एजेन्सी – इटालियन सिरी मा एसी मिलानले लगतार दोस्रो नित निकालेको छ । सिरी अन्तर्गत आइतबार राति भएको खेलमा मिलानले उडिनेजेमाथि ३-२ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
यसअघि मिलानले काग्लियरीमाथि २-० को जित निकालेको थियो । घरेलु मैदान मिलानोमा मिलानको जितमा एन्टि रेविचले २ तथा थियो हर्नान्डेजले १ गोल थपे । उडिनेजेका जिन्स स्ट्रेगर लार्सेन र केभिन लासाग्नाले गोल गरेपनि हार टार्न सकेन । खेलको छैटौं मिनेटमा गोलरक्षक डोनारुम्मा पोजिसनमा नरहेको अवस्थामा जिन्स स्ट्रेगर लार्सेनले बक्सभित्रबाट गोल गर्दै उडिनेजेलाई अग्रता दिलाए ।
पहिलो हाफमा १-० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्काउन सफल भयो । सब्सिच्युट एन्टी रेविच मैदान छिरेको तेस्रो मिनेटमा गोल गर्न सफल भएका थिए । उनी खेलको ४६औं मिनेटमा जियाकोमो बोनाभेन्टुराको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।
७२औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै घरेलु टोलीलाई खेलमा २-१ को अग्रता दिलाए। ८५औैं मिनेटमा केभिन लासाग्नाले जिन्स स्ट्रेगर लार्सेनको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रेविचले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै मिलानलाई महत्वपूर्ण ३ अंक दिलाए ।
जितसँगै मिलान २० खेलबाट २८ अंक जोडेर आठौं स्थानमा उक्लन सफल भएको छ । पराजित उडिनेजे २३ अंकसहित १४औं स्थानमा छ ।
अन्य नतिजा
नेपोलीविरुद्व फियोरेन्टिना (०-२)
बोलोग्नाविरुद्व हेलास भेरोना (१-१)
ब्रेसियाविरुद्व काग्लियरी (२-२)hamrokhelkud



