सृजनाको चौतारी

आज फेरि सेतो कोट दुखेको छ [कविता]

-डा तोशिमा कार्की

आज फेरि,
डाक्टरमाथिको हिंसाले,
मेरो सेतो कोट दुखेको छ।
अनेकौं जोखिमबीच,
सेवारत मेरो हात काँपेको छ।

आज फेरि,
तिम्रा गलाबाट निस्किएका ती तुच्छ वाणीले,
मेरो सेवा र लगनमाथि बर्सेका तिम्रा टिप्पणीले,
मेरो गलाको माला- ‘मेरो आला’को मनोबल गिरेको छ।
लाग्छ जसै ‘दोषी चस्मा’ यहाँ सबैले भिरेको छ।

घरमै बस, बाहिर ननिस्क,
तिमीलाई जोखिम छ अस्पतालमा, नधाऊ पटकपटक!
किन बुज्दैनौँ तिमी, यो जोखिमबाट जोगाउन खेज्दैछु,
घातक यो भाइरसको पहुँचबाट उम्काउन खोज्दैछु।

तर यही अस्पतालमा, सुरक्षित सामग्रीको अभावमा,
म त्यही महामारिको बिजसँग लड्दैछु,
आफूले खाएको विषले तिमीलाई नडसोस्,
म भरमग्दुर सतर्कता अपनाउँदैछु।

हो, घरमै बस, तिमीलाई सुरक्षित रहनू भनिरहँदा,
म, रातको निद्रा अनि दिनको भोक एकै खुराक खाइरहेछु,
म मरे पनि मेरो देश बाँचिरहोस्,
यही गाथाले कर्मपथ रङ्गाइरहेछु।
हो, म बिरामी हेरिरहेछु।
हो, म रोगसँग जुधिरहेछु।
किनकि, म ‘चिकित्सक हुँ’।

तिमीले लापरबाहीका छिटा मेरो कोटमा खोजिरहँदा,
यही सेतो कोटमा
म मेरो जीवनको इमान्दारिता खन्याइरहेछु।
हेलचेक्र्याँइको संज्ञा स्वरूप अपशब्दहरु तिमीले,
ममाथि चिच्याइरहँदा, ती चिच्याहटबीच मेरो आलाले,
तिम्रो आक्रोशित मुटु तेज ढुकढुकी सुनिरहेछु,
र भन्दैछु,
यति बिघ्न रिस स्वास्थको लागि हानिकारक हुन्छ।

तर किन सुन्न सक्दैन यो समाज हामी डाक्टरहरुको गुहार?
समय छैन आफ्नो लागि, न घर भन्न पाउँछौँ हामी न परिवार!
अनेकौँ जोखिमबीच सेवामा खटिएका डाक्टरको सुरक्षा खै कसले गर्छ?
अझ उल्टो डाक्टरकै पारिश्रमिक काटिन्छ यहाँ
प्रोत्साहन खै अब कसले गर्छ?

ऐया! मेरो सेतो कोट दुखेको छ
ऐया! मेरो आलाको मनोबल गिरेको छ
लाग्छ, जसै यहाँ सबैले दोषी चस्मा भिरेको छ।

खै त?
हिंसाले त्रसित एक डाक्टरको मुटुको भय सुन्न सक्ने
आला खै कहाँ छ?
त्यही भयले काँप्ने डाक्टरका हातहरुमा
मनोबल थप्न सक्ने त्यो उपचार कहाँ छ?
लापरबाही, हत्यारा, स्वार्थी, गुण्डा, फरेब देख्ने,
यो समाजिक भाइरसको आक्रमणबाट
हामी डाक्टरलाई बचाउन सक्ने त्यो डाक्टर कहाँ छ?

दण्डहीनतालाई पोषण कहिलेसम्म?
डाक्टरमाथि हिंसा कहिलेसम्म??

(सन्दर्भ : कोभिड-१९ माहामारिसँग जुधिरहँदा धाप र प्रोत्साहनको सट्टा तलब कटौती र हिंसा भोगिरहेका चिकित्सकहरूको आवाजलाई समेट्दै धुलिखेल अस्पतालकी आवासीय चिकित्सक डा तोशिमा कार्की)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button