संकट एक कठोर शिक्षक हो । संकटको समयमा मानिस असहाय हुने गर्छ र उसले बल गरे लुकाइरहेको धेरै विषय उदांगिन्छन् । यसरी प्रकाशमा आएका धेरै कुरा त्यति प्रितिकर हुँदैनन् । यो तथ्य कोरोना भाइरसको प्रकोपको समयमा पुनः स्पष्ट भएको छ । विपत् खासमा विश्व्यापी एकता र उदारता प्रदर्शन गर्ने अवसरका रूपमा आएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई विभाजनको बिउ रोप्ने विकल्पको रूपमा लिए । उनले सार्वजनिक रूपमै कोभिड–१९ लाई चिनियाँ भाइरस वा वुहान भाइरस भने ।
राष्ट्रपति ट्रम्पको यस प्रवृत्तिले धेरैको चित्त दुखायो । तर, मजस्ता अफ्रिकी नागरिकले पटक–पटक रोगलाई राष्ट्रियतासँग तुलना गरेको देखेकाले यो तुलनाले आश्चर्य चकित भने बनाएन । विगतमा रोगको नश्लीयताबाट धेरै प्रभावित अफ्रिका हुने गथ्र्यो । तर, यसपटक यो कुसंस्कारको सिकार एसिया बनेको छ । अफ्रिकी नागरिकले दशकौँदेखि आफ्नो महादेशमाथिको दोषारोपण सहँदै आएका छन् । यो अवधिमा कत्तिले हाम्रो शरीर नै रोग लाग्ने खालको भन्नेसम्मको आरोप लगाए । सबैभन्दा पछिल्लो प्रकोप इबोलालाई मात्र होइन, अन्य चिकित्सकीय विपत्लाई ‘अफ्रिकी रोग’ भनेको अझै हाम्रो सामूहिक स्मरणमा ताजै छ ।
अधिकांश अमेरिकीका लागि सन् २०१४ देखि २०१६ मा देखिएको इबोला प्रकोप दूरदेशको घटना सहर थियो । केही हप्तासम्म अमेरिकी मिडियामा पनि छाएको यो प्रकोपले झन्डै १० हजार मानिसको ज्यान लियो । अहिले विश्व नै कोरोना भाइरसको नियन्त्रणमा लागिपर्दा इाबोलोको जस्तो ढुक्क हुने अवस्था छैन । शक्तिशाली राष्ट्रसमेत भाइरसले थलिन थालेकाले धेरै क्षेत्र यसप्रति थप गम्भीर भएर लागेका छन् । तथापि यो तत्परतामाझ रोगलाई कसरी बुझ्ने, यसलाई कसरी सोच्ने वा रोगबारे कसरी कुरा गर्ने भन्ने कुरामा बदलाव ल्याउन एउटा विश्वव्यापी प्रयास थालिनुपर्छ ।
रोगले मानव शरीरलाई प्रभावित बनाउँछ, यसले चिनियाँ शरीर, अफ्रिकी शरीर वा पश्चिमा शरीर भन्दैन । ज्ञान–विज्ञानको यति धेरै विकास भइसक्दा पनि मानवजातिले यति बुझ्न नसक्नु दुःखद कुरा हो । कुनै रोगलाई निश्चित क्षेत्र–विशेषका मानिससँग जोड्न सुरु गर्नासाथ एकअर्कालाई राष्ट्रियताको सानो परिचयमा खुम्च्याउने र त्यसमार्फत मावनतालाई नामेट पार्ने बेइमान र खतरनाक प्रयास सुरु हुन्छ । हुन त आफूलाई हानि पुर्याउने हरेक पक्षबाट आफूलाई जोगाउने क्रममा मानिसमा केही फरक मनोविज्ञानले काम गर्दो हो । सम्भवतः यो नश्लवादका ती धेरै अभिव्यक्तिमध्ये एक हो, जुन मानवका लगभग हरेक क्रियाकलाप र स्वार्थमा भेटिन्छ ।
