
सिमित खेलाडीले एक आपसमा आक्रमणमा उत्रिएको अवस्थामा अधिकांश खेलाडी भने एक अर्कालाई साम्य पार्दै गरेको देखिन्थे । तर जब बेन्चबाट अफिसियल मैदानभित्र पसे, स्थिति थप तनावग्रस्त बन्यो । क्लबको ट्रयाकमा देखिएका केहि अफिसियल त बेन्चबाट छिरे र सिधै खेलाडीसँग भनाभन गर्न थाले । केहीबेरमा नै मैदानमा बिना कुनै कार्ड लगाएका क्लबका केहि समर्थक पनि देखा परे । विपक्षी टोलीका खेलाडीलाई अपशब्द बोल्दै स्थिति झनै तनावपूर्ण बनाउन थाले ।
खेलका लागि तैनाथ सुरक्षा गार्डले मात्र नसकेपछि मैदानबाहिर ड्युटीमा रहेका प्रहरीले नै स्थिति साम्य बनाउन मैदान पस्नुपर्यो । अन्तर्राष्ट्रिय नियमअनुसार प्रहरी मैदानमा पस्न पाइदैन । तर स्थिति निकै खराब भएपछि प्रहरीसँग त्यसको विकल्प थिएन । हरेक टोलीबाट एक खेलका लागि ११ सुरुवाती रोजाईका खेलाडी, ९ वैकल्पिक खेलाडी र ७ अफिसियल मैदानमा प्रवेश गर्न पाउने हुन्छ । त्यसबाहेक जोकोही पनि दर्शकदिर्घामा नै बस्नुपर्ने हुन्छ ।

सोमबारको घटना हेर्ने हो भने त्यहाँ कार्ड नै नबोकेका क्लबका पदाधिकारी र समर्थक समेत तनावपूर्ण स्थितिका हिस्सा बनेका थिए । एन्फाले मैदानभित्र एकदम संवेदनशील स्थानमा पनि कडाइ गर्न नसक्दा सोमबार सहजै साम्य हुने स्थिति तनावपूर्ण बनेको आँकलन गर्न सकिन्छ । भिडियो हेर्दा पनि पटक पटक अफिसियल तथा सामान्य पोसाकमा रहेका समर्थकले खेलाडीहरुसँग वादविवाद गरेको देखिन्छ । क्लबका अफिसियलले यसअघि पनि विपक्षी खेलाडीलाई अपशब्द बोल्दै आएकोमा कारवाही नगर्नुले मनोबल बढेको बुझ्न सकिन्छ ।
खेल सुरु हुनुभन्दा २ घण्टा अगाडिदेखि खेल सकिएर सबै खेलाडी ड्रेसिङ रुम नपुग्दासम्म रंगशालाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ । मैदानमा प्रवेश गर्न २० खेलाडी र ७ अफिसियलबाहेक एन्फाकै लिग संचालन गर्ने व्यक्ति र फोटो पत्रकारलाई मात्र अनुमति हुन्छ । यसका लागि खेलाडीबाहेक सबैले औपचारिक एक्रिडेसन कार्ड अनिवार्य रुपमा देखिने गरि लगाउनुपर्ने हुन्छ । उक्त कार्डबिना कसैलाई पनि मैदान प्रवेश गर्ने अनुमति हुँदैन । तर सोमबार मैदान प्रवेश गर्ने अफिसियल कसैको पनि कार्ड देखिएको थिएन ।

सुरक्षा व्यवस्थालाई कडाइ नगर्ने हो भने यस्तो तनावपूर्ण स्थितिमा जोकोही पनि मैदान प्रवेश गर्न सक्ने अवस्था छ । यस्तो अवस्थामा भवितव्य दुर्घटना नहोला भन्न सकिन्न । एन्फाले दर्शकदिर्घामा बस्ने सामान्य दर्शकझैं अन्य भीआईपी पास बोकेर मैदान छिर्ने दर्शकलाई पनि सुरक्षा जाँच गर्न जरुरि छ । रंगशालाको सुरक्षा व्यवस्था थप कडाइ गरेसँगै एन्फाले मैदानको मुख्य भागमा के-कस्तो व्यक्ति प्रवेश गरेको छ पनि हेर्न जरुरि छ ।
रंगशालामा यस्तो घटना भएको पहिलोपटक होइन । झन्डै ७ वर्षअघि मध्यपुर युथ एसोसियसन ए डिभिजनबाट रेलिगेसनमा पर्दा रंगशालामा हुलदंगाकै अवस्था सिर्जना भएको थियो । दर्शकदिर्घाबाट कुर्सी तोड्नेदेखि अफिसियलहरुले मैदानमा नै धर्ना दिएका थिए । उक्त अवस्था सिर्जना गर्दा तत्कालिन मध्यपुरका अध्यक्ष र प्रशिक्षक रहेका उपेन्द्रमान सिंह सोमबारको खेलमा म्याच कमिस्नरको भूमिकामा थिए । त्यसबेला एन्फाले सिंहसहित ७ अफिसियललाई १ वर्ष प्रतिबन्ध गरेको थियो ।
एन्फा कम्प्लेक्समै तीन वर्षअघि श्री कुमारी क्लबका अफिसियल तथा खेलाडीले रेफ्रीलाई हातपात गरेका थिए । मोफसलका केहि प्रतियोगितामा पनि यस्ता घटना बारम्बार दोहोरिएका छन् । तर त्यस्ता घटनामा एन्फाले कडा रुपमा प्रस्तुत हुन नसक्दा दोषी खेलाडी तथा अफिसियल बच्ने गरेका छन् ।
दशरथ रंगशाला तयार भएसँगै विश्वकप छनोटका खेल पनि अब त्यहीं हुने निश्चित छ । विगतमा एपीएफ रंगशाला, हल्चोकमा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै नेपालले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामै पनि एएफसीले जरिवाना लगाएको थियो । त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितामा एन्फाले सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

लिग फुटबलमा सोमबारको घटना एन्फालाई एउटा पाठ भएको छ । दोषीलाई कारवाही गर्ने पाटो त छँदै छ, एन्फाले अब आफ्नो कमजोरी सुधार्ने कुनै ढिलाई गर्न नहुने पनि यसले नजिर दिएको छ । पछिल्लो महिना मात्र अनुशासन समितिले खेलाडीले क्याम्प छोडेर क्लब गएको निहुँमा कडा कारवाही गरेको थियो । उक्त निर्णय गर्न समितिलाई १ महिना लागेको थियो । अब दुवै क्लबले यसै साता लिगमा अर्को खेल खेल्दैछन् । त्यसअघि नै कारवाहीको निर्णय आउनुपर्ने पक्षमा समिति र एन्फा पक्कै जानकार छन् ।



