

जी एन शर्मा
कविता
नपत्याए पनि पत्याए जस्तो तिमी
सबै ढोका बन्द पछि , आशा नभएपनि संझने तिमी
केही त बाँकी छ नि, भने जस्तो त थियौ
तर, तिमी अब त, तिमी भन्न पनि लायक भएनौ
मलाई न्याय चाहियो , लाउनेनै म र म जस्तालाई हो
हिम्मत भए लगाउ हत्कडी !
तिम्रो भित्र र बाहिर सबै उदाङ्गो भएको छ
कति पानीमा रहेछ, सबै प्रष्ट भएको छ
अब त, त्यो भ्रमबाट पनि सबै मुक्त भए
अब भन्नलाई किन डराउँछु र म
तिमीलाई मैले किन प्रश्न नगर्ने ?
तिमी आफै कति सफा र शुद्ध रहेछौ
मैले तिम्रो शुद्धताको प्रश्न किन नगर्ने ?
तर, अब त तिमी मात्र तिमी भन्न पनि लायकनै छैनौ
मलाई न्याय चाहियो, लाउनेनै म र म जस्ताहरुलाई हो तिम्रो काउछो
हिम्मत भए लगाउ हत्कडी
किनकी अब तिमीसँग यो नैतिकता छैन
मैले तिम्रो ईमान र जमानको प्रश्न किन नगर्ने ?
तिमीलाई जाँच्न अब मैले किन नपाउने ?
म , मेरा हातमा हत्कडी लाउन र तिम्रो काउछो सहन गर्न तयार छु
के तिमी , तिम्रो ईमान, जमान र सत्यता जाँच गर्न तयार छौ ?
मलाई त पहिलानै थाहा थियो र तिम्रो भ्रमबाट म मुक्त थिएँ
तर, मुक्तकण्ठले तिम्रो प्रशंसा गर्नेहरु अब मुक्त भएकाछन्
किनकी तिमी जे थियौ त्यही भएर प्रकट भयौ
अब म र म जस्ताहरुले तिमीलाई किन प्रश्न नगर्ने ?


