स्वास्थ्य

‘भ्रममा नपरौं, मारवाडी समितिले वितरण गरेको होमियोप्याथिक औषधि कोरोनाको औषधि होइन’

काठमाडौं— सरकारले मारवाडी सेवा समितिले वितरण गरिरहेको औषधि कोरोनाको औषधि नभएको स्पष्ट पारेको छ।

मारवाडी सेवा समितिले केही समययता स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको कोरोनाको होमियोप्याथिक औषधि भन्दै देशैभर निःशुल्क वितरण गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई विभाग औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले समितिले वितरण गरिरहेको होमियोप्रोफाइलासिस औषधि कोरोनाको औषधि नभएको बताएका हुन्।

दुबै विभागले उक्त औषधि कोरोनाको औषधि हो भन्ने भ्रममा नपर्न र नपार्न समेत आग्रह गरेका छन्। समितिले आर्सेनिकम अल्बुम ३०सि नामको होमियोप्याथिक औषधि देशभर वितरण गर्दै आइरहेको छ।

‘हालसम्म कोरोना भाइरसविरुद्धको कुनै पनि औषधि बनेको छैन,’ आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्याययले भने, ‘समिति तथा अन्य कोहीले कोरोनाको औषधि भन्दै वितरण गरिरहेको छ भने त्यो गलत हो।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभागले कुनै पनि औषधिलाई कोरोनाको औषधिको रुपमा दर्ता नगरेको जानकारी दिए। उनले अहिलेसम्म कोरोनाको औषधि नबनेको भन्दै भम्रमा नपर्न आग्रह गरे।

‘समितिले वितरण गरिरहेको होमियोप्याथिक औषधि विभागमा दर्ता भए पनि कोरोनाको औषधि भने होइन,’ उनले भने, ‘विभागमा सो औषधि दर्ता चाँही छ तर त्यसलाई गलत रुपमा बाँडिरहेको पाइएको छ। उनीहरुलाई बोलाएर सो कार्य तत्काल रोक्नका लागि हामीले भनिसकेका छौँ।’

आयुर्वेद विभागका महानिर्देशक डा उपाध्यायले उक्त औषधिलाई रोग प्रतिरोधक औषधिको रुपमा मान्यता दिएको जानकारी दिँदै त्यसको गलत तरीकाबाट वितरण हुन थालेपछि औषधि फिर्ता ल्याउन भनिसकेको जानकारी दिए।

उनले भने,‘हामीले होम्योप्याथिक चिकित्सक संघबाट समेत कोरोनाको औषधि नभएको भनी विज्ञप्ति प्रकाशित गर्न भनेका छौँ।’

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना उपचारमा कुनै औषधि तथा खोप अझै पत्ता नलागेको स्पष्ट पारेको थियो।२०७७ जेठ २८ ,swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button