स्वास्थ्य

मुस्कान फर्काउने उपचार

सिर्जना खत्री

‘आहा कस्ता राम्रा मिलेका सेता दाँत। मोतिझैं टल्किने दन्तलहर..।’ प्रायः सुनिइरहने वाक्य हुन् यी।

हुन त, मानिसको सुन्दरता व्यवहार र कामले मापन गरिन्छ। तर भौतिक बनावटको सुन्दरतालाई मान्ने हाम्रो समाजले नमिलेका बांगाटिंगा, खप्टिएका दाँत हुनेहरूको सातो खाएको छ। दाँतको बनावट बिगे्रका व्यक्तिहरू अरुका सामुन्ने खुलेर बोल्न र स्कुल/कलेजमा साथी बनाउन सक्दैनन्।

२५ वर्षीया निशालाई साथी बनाउन निकै रुचि लाग्थ्यो। तर उनको नमिलेको दाँतले उनको मनमा डर भरिन्थ्यो। ‘साथीले के भन्लान् ? कतै साथीले जिस्क्याउने त होइनन् ?,’ यस्तै सोचेर उनी साथी बनाउन हच्किन्थिन्।

‘मेरा दाँत निकै बिग्रिएका थिए। यही कारण विद्यालयमा धेरै साथी बनाउन सकिनँ। साथी बनाउन मन लाग्थ्यो तर दाँत नराम्रो भएकोले जिस्क्याउँछन् भनेर साथी बनाउन डर लाग्थ्यो,’ उनले भनिन्।

विद्यालय पढ्दा साथीले उनका दाँतको विषयमा कहिल्यै नराम्रो प्रतिक्रिया दिएनन्। तर ‘वनको बाघले खाओस्÷नखाओस् मनको बाघले खान्छ,’ भनेझैं निशाको मनमा आफ्नो दाँतलाई लिएर डरमात्र लाग्यो।

‘दाँत राम्रा नभएकोले धेरै साथी बसेको ठाउँमा गएर हाँस्न संकोच लाग्थ्यो। मन खोलेर बोल्न आँट आउँदैनथ्योे। हाँस्नै प¥यो भने पनि दाँत नदेखाई हाँस्थें,’ निशाले भनिन्।

निशाका अनुसार सानामा उनका दूधे दाँत राम्रा थिए। पुराना दाँत गएर नयाँ निस्कने बेलामा माथिपट्टिको दाँत एक अर्कोसँग खप्टिएर आए। बीचबीचमा ग्याप भएर निस्केका थिए।

८/९ वर्ष हुँदासम्म उनले केही ध्यान दिइनन्। उमेर बढ्दै जाँदा ऐना हेर्दा खिन्नता बढ्न थाल्यो। ‘अरु साथीका भन्दा मेरा दाँत साह्रै नमिलेका लाग्यो। अनि त आफ्नै दाँत मन पर्न छाड्यो,’ उनले भनिन्।

स्नातक पढ्ने क्रममा चिकित्सकलाई आफ्नो दाँत देखाउने सोच बनाइन्। बिग्रेका दाँत राम्रो बनाउन सकिन्छ भन्ने निशाले सुनेकी थिइन्। समस्या लिएर उनी अर्थोडेन्टल सर्जन (बिग्रेका दाँत राम्रो बनाएर सिधा बनाउने चिकित्सक) कहाँ पुगिन्।

सर्जनले तारले बाँधेर दाँत मिलाउन सकिने बताए। सर्जनको सल्लाहअनुसार अस्पताल गएर उनले दाँतलाई तारले बाँधिन्। बाँधेको पाँच दिनसम्म त निकै ज्वरो आयो। यद्यपि, दुःखै भए पनि दाँत बनाएरै छोड्ने अठोट थियो निशाको।

अन्ततः डेढ वर्ष तार बाँधेर लगाएपछि निशाले आफ्नो मिलेका दाँतहरू पाइन्। ‘जुन आत्मविश्वास मेरो किशोरावस्थामा हराएको थियो। अहिले फर्किएको छ,’ उनी खुसी हुँदै भन्छिन्।

