मूल खबर

कोरोना त्रास : नेपालगञ्जमा भोलिदेखि २५ गतेसम्म कर्फ्यू

न्युज अफ नेपाल,काठमाडौं ।

लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालगञ्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । आज दिउँसो जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोलि बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताए । बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोली सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको हो ।

यस्तै बाँकेको खजुरा गाउँपालिकाले सबै नाकाहरू बन्द गरेको छ । सीमा जोडिएको नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button