएको करीब ८ वर्ष भयो । हाल हामीसँग भएका यससम्बन्धी विशेषज्ञ र पूर्वाधारले दैनिक दुईजना बिरामीमा बोनम्यारो प्रत्यारोपण गर्न सकिन्छ । तर बिरामीको चाप हेर्दा दैनिक १० ओटासम्म प्रत्यारोपण गर्नुपर्ने देखिएको छ । पछिल्लो समय यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन भइरहेको छ, जसले गर्दा उपचारमा सहज हुने देखिएको छ ।
प्रत्यारोपणको खर्च कत्तिको महँगो छ ?
संसारमा सबैभन्दा कम खर्चमा बोनम्यारो प्रत्यारोपण हुने देश नै नेपाल हो । नेपालमा यसको प्रत्यारोपण रू.१२ लाखमा हुन्छ । भारतमै यसका लागि रू. ३५ लाखभन्दा बढी लाग्छ । अन्य देशको तुलनामा नेपालमा लाग्ने खर्च सानो भए पनि सबैले बेहोर्न सक्ने देखिँदैन । खर्च जुटाउन नसक्दा धेरै बिरामीको बोनम्यारो प्रत्यारोपण हुन सकेको छैन । यसकारण मिर्गौला प्रत्यारोपणमा जस्तै बोनम्यारो प्रत्यारोपणका लागि पनि सरकारले सहुलियत दिनुपर्छ ।
तर भारतमा बोनम्यारो प्रत्यारोपण गराउन जानेहरू पनि धेरै छन् नि ?
हो । बोनम्यारो प्रत्यारोपणका लागि अझै पनि भारत जानेको संख्या उस्तै छ । बोनम्यारो प्रत्यारोपणका लागि नेपालमा अन्य देशमा जस्तै विशेषज्ञ र अत्याधुनिक उपकरण छन् । विकसित देशमा जत्तिकै सफल पनि छ । तर चेतनाको अभाव र बजारमा फैलिएको गलत हल्लाका कारण बिरामीहरू भारत लगायत मुलुक गइरहेका हुन् भन्ने मलाई लाग्छ । अब दक्ष जनशक्ति र पूर्वाधार बढाउनुपर्ने चुनौती भने देखिएको छ ।
arthikaviyan.com/from



