खेलकुद

पोखरामा बन्द प्रशिक्षण गर्दै राष्ट्रिय क्रिकेट टोली

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि बन्द प्रशिक्षण पोखरा रंगशालामा रहेको क्रिकेट मैदानमा गर्ने भएको छ ।

माघ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा हुने उक्त सिरिजको लागि मैदान मर्मत कार्य जारी हुँदा पोखरामा बन्द प्रशिक्षण गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । प्याकुरेलका अनुसार नेपालले अर्को हप्तादेखी पोखरा अभ्यास थाल्ने छ ।

प्रमुख प्रशिक्षक उमेश पटवाल भारत गएको हुँदा उताबाट फर्किएसँगै अभ्यास थाल्ने छ । नेपालले सुरुवाती बन्द प्रशिक्षणमा २५ देखी ३० खेलाडीलाई बोलाउने तयारी गरेको उनले जनाएका छन् । पोखरा रंगशालामा दुई संस्करणको पोखरा प्रिमियर लिग सफलतापूर्ण सम्पन्न भइसकेको छ ।

पोखराको पिचलाई लिएर पुर्व कप्तान पारस खड्काले तारिफ गर्दै आएका छन् । ब्याटिङ पिच मानिने पोखरा रंगशालामा फाइनलमा खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सविरुद्ध २ सय २ रन बनाएको थियो । नेपालले सन् २०१३ मा पोखरा रंगशालामा बन्द प्रशिक्षण गरेको थियो ।

प्याकुरेलले मलेसियासँग खेल्ने भनिएको टि ट्वान्टी र ओडीआई सिरिज हल्लामात्रै रहेको प्रष्ट पारेका छन् । सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसिय क्रिकेट प्रतियोगिता खेल्न आएको मलेसिया ११ सँग अभ्यास खेल खेल्ने संभावना रहेको बताए । उक्त अभ्यास खेल यू१९ र सिनियर टोली बाहिर रहेका खेलाडीले खेल्ने संभावना छ ।

के हो आईसीसी विश्वकप लिग २ ?

आईसीसी विश्वकप लिग–२ भनेको सन् २०२३ मा भारत हुने एक दिवसिय विश्वकपको यात्रा हो । आईसीसी विश्वकप लिग–२ मा ७ एसोसिएट सदस्य राष्ट्रबीच प्रतिस्पर्धा हुने छ । आईसीसीको वान डे वरीयतामा १४–२० सम्म रहेका नेपाल,ओमान,नामिविया,पप्पुवा न्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिकाबीच लिग अन्तर्गत २१ त्रिकोणात्मक सिरिज हुनेछ ।

साढे दुई वर्ष सम्म चल्ने प्रतियोगितामा प्रत्येक राष्ट्रले होम र अवे गरि कुल ३६ ओडीआई खेल्ने छन् । जसमध्यका शीर्ष तीन टोली सन् २०२२ मा हुने आईसीसी विश्वकप क्वालिफायरको लागि छनोट हुने छन् । पुछारका चार टोलीले विश्वकप छनोट प्लेअफ खेल्ने छन् । जुन सन् २०२२ मै हुने छ ।

अमेरिका शीर्ष स्थानमा

नेपाल बाहेक अन्य ६ टोलीले विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलि सकेका छन् । अमेरिका ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्डले ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्डले यूएईसँग एक खेल वर्षाको कारण अंक बाडेको थियो ।

४ खेलमा ३ मा जित १ मा हार सहित ६ अंक जोड्दै नामिबिया तेस्रो र ओमान चौथो स्थानमा छन् । यूएई ४ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । ८ खेलमा ८ मै पराजित भएको पप्पुवा न्युगिनी पुछारमा छ ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button