सृजनाको चौतारी

थुक्क ‘म’

कविता

जी एन शर्मा

मैले कहिल्यै आमाकी आमाको बारेमा सोधिन
बुबाका बाबुको बारेमा ख्यालनै गरिन
म को हुँ र मेरो कोहो ? कहिल्यै बुझ्ने प्रयत्न भएन
पराईका ईतिहाँस पढेर बडो बन्ने नाटक गरेँ छु
आफुलाई भुलेर अरु कसैलाई खोजेँ छु
गम्दै जाँदा आज भन्न मन लाग्यो थुक्क ‘ म’ भनेर

आँगनको फूलको सुवास छाडेर
आफै भित्रको म लाई भुलेर
बनाएका पुतली फूललाई गजब छ भन्दै
बेतालका बाजाहरुमा मुण्टो हल्लाउँदै गुन्गुनाउँने ‘म’
अर्थहिन ईतिहाँस र दर्शनमा भुलेर
मेरी हजुर आमा र हजुरबाको अनुहार खोज्न छाडेर
पराईको पुस्तक पढेर, जान्ने हुन खोज्ने ‘म’
आज आफैलाई खुलेर भन्न मन लागेछ थुक्क ‘मेरो’ अक्कल

मन भित्रै गुन्जीरहेको अजम्बरी संगीत सुन्न छाडेर
पराईको बेतालको बुर्रकुसीमा हो मा हो मिलाउने ‘ म’
मैले आमालाई कहिल्यै सोधीन मेरो हजुरआमाले कुन भाका गाउँथिन भनेर
बुबालाई कहिल्यै सोधीन हजुरबाले कुन श्लोक गाउँथे भनेर
जान्दै नजानेको , सुन्दै नसुनेको पराईको पुस्तकमा घोत्लीने ‘म’
मैले कहिल्यै आमालाई सोधीन हजुर आमा कसरी हाँस्थीन भनेर
मैले कहिल्यै बुबालाई सोधीन हजुरबा कसरी नाच्थे भनेर
अर्थहिन अनुहारका ईतिहाँस पढेर
आफै भित्रको अनुहारलाई भुल्ने ‘म’
आज भित्रैदेखि आफैलाई भन्न लागेको छ ‘ थुक्क म’

आफ्नो भरसेली र भूगोलको कथा लेख्न छाडेर
आफै भित्रको मान्छे खोज्न छाडेर
पराईले लेखिदिएको मन्द विषको प्याल समातेर आत्मघाती बन्ने दौडमा लागेको ‘म’
मैले कहिल्यै सोधीन आमालाई हजुर आमाकी आमाको नाम केहो भनेर
मैले कहिल्यै बुबालाई सोधीन हजुरबाका बुबाको कैरन केहो भनेर
पराईले पठाईदिएको ध्वंसको ध्वनीमा भुल्ने ‘म’
आज आफैले आफैलाई लाखौँ पटक भन्न मन लागेको छ
थुक्क ‘म’ भनेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button