सृजनाको चौतारी

लबस्तराहरुको बस्तीमा

कविता
जी एन शर्मा
लबस्तराहरुको बस्तीमा
नकचराहरुको मस्ती चलिरहेको छ
थेत्तराहरु धमाधम आफ्नो धन्दामा जुटेकाछन्
चिहानको पनि कमिसन यहाँ चलेको छ
साधुहरुको कन्तबिजोग छ जहँ चण्डालहरुले दोसल्ला ओढिरहेकाछन्
मृत्युको शोकमा पनि नाफा नोक्सानको हिसाब चलिरहेको छ
डकार्नु र घिच्नुको पनि त सीमारेखा हुन्छ होला नि
थाहा छैन , लालच र यो आशक्ति कुन दिनका लागि साँचेको हो

निसाफ आफै रोइरहेको छ , निसाफले निसाफ माग्दैछ
कात्राको पनि भागबण्डा हेरेर काल स्वयम् चकित परेको छ
थुपार्नुको पनि एउटा हद त हुन्छ होला नि तर चितामा चढ्दा मन बुझेको छैन
सुगन्धलाई निषेध गरिएको छ अनि सिनोलाई सम्मान गरिन्छ
उज्यालोलाई अस्विकार गर्दै अन्धकारलाई ज्योति भनिन्छ
कपट र जालको पनि त एउटा अन्तिम आकार त होला नि
तर, आफै बाहेकका सबै सुन्दरलाई कुरुप बनाईन्छ
आफ्ना सबै काला कर्तुत र कुरुपतालाई महान मात्र होइन अति सर्वोत्तमको जलपले भरिन्छ
बस्ती र बजार आज लबस्तराहरुको ईशारामा छ
संवेदना समेत उनकै कस्टडि र कब्जामा छ
थाहा छैन त्यो हुरि कहिले आउने हो
कुन दिनका लागि त्यो आँधी पर्खेको हो
बस्, प्रतिक्षा केवल उसैको छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button