कोभिड–१९ प्रकोपपछि पुनः एकपटक भाइरसले हामी को हौँ र कहाँबाट आयौँ भन्ने कुरालाई वास्ता गर्दैन भन्ने प्रमाणित गरेको छ । धेरैले यो प्रकोपलाई हाम्रो नव–भूमण्डलीकृत विश्वको परिणति बताइरहेका छन् । यसप्रति मेरो सम्मानजनक असहमति छ । विश्व इतिहासको धेरै समय भूमण्डलीकृत नै थियो । पहिले पनि व्यापारी, क्रेता तथा अध्येताले एक–अर्को संस्कृति र सामग्रीलाई जोड्ने गर्थे । कोरोना भाइरसको सन्दर्भमा भने एउटा सन्दर्भ फेरिएको छ । अहिले मानिसमा एकअर्काप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आइरहेको छ । यस परिवर्तनको सूत्रधार सामाजिक सञ्जालले हामीलाई विश्वका फरक कुनाका मानिसको सुखदुःखका अनुभव तिनकै भाषामा प्रत्यक्ष सुन्ने, पढ्ने अवसर प्रदान गरेको छ । अब अरूको जीवन र संघर्षलाई हाम्रोभन्दा फरक रूपमा बुझ्ने दिन गए । अलग स्थानका मानिसले भोगिरिहेका पीडालाई केही लक्षणका रूपमा मात्र बुझ्ने र तिनको असली कारणलाई भने बेवास्ता गर्न सकिने अवस्था रहेन ।
जबदेखि मैले मानिसको छालामा पेन्टिङ सुरु गर्न थालेँ, त्यसले मलाई मानवीय स्वभावका केही अकाट्य कुरा सिकायो । सुरुमा म मानिसको शरीरले क्यानभासको काम गर्छ भन्ने सोच्ने गर्थे, मेरो सोचअनुरूप नै त्यसले काम पनि गर्यो । तर, मेरो कामले जब परिपक्वता हासिल गर्दै गयो, तब मैले प्रत्येक व्यक्तिको शरीरले पेन्टिङलाई फरक र विशिष्ट तरिकाले अभिव्यक्त गरेको देखेँ । मेरो ब्रसले बनाउने डिजाइनमा अफ्रिकी संस्कृतिको झलक देखिन्थ्यो । तर, प्रत्येक व्यक्तिको शरीरमा तिनको अलग विशिष्टता देखिन्थ्यो । जब म विश्वले अनुभव गरेको प्रकोपबारे सोच्छु, मेरो दिमाग भाइरस वा अन्य जति पनि रोग छन्, तिनबाट प्रभावित शरीरको छवि आउँछ । यदि भाइरसले अफ्रिकी वा चिनियाँ वा अमेरिकी वा फ्रेन्च शरीरलाई मात्र असर गर्छ भन्ने सोच बनाएर बस्यौँ भने कालान्तरमा सबैको स्वास्थ्य जोखिममा पर्छ ।
यहाँ शारीरिक समस्याको मात्र कुरा होेइन । कुनै पनि मानवीय चुनौतीको सामूहिक समाधान गर्ने हो भने विश्वले यो यथार्थ स्विकार्नैपर्छ । भाइरस जहाँसुकै देखियोस्, त्यसलाई क्षेत्रीय समस्या भनेर बेवास्ता गर्न हुँदैन, अन्यथा त्यसले पर्याप्त तयारीअघि नै विश्वव्यापी संकटको रूप लिन सक्छ । सामाजिक विकार, आर्थिक चुनौती र वातावरणीय विपत्लाई हामीले मानवजातिमाथि आइरहेको साझा समस्याका रूपमा लिन सक्यौँ भने सबैको भलाइ हुन्छ ।
लाओलु सेन्बान्जो नाइजेरेली मूलका कलाकार तथा मानवअधिकार अभियन्ता हुन् ।
“via The New York Times”
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य, nayapatrikadainik/from




