असार १२, २०७७
ललितपुर । विश्वमै महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणविश्वभर ९६ लाख ९८ हजार जनामा रहेको पुष्टी भएको छ ।
५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् भने कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका अग्रस्थानमा रहेको देखिन्छ । अमेरिकामा २५ लाख २ हजारभन्दा बढीमा संक्रमण पुष्टी हुँदा १ लाख २६ हजार ७ सय जनाको मृत्यु भईसकेको छ । अमेरिकापछि दोस्रो स्थानमा संक्रमण फैलिएको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार नाघ्दा ५५ हजार बढीले ज्यान गुमाएका छन् ।यस ैगरि दक्षिण एसियाली मुलुकहरुमा भारतमा संक्रमण भयावह बनिरहेको छ । भारतमा अहिले सम्म ४ लाख ९१ हजार संक्रमित भेटिंदा १५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।
पाकिस्तानमा ३ हजार ९ सय तथा बंगलादेशमा १६ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसैबीच, युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
संक्रमण फैलिन नदिनका लागि लागू गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै त्यसपछिको समय संक्रमण बढेको देखिएको हो । यूरोपमा पछिल्लो समय दैनिक २० हजारका दरले संक्रमित थपिएको र सात सय बढीको मृत्यु हुने गरेको देखिएको छ ।