ललितपुरकी सुनिताको पनि दाँतको राम्रोसँग विकास भएका थिएनन्। दाँत साना भएकोले बोल्दा हाँस्न पनि अप्ठ्यारो लाग्थ्यो उनलाई। भन्छिन्, ‘केही साथीहरूले दाँतकै कारण थोती भनेर जिस्क्याउँथे। यसरी जिस्क्याउँदा धेरै दुःख लाग्थ्यो। साथीहरूसँग फोटो खिच्दा हाँस्न मन लाग्दैन थियो।’

दाँतकै कारण उनी एक्लै बस्थिन्। छोरी एक्लै बसेको देखेर आमाबुबा निराश हुन्थे। उनीहरूले छोरीको दाँतको उपचार गर्ने निधो गरे र अस्पताल लगे। चिकित्सकलाई देखाएपछि थाहा भयो सुनिताको दाँतको हड्डी राम्ररी विकास भएको रहेन छ। उनको दाँत शल्यक्रिया गरी तारले बाँधेर मिलाइयो। अहिले आफ्ना दाँत आफैंलाई खुब मन पर्ने उनी बताउँछिन्। अहिले उनी साथीहरूको बीचमा मज्जाले हाँसेर फोटो खिच्न सक्छिन्।

Young woman with brackets

काठमाडौंकी सोनु केसीका दाँत पनि एक अर्कामा खप्टिएका छन्। सानै हुँदा अरु साथीका जस्ता राम्रा दाँत किन भएनन् भनेर सोनुलाई खुल्दुली र चिन्ता लागिरहन्थ्यो। साथीहरूले निकै जिस्क्याउँथे। हैरान हुन्थिन्। साथीहरूले जिस्क्याएको सहन नसकेपछि घरमा ढोका थुनेर रुन्थिन्।

दाँतका उपचार गराएर राम्रो बनाउन घरपरिवार र साथीभाइले बारम्बार सुझाइरहन्छन्। ‘सुरुसुरुमा दाँत उपचार गराएर राम्रो बनाउँ कि भन्ने पनि लाग्यो। तर त्योभन्दा बढी झन् केही हुन्छ कि भन्ने डरले अस्पताल नै गइनँ,’ उनले सुनाइन्।

दाँतमा तार लगाएपछि पहिलाको जस्तो हुँदैन। कमजोर हुन्छ। खाना खाँदा झन्झनाउँछ भन्ने सोचाइ सोनुमा पनि लागू भयो। ‘डरले गर्दा दाँत बनाउन मन लागेन। जस्तो छ त्यस्तै राख्ने सोचेँ,’ उनले भनिन्। ‘अहिले त साथीभाइले जिस्क्याउँदा मन दुखे पनि वास्ता गर्दिनँ। मेरो त दाँत यस्तै हो भनेर टारिदिन्छु,’ उनले हाँस्दै भनिन्।

चिकित्सकका अनुसार सोनु जस्ता समस्या भएर उपचार गराउन डराउने कम मात्र हुन्छन्, जसले थाहा पाएर पनि उपचार गराउँदैनन्। उपचार हुन्छ भन्ने थाहा पाएका धेरैले भने दाँतको उपचार गराउँछन्।
पछिल्लो समय प्रमुख स्वास्थ्यभित्र पर्ने दाँतको उपचारका लागि विभिन्न विशेषज्ञ चिकित्सक उत्पादन भइरहेका छन्। जसले जस्तोसुकै दाँत पनि मिलाएर राम्रो बनाइदिने गर्छन्। अहिले यसरी बिग्रेका दाँतको उपचार गराउन अभिभावक पनि साना नानी लिएर दन्त विशेषज्ञ कहाँ पुग्छन्।

‘मानिसको व्यक्तित्वसँग जोडेर दाँतलाई हेरिन्छ। यही कारण पछिल्लो समय रोजगारी गर्ने युवायुवतीले दाँत बाँध्ने चलन बढेको छ,’ चिकित्सकहरू बताउँछन्।

चिकित्सकका अनुसार दाँतको बीचमा खाली ठाउँ भएमा, खप्टिएमा, हड्डी सानो भएर दाँतको विकास राम्रोसँग नभएमा वा उल्टो गरी टोकिएको अवस्थामा अर्थोडेन्टल उपचार गराउन सकिन्छ।

