खबर

धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन

धरान: क्यान्सरको उपचाररत धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।उनको आज दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उनको निधन भएको हो । ‘आधा घण्टा अघितिर उहाँको निधन भएको हो, म अस्पताल तिर जादैछु । परिवारसँग भेट भएपछि के गर्ने भन्ने थाह हुन्छ,’श्रेष्ठले भने ।

मेयर राई विगत एक बर्षदेखि क्यान्सर रोगको उपचारमा थिए । उनलाई क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेको थियो । भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो । उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित भएका थिए । पछिल्लो समय उनी समाजवादी पार्टीमा आवद्ध थिए ।

खोटाङ पुख्यौली घर भएका नेता ध्यानबहादुर राई २०४९ सालमा धरानको मेयरमा निर्वाचित भए । उनी धरानका सफल मेयर मानिन्छन् । लामो समय कम्युनिष्ट पार्टीको राजनीतिमा बिताएका उनी तत्कालिन नेकपा एमालेका उपाध्यक्ष अशोक राई समूहमा लागे । संविधान निर्माणसँग सम्बन्धित पहिचान र समानुपातिक प्रतिनिधित्वका विषय पार्टीले सम्बोधन नगर्ने ठहर गर्दै पार्टी परित्याग गरी नयाँ पार्टी संघीय समाजवादी पार्टी बनाएपछि सो पार्टी हुँदै हालको समाजवादी पार्टीमा लागे ।

राजनीतिक तथा सामाजिक रुपमा समेत सहिष्णु, मिलनसार, अब्बल र प्रभावशाली छबि बनाएका उनको निधनले धरानले एउटा इतिहास गुमाएको छ । ०३५, ०३६ सालको विद्यार्थी आन्दोलनबाट अखिलको राजनीतिमा लागेका राई धरानमा लोकप्रिय नेता मानिन्छन्। २०४९ सालको स्थानीय निर्वाचनमा एमालेतर्फबाट जित हासिल गर्दै उनी मेयर भएका थिए।सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button