स्वास्थ्य

कोभिड महामारीमा पन्जाको प्रयोग : जाने सुरक्षा, नजाने जोखिम

२०७७ जेठ ३१ शनिबार

कोभिड-१९ महामारीसँगै स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पन्जा यत्रतत्र प्रयोग भइरहेको देखिन्छ। पन्जा लगाउँदैमा संक्रमणबाट बचिन्छ भन्ने जनमानसको बुझाइ हो वा भ्रम? अहिलेसम्मको विज्ञानले कोभिड-१९ संक्रमण कसरी सर्छ भनेर पत्ता लगाएको तथ्य हामीले नै समुदायमा सही रुपमा पुर्‍याउन नसकेका पो हौँ कि? वा बुझेर पनि बुझ्न नखोजेको? अथवा म सचेत र जोगिएको छु भनेर देखासिकी गरिएको पो हो कि?

कोभिड-१९ संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्छ, साबुनपानीले मिचिमिची हात धुनुपर्छ भन्ने मुलमन्त्र सायद अब बच्चादेखि वृद्धसम्म सबैलाई कन्ठस्थ भइसक्यो। नोबेल कोरोना भाइरस ड्रप्लेट इन्फेक्सन यानिकी थुकका कणको माध्यमबाट सर्छ। बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा संक्रमित थुकका कण एक व्यक्तिबाट अर्कोमा नजाओस् भनेर सामाजिक दूरी कायम गर्न भनिएको हो। त्यस्तै संक्रमित सतह, वस्तु हातले छोएको हुनसक्ने भएकोले साबुनपानीले मिचिमिची हात धुनुपर्छ भनिएको हो।

पन्जा लगाउने सन्दर्भमा कुरा गर्दा पन्जा लगाएपछि हात प्रत्यक्ष रुपमा संक्रमणसँग सम्पर्कमा हुँदैन, त्यसैले मलाई संक्रमणको जोखिम कम हुन्छ भन्ने बुझाइ हुन सक्छ। यहाँ मुख्य बुझ्नुपर्ने कुरा के छ भने पन्जा लगाएको समयमा हात प्रत्यक्ष रुपमा अरु सतह वा वस्तुसँग सम्पर्कमा त आउँदैन तर पन्जा लगाएर जहाँ पनि जाने, जुन वस्तु वा सतह पनि छुने, घन्टौंसम्म एउटै पन्जा लगाउने, एउटै पन्जा फुकाल्दै-लगाउँदै धेरै पटक प्रयोग गर्ने, पन्जा लगाएको हातले अनुहार, कपडा छुने, व्यक्तिगत सामान र अन्य वस्तु छुने जस्ता कार्य गर्दा यदि कुनै बखत पन्जा भाइरसले प्रदूषित हुन गएमा भाइरस झन सबैतिर फैलिन सक्छ।

अर्को बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने कोभिड-१९ संक्रमण छोएर वा छालाको माध्यमबाट प्रत्यक्ष सर्दैन। हात भाइरसको सम्पर्कमा आए पनि सो हात आँखा, नाक, मुखभित्र लगिएन, हात साबुनपानीले धोइयो भने आफूलाई संक्रमण हुँदैन। पन्जाको जथाभावी प्रयोग, त्यसमाथि पन्जा सुरक्षित रुपले नभई जहाँ पायो त्यहीँ फुकालेर फाल्ने प्रवृत्ति कोभिड-१९ मात्र नभई अरु रोग पनि फैलाउने अर्को माध्यम बन्न सक्छ भन्ने कुरामा सबै सचेत हुनु आवश्यक छ।

(खत्री सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौंडा, मकवानपुरकी नर्सिङ अधिकृत हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button