सृजनाको चौतारी

मन

कविता

प्रा.डा.जगदीशचन्द्र भण्डारी

मन
किन किन
आजभोलि
मलाई
जिस्किन
मन लागिरहेछ
तिनको उन्माद
तिनको र उस
तिनको चुरिफुरी
उडाउन
मन लागिरहेछ
तिनका
दरबार
तिनका
सिंहदरबार
उच्च टार टार
सबै सबै
जलाउन
मन लागिरहेछ
किन किन
यतादेखि
उतासम्म
उतादेखी
यतासम्म
भत्काउन
मन लागिरहेछ
धेरै भयो
भित्र भित्रै
उकुसमुकुस
भैरहेछ
छट्पटी
र उद्विग्न
भैरहेछ
तिनको संसारमा
आगो लगाउन
मन लागिरहेछ
एकचोटी
ननिभ्ने
आगो झोस्न
मन लागिरहेछ

साँच्चिकै
तिनको स्वर्गमा
एउटा निर्मम
विद्रोह बोल्न
मन लागिरहेछ
प्रमिथस
स्पाटार्कस
गङ्गालाल
इच्छुक चुनु
च्याङ्वा शारदा
यस्तै यस्तै
बन्न
मन लागिरहेछ
र तिनको महल
गर्ल्यामगुर्लुम पार्न
मन लागिरहेछ
समयको त्रासदी
इतिहासको कामदी
सबै नै
अन्त्य गर्न
मन लागिरहेछ
त्यो तिम्रो
जाली तमसुक जस्तो
संविधान नामको
लिखत
च्यातचुत पारी
कुनै खण्डहरमा
फाल्न
मन लागिरहेछ

 २०७७ भाद्र ३०,moolbato/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button