
कविता
तिम्रो लुरे धम्की र कायर कर्कस आवाजले मेरो यात्रा रोकिदैन
म निरन्तर मेरो गन्तब्यमा रहने छु, जब सम्म यात्राको विश्राम आउदैन
मेरा गीतहरुलाई तिमी निषेध गर्न खोज्छौ, म अझ चर्को आवाजमा गाउने छु
मेरा स्वरहरुलाई तिमी निस्तेज गर्न खोज्छौ ,म अझ खुल्ला मैदानमा बोल्छु
तिमी थाकेर लखतरान बन्दै लम्पसार पनि परेका छौ
म निरन्तर मेरो गतिमा चलायमान छु
यात्रा मेरो अविरल छ जब सम्म लक्ष्यलाई छाम्न सक्तिन
म जे हो त्यो सत्य हो भन्दै चिच्याईनै रहने छु
तिमी मेरो बोली बन्द गर्न खोज्छौ किनकी तिमी कायर हौ
विद्रोह मेरो अधिकार हो , म विद्रोही नै हो
किनकी हरेक तिम्रा झुठहरुको सत्य देखाउन मैले विद्रोह बोल्न बाध्य छु
तिमी मेरो सत् मार्गलाई जे नामाकरण गर्न सक्छौ
तर, म मेरो यात्रामा निरन्तर रहने छु, किनकी तिमी कायर हौ
अक्सर कायरहरु समानताका स्वरहरुलाई आतंक भन्ने गर्छन्
मान्छेका गीतहरुलाई बदनाम बनाउन चाहान्छन्
मान्छेका मनहरुलाई भाग लगाएर , आँशुको रमितामा रमाउन चाहान्छन्
तिमी
मान्छेलाई जे पनि बनाउन खोज्छौ
म , मान्छे मान्छे हो भनेर बोल्छु
तिमी मान्छेलाई जे गