स्वास्थ्य

महामारीमा कसका कुरा सुन्ने?

कोभिड-१९ को विश्वव्यापी महामारीसँगै सूचनाको ओभरफ्लोले गर्दा सर्वसाधारणदेखि नीति-निर्मातालाई समेत कुन कुरा सही र कुन कुरा गलत भन्ने अन्योलको अवस्था छ। यसले गर्दा रोग नियन्त्रण तथा रोकथामका लागि लिइने नीतिगत निर्णय तथा सबैले पालना गर्नुपर्ने जनस्वास्थ्यका उपायहरूबारे अन्योल उत्पन्न हुन जान्छ। तसर्थ, यस्तो अन्योललाई निवारण गर्न सत्य र तथ्य कुरा के हो र कसले भनेको कुरालाई केका आधारमा विश्वास गर्ने भन्ने सन्दर्भमा चर्चा हुन आवश्यक छ।

भनिन्छ, कोभिड-१९ महामारीले जसरी संक्रमित हुनेहरूको संख्यामा वृद्धि भयो, त्यसरी नै कोराना विज्ञहरूको संख्या पनि सामाजिक सञ्जालमार्फत वृद्धि हुँदै गयो। विज्ञहरूको यस महासागरमा नवोदित स्वघोषित विज्ञ, रूपान्तरित विज्ञ र असली विज्ञहरू समेतको कक्टेल बन्न पुग्यो। कोभिड-१९ को महामारीपश्चात् खुला रूपमा प्राप्त सूचनाहरू पढेर वा आफ्नो मनमा उब्जने वैचारिक तरंगका आधारमा व्याख्या-विवेचना गर्ने आफैंले विज्ञको परिचय दिई सामाजिक सञ्जालमा हावी हुने जुनसुकै बेलामा उपलब्ध हुनसक्ने फुर्सदिला व्यक्तिहरू नवोदित स्वघोषित विज्ञको वर्गमा पर्छन्।

जनस्वास्थ्य वा संक्रामक रोगसँग सम्बन्धित विषयमा अध्ययन/अनुसन्धान र शैक्षिक योग्यता हासिल नगरेका तर कुनै अरू नै विषयमा विज्ञता हासिल गरेको भरमा कोभिड-१९ को हरेक विषयमा व्याख्या-विवेचना गर्ने विज्ञहरू रूपान्तरित विज्ञको वर्गमा राख्न सकिन्छ। साँचो अर्थमा विज्ञ भन्नाले सम्बन्धित विषयमा शैक्षिक योग्यता हासिल गरी लामो समयदेखि सोही विषयमा अनुभव बटुलेको तथा अध्ययन अनुसन्धान गरेका व्यक्ति हुन्।

अर्को बुझ्नुपर्ने कुरा के हो भने, चिकित्सा विज्ञान अन्तर्गत सयौं हाँगाबिँगा हुन्छन्। चिकित्सा विज्ञानको एउटा विषयको विज्ञलाई अर्को विषयको बारेमा गहिरो ज्ञान हुँदैन। हाम्रो सामाजिक सन्दर्भमा चिकित्सक भनेपछि सबै रोगको ज्ञाता होला भन्ने सामाजिक मान्यता छ। अझ सामाजिक रूपमा कहलिएका विशेषज्ञलाई सबै कुराको ज्ञान हुन्छ भन्ने विश्वास सर्वसाधारणदेखि लिएर नीति-निर्माता तहसम्म रहेको पाइन्छ।

विपद र महामारीमा सही सूचनाको प्रवाह गर्नु एक महत्वपूर्ण कदम हो। सही सूचनाका लागि माथि उल्लेखित तीन किसिमका विज्ञमध्ये असली विज्ञको कुरा सुन्नुपर्छ। तर असली विज्ञ को हो भनी छुट्याउन सर्वसाधारणलाई गाह्रो हुनसक्छ। यसका लागि मिडियाको अहं भूमिका हुन्छ। कुनै पनि विज्ञको विचार लेख्नुपूर्व विषयविज्ञले हासिल गरेको शैक्षिक योग्यता, कुन विश्वविश्वविद्यालयमा अध्ययन गरेको हो, हाल कुन संस्थामा कार्यरत हो, कति वर्षदेखि उक्त विषयमा काम गरिरहेको हो, अध्ययन-अनुसन्धान केकति गरेको हो लगायतका सूचना लिनु राम्रो हुन्छ। यसले सूचनाको विश्वसनीयतामा वृद्धि हुनुका साथै उक्त मिडियाको रेटिङ समेत बढ्दै जान्छ। नीति-निर्माता तहमा राय-सल्लाह लिनुपर्दा असली विज्ञहरूलाई संलग्न गराउँदा सही राय/सुझाव आई निर्णय प्रक्रियामा सहजता हुन्छ। विज्ञले बोल्दा वा लेख्दा उक्त सूचनाको आधार के हो त्यो खुलाउनु पर्छ। जस्तै: विश्वसनीय अध्ययन-अनुसन्धानमा उल्लेख भएको तथ्य वा आफ्नो निजी तर्क वा आधिकारिक संस्थाहरूबाट प्राप्त जानकारी।

कोभिड-१९ को सन्दर्भमा भाइरसको बारेमा विज्ञको धारणा लिनुपर्दा भाइरोलोजिस्ट वा माइक्रोबायोलोजिस्ट, बिरामीको उपचार सम्बन्धमा पल्मोनोलोजिस्ट वा संक्रामक रोग विशेषज्ञ वा इन्टरनल मेडिसिन विशेषज्ञ वा बिरामीको उपचारमा खटिएको चिकित्सक/स्वास्थ्यकर्मी, महामारीको विश्लेक्षण सम्बन्धमा इपिडेमियोलोजिस्ट वा जनस्वास्थ्य विज्ञको विचार लिनु उपयुक्त हुन्छ। यी केही उदाहरण मात्र हुन्।

अन्त्यमा, सबै विज्ञले आफ्नो शैक्षिक योग्यता र दक्षता उल्लेख गरी सूचनाको स्रोत समेत खुलाएर आफ्नो विचार र तर्क राखेमा विचारको विश्वसनीयतामा वृद्धि हुनुका साथै महामारी नियन्त्रणमा थप सहयोग पुग्नेछ।

(लेखकको निजी विचार)swsthyakhabarpatrika/from२०७७ श्रावण २१ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button