कृषि र किसान

च्याउको सुकुटी, अचार र धुलोको माग धेरै

सन्तोष अधिकारी

नारायणपुर। पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहनुभएको छ। च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उहाँले बताउनुभयो ।

“लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र अचारको माग धेरै नै छ, माग धान्नै सकिएको छैन”, बुढाले भन्नुभयो । च्याउको बजार देखेपछि बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका–१६ झिगौरामा ‘जलजला च्याउ प्रशोधन केन्द्र’ समेत स्थापना गर्नुभएको छ ।

रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ, च्याउका विभिन्न परिकार बनाएर बिक्री गर्दा अझै फाइदा हुन्छ”, उहाँले भन्नुभयो । बजारमा च्याउको माग बढ्दै गएको छ ।

उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । घरमा खानका लागि बनाइएको च्याउ कहिलेकाहीँ बिक्री गर्दा ग्राहक नियमितरुपमा सोध्न आउने गरेपछि व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । “च्याउको अचार र सुकुटी बजारको मागअनुसार पु¥याउन सकेका छैनौँ”, बुढाले भन्नुभयो । व्यवसायमा फाइदा देखेपछि बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लग्नुभएको छ ।

घोराही–१४ की कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा क्रियाशील रहनुभएको छ । च्याउको बजार राम्रो देखेपछि उहाँ पनि च्याउ खेतीतर्फ आकर्षित हुनुभएको हो । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री गरिरहनुभएको छ ।

“गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ, च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ”, उहाँले भन्नुभयो । अचार र सुकुटी खरिद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उहाँले सामूहिकरुपमा रु सात लाखको लगानीमा उक्त व्यवसाय शुरु गर्नुभएको हो । दाङमा उत्पादन भएको च्याउ रुकुम, रोल्पा, प्यूठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ ।

कृषि ज्ञान केन्द्र दाङका शाखा अधिकृत भरतमणि पोखे्रलका अनुसार जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको छ । “च्याउको बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौ” पोखरेलले भन्नुभयो । जिल्लामा रहेका स्थानीय तहले पनि च्याउ खेतीका लागि तालीम तथा बीउ निःशुल्क वितरण गरेका कारण कतै एकल त कतै सामूहिक च्याउ खेती भइरहेको उहाँले बताउनुभयो ।

जिल्लामा अधिकांश कृषकले दूधे च्याउ, गोब्रे र सीताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दाङका अधिकृत पोख्रेलले जानकारी दिनुभयो । घोराहीमा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button