त्रिवि शिक्षण अस्पतालका अर्थोडेन्टल विशेषज्ञ डा सञ्जयप्रसाद गुप्ता भन्छन्, ‘अर्थोडेन्टिक उपचार भन्नाले सामान्य भाषामा दाँतमा तार बाँध्ने वा ब्रेसेज लगाउने भन्ने बुझिन्छ।’ डा गुप्ताका अनुसार यदि उपचार समयमा गरिएन भने बांगोटिंगो दाँतमा खाना अड्किन्छ र खप्टिएको दाँतमा किरा लाग्ने, गिजामा विभिन्न खालका समस्या देखिने समस्या हुन्छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, डेन्टल विभाग प्रमुख डा पूर्ण खनालका अनुसार अर्थोडेन्टल समस्या भएका दाँतलाई ब्रेस र तारले बाँधेर मिलाउने गरिन्छ। ‘प्रायः दाँतको बाहिरी भागमा ब्रेस र तार राखी गरिने उपचार नै बढी प्रचलनमा देखिन्छ। यसरी गरिने उपचार प्रविधि बाहिरबाट देखिने भएको हुँदा कतिपयको हकमा सम्भव नहुन सक्छ। यसको लागि दाँतको भित्री सतह (जिब्रो पट्टिको भाग) मा ब्रेस लगाएर उपचार गर्ने प्रविधि नेपालमा पनि सुरु भएको छ। साथै ब्रेसको प्रयोग बिना नै दाँत मिलाउन सकिन्छ, जसलाई क्लियर एलाइनर थेरापी भनिन्छ।’ यसका अतिरिक्त मुख तथा दाँतका कार्यहरू (चपाउने, बोल्ने, श्वास फेर्ने, निल्ने) लाई पनि सहज बनाउने काम गर्छ।

अमेरिकन एसोसिएसन अफ अर्थोडेन्टल समाजका अनुसार ६ देखि ७ वर्षका बच्चालाई अर्थोडेन्टल विशेषज्ञकोमा देखाउनु पर्छ। जसले गर्दा हड्डीको समस्या भए÷नभएको थाहा हुन्छ।

कस्तो अवस्थामा अर्थोडेन्टल उपचार गर्नुपर्छ?
– दाँतको बीचमा खाली ठाउँ भएमा,
– दाँत खप्टिएर बसेको भएमा,
– दाँत हड्डीभित्र पसेको अवस्थामा
– र दाँतको टोकाइ उल्टो भएमा
यीमध्ये धेरै मानिसलाई दाँत खप्टिने समस्या बढी छ। उपचारका लागि अस्पताल आउनेको पनि यही समस्या धेरै देखिन्छ।

कुन उमेरमा अर्थोडेन्टल उपचार हुन्छ?
चिकित्सकका अनुसार अर्थोडेन्टल उपचार गर्ने सही उमेर १२ देखि १४ वर्षको उमेर हो।
यदि हड्डीको समस्या देखिएको छ भने ८ देखि १२ वर्षभित्र उपचार गर्नुपर्ने हुन्छ। त्यसैले बच्चाको दाँतको हड्डीको राम्रोसँग विकास भएको छ÷छैन बुझ्न ६ देखि ७ वर्षको उमेरमा अर्थोडेन्टललाई देखाउनुपर्छ।
सुरुमा समस्या पत्ता लाग्यो भने उपचार गर्न सहज हुन्छ। यदि हड्डीको कारणले नभई अन्य कारण हो भने १२ देखि १४ वर्षको उमेर उपचारका लागि उपयुक्त मान्न सकिन्छ।

किन बांगोटिंगो उम्रिन्छ दाँत?
दूधे दाँतहरू सामान्यतयाः ५ देखि ७ वर्षको बीचमा झर्ने गर्छन्। कहिलेकाहीँ दूधे दाँत नझरी भित्रबाट नयाँ दाँत पलाउने र पुरानो दाँतले स्थान नछाड्ने हुँदा बांगिएर आउँछन्।
सात वर्षको उमेरमा शरीरका साथै अनुहारको हड्डीको पनि विकास हुने गर्छ। यो उमेर हाम्रो मुख्य दाँतहरू निस्कने समय हो। यही समयमा चिकित्सकलाई देखाएमा दाँतमा अर्थोडेन्टल समस्या भए नभएको थाहा पाउन सकिन्छ।
कुनै दुर्घटना वा अन्य केही कारणले दाँतमा समस्या वा दाँतले गर्दा जिब्रो तथा ओठमा घाउ बनाएको अवस्थामा पनि तार बाँधेर दाँत मिलाउन सकिन्छ।

