सृजनाको चौतारी

साइँला यो पनि जुँगाकै लफडा हो

कविता

जी एन शर्मा
हो , साइँला तिमी अझै पनि भ्रम र भ्रान्तीको भुमरीमै छौ
अझैै पनि तिम्रो मनले कताकता यसलाई विचारकै कुरा भन्छ
तर, साइँला यो अझ भयानक तिम्रो भ्रम हो
यो मात्रै होइन, त्यो , त्यो अनि त्यो र यो पनि जुँगाकै लफडा हो

तिमीसँग पो त्यो आदर्श र विचार अझै पनि बाँचेको छ त
किनकी तिमी त्यसलाई बचाउन चाहान्छौ र त्यसैमा बाँच्न चाहान्छौ
तर, साइँला यीनले त त्यसलाई पासो मात्रै बनाएका हुन्, लफडा त जुँगाकै हो
तिमीसँग पो त्यो आस्था र पथ अझै पनि बाँचेको छ त
किनकी तिमी त्यसलाई जिवनको पद्धति संझन्छौ र त्यसैमा रमाउन चाहान्छौ
तर, साइँला यीनले त त्यसलाई मस्ती मार्ने खिचडी बनाएका मात्रै हुन् , लफडा त जुँगाकै हो

यो भ्रम र भ्रान्ती नछरेका भए आज यीनी महाराजा हुन कसरी सक्थे र ?
सकुनीको पासो झै तिमी र मलाई यीनले नलठ्याएको भए आज यीनी कसरी ठेकेदार हुन्थे ?
अझै पनि साइँला तिमीलाई यो भ्रमको भूतले छाडेको छैन भने मनबाटै फ्याँकिदेउ
सबैसबैबाट चुकी सकेकाहरुबाट, सबैसबैनै धुती सकेकाहरुबाट
अझै तिमी कस्तो सपनाको पर्खाईमा बसेकाछौ ?
साइँला तिमीहरुका सपनाहरुम यीनीहरुले भाला रोपी सकेकाछन्
तिमीले कल्पना गरेको विचार र वर्गबाट यी भागि सकेकाछन्
आवरणमा तिम्रा अनुहार र बोली राखेर
काला कोठाहरुमा जे जति गर्छन् त्यो आफ्नै लागि गर्छन्
तर, बाहिर जे देखाउँछन् त्यो झुठ हो , सत्य साइँला यही हो, लफडा जुँगाको हो
यीनी जे भन्छन् नी साइँला त्यो कहिल्यै गर्दैनन्
यीनी जे गर्छन् नी साइँला त्यो कहिल्यै भन्दैनन्
किनकी सालाखाला यीनले आफ्नै लागि गर्ने हो
नाम त साइँलाहरुको राख्ने हो तर कुरो फेरि उही जुँगाकै लफडा हो
मुखले तिम्रा मनका कुरा गरेका हुन्छन्
तर, यीनका मन सबै काला रहेका हुन्छन्
भन्नलाई मात्र भनेका हुन्, यीनले यो सबैसबै तिम्रा अघि नाटक गरेका हुन्
आफ्नो दोकान चलाउन रचेका कुटिल शब्दजाल मात्रै हुन्
तिम्रो सपनालाई सधै सपना बनाई राख्ने झेलको खेल मात्र हुन्
तपशिलमा जे जे भनिए पनि , साइँला लफडा सबै जुँगाकै हुन्
तिमीलाई जे जे सुनाइए पनि नि, साइँला अहिले र पहिलेको लफडा जुँगाकै हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button