एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड झन्डै दुई महिनापछि प्रशिक्षणमा फर्किएका छन् । कोभिड–१९ को महामारीको कारण रियलले गएको मार्चको पहिलो साताबाट प्रशिक्षण गर्न पाएको थिएन ।
झन्डै दुई महिनापछिको प्रशिक्षणमा क्लबका प्रशिक्षक जिनेदिन जिदानले सुरक्षात्मक मास्क लगाएका थिए । खेलाडीहरु दुई समुहमा रहेर प्रशिक्षण गरेका थिए । खेलाडीहरु पछिल्लो साता कोरोना भाइरस परिक्षणका लागि रियलको प्रशिक्षण स्थल भाल्डेबावासमा पुगेका थिए । उनीहरु झन्डै दुई महिना घरमै सेल्फ प्रशिक्षणमा व्यस्त रहेका थिए ।
सबै खेलाडी तथा अफिसियलको नेगेटिभ रिपोर्ट आएपछि क्लबले प्रशिक्षण शुरुवात गरेको हो । खेलाडीहरुले प्रशिक्षणको शुरुवातमा बलसँग र बलविनै व्यक्तिगत प्रशिक्षण मात्रै गरेका थिए । प्रशिक्षणमा चोटबाट मुक्त भएका बेल्जियन फरवार्ड इडेन हजार्डले पनि सामान्य प्रशिक्षणमा समय व्यतित गरेका थिए । हजार्डले गत फेब्रुअरीमा एंकलमा चोट बोकेका थिए । उनले यो सिजन गुमाउने पक्का जस्तै भएको थियो । तर, कोरोनाका कारण सिजन स्थगित भएपछि उनले बाँकी खेल खेल्ने सम्भावना बढी छ ।
पहिलो दिनको प्रशिक्षणमा रियलको पहिलो टोलीका प्राय सबै खेलाडीको उपस्थिति रहेको थियो । रियलका कप्तान सर्जियो रामोसले प्रशिक्षण शुरु गर्नुअघि आर्थिक अवस्था मजवुत बनाउनको लासग भएपनि स्पेनमा फुटबल आवश्यक रहेको बताएका थिए । उनले ला लिगा सामान्य अवस्थाबाटै शुरु हुने र अनुशाषित रहेका कारण कोरोना भाइरसलाई जित्न सकिने बताए ।
स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेवासले जुन दोस्रो साताबाट ला लिगा शुरु हुन सक्ने र झन्डै ३५ दिन हरेक दिन फुटबल खेल हुन सक्ने बताएका छन् । ५७ वर्षीय अध्यक्ष टेवासले एक टोलीमा ५ जना खेलाडीमा कोरोना देखिएपनि ला लिगा नरोकिने बताएका छन् । ला लिगामा ११ चरणको १२० खेल खेल्न बाँकी छ । सबै खेलहरु क्लोज डोरमा खेलाउने योजना छ ।
रियल शीर्षस्थानको बार्सिलोनासँग दुई अंकले पछि छ । रियलको २७ खेलबाट ५६ अंक छ । समान खेलबाटै बार्सिलोनाको ५८ अंक छ ।
२ मार्चमा बार्सिलोनालाई २–० ले पराजित गरेर शीर्षस्थानमा उक्लिएको रियल २७औं चरणमा रियल बेटिससँग पराजित भएपछि पुनः दोस्रो स्थानमा झरेको थियो ।hamrokhelkud/from