उपचार प्रक्रिया
अर्थोडेन्टिक विशेषज्ञले दाँतको अवस्थाको परीक्षण गर्छन्। एक्स–रे गरी दाँतको नाप तथा मुख बाहिर वा भित्रको तस्बिरलाई लिई त्यसैको आधारमा दाँतका जटिलताका अनुसार उपचार सुरु गर्छन् ।

कति समयसम्म बाँध्नुपर्छ तार ?
तारद्वारा दाँत बाँध्ने झन्झटिलो उपचार पद्धति हो। तार बाँध्ने बित्तिकै दाँत मिल्दैन। मिलाउन लामो समय लाग्ने गर्छ। तार बाँधेपछि विस्तारै दाँत मिल्दै जान्छ। दाँतमा कस्तो समस्या देखिएको हो भन्ने कुराले समय निर्धारण गर्छ। दाँतकोे प्रकृति हेरेर २ देखि ३ वर्षसम्म लाग्छ। उपचारपश्चात् दाँतलाई नयाँ ठाउँमा लगिने हुँदा त्यस वरिपरिको हड्डी र रेसाहरू अर्गनाइज नहुन्जेलसम्म रिटेनरो प्रयोग गर्नुपर्छ। यसपछि पनि बेला बेलामा अर्थोडेन्टिक विशेषज्ञको परार्मश लिनुपर्छ।

तार बाँधेपछि ध्यान दिनु पर्ने कुरा
तार बाँधिसकेपछि चिकित्सकको सल्लाहअनुसार महिनाको एक पटक दाँतको परीक्षण गराउनु पर्छ। तार बाँधेको बेलामा अघिपछि जस्तै साह्रो कुरा टोक्नु हुँदैन। त्यस्तै धेरै तातो वा चिसो खानेकुरा खानु हँुदैन। तार लगाएपछि दाँतको सरसफाइमा ध्यान दिनुपर्छ। दाँतमा फोहोर जम्मा हुन सक्छ भनेर सरसफाइमा ध्यान दिनुपर्छ। राम्रोसँग दाँतको सफाइ गर्न सकिएन भने दाँतमा किरा लाग्नुका साथै गिजामा समस्या देखिने सम्भावना बढी हुन्छ। कुनै समस्या उत्पन्न भयो भने तुरुन्तै चिकित्सकसँग सल्लाह गर्नुपर्छ।

उपचार कहाँ गर्ने ?
नबुझी दाँतको उपचार गराउनु हुँदैन। जहाँ पायो त्यहीँ उपचार गराउँदा दाँतको जरा खिइन सक्ने र दाँत हल्लिन सक्ने सम्भावना हुन्छ।
दाँतको टुक्रा जरामा अड््कियो भने त्यसले झन् ठूलो समस्या पार्छ। दाँतको उपचारसम्बन्धी सामान्य तालिम मात्र लिएकासँग पनि यस्तो उपचार गराउनु हुँदैन। त्यसका लागि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दाँतका विशेषज्ञको मात्र उपचार गराउनुपर्छ।

तार कस्तो बेलामा बाँध्न मिल्दैन ?
बच्चादेखि युवा र वृद्धवृद्धाको दाँतमा तार बाँध्न सकिन्छ। तर दीर्घ रोगी, दाँत पहिले नै हल्लिएको, कुनै रोगको औषधि खाइरहेको, हड्डी कमजोर भएको व्यक्तिको दाँतमा तार बाँध्न मिल्दैन। दाँतलाई समातेर राख्ने वरिपरीको हड्डी स्वस्थ भएसम्म तार बाँध्न सकिन्छ।

उपचारका प्रकार
यो उपचार दुई प्रकारको हुन्छ– निकाल्न र राख्न मिल्ने (रिमुभेवल र फिक्स्ड)। फिक्स्डभित्र मेटलको तार, दाँतको रङको कम देखिने सेरामिक तार, दाँतको पछाडिबाट नदेखिने लिंकअल तार पर्छन्। अहिले चर्चामा रहेको कम देखिने एलाइनर पद्धति, जसमा तार नलगाई दाँत मिलाउन सकिन्छ। जुन सामान्य बिग्रिएका दाँतमा उपयोगी मानिन्छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button