
कविता
जी एन शर्मा
भोकालाई भात नदिने
निर्धालाई न्याय नदिने
सडकमा छताछुल्ल भएको जनताको क्रन्दनलाई टुलुटुल मात्र नजर लगाउने
हसिया र हथौडाका नाममा
गरिब र किसानका नाममा
भोट बटुलेर जनताका आवाजलाई बन्दक बनाउने
तिमी कस्तो कम्युनिष्टको सरकार ?
कता हराए तिम्रा समानता र न्यायका चर्का भाषण आज
कसलाई सुनाउँदैछौ तिम्रा झुप्रा र छाप्राका मुक्तिका भजनहरु ?
निमुखाको न्यायका लागि लडेका भन्नेहरु
जनताको सरकार बनाएपछि उल्लासमा नाचौँला भन्ने
आज कता गए तिम्रा जनवादी गीतका भाकाहरु ?
तिमी कस्तो खालको कम्युनिष्ट हौ ?
अनि तिमी कस्तो कम्युनिष्टको सरकार हौ ?
शहर चकमन्न छ
बस्ती चित्कारमा छ
तिमी आफ्नै धुनमा मस्त बनेकाछौ
तिमी कस्तो कम्युनिष्ट सरकार हौ ?
तिम्रो जनवादमा मान्छे बन्दक जस्तै बनेको छ
तिम्रो समानताको समाजमा मान्छे डाको छोडेर चिच्याएको छ
कता छ तिम्रो न्यायपूर्ण समाजको दस्तावेज
कता गुन्जदै छ तिम्रो मुक्तिको गीत
तिमी कस्तो कम्युनिष्ट हौ ?
तिमी कस्तो कम्युनिष्टको सरकार हौ ?
0 23 1 minute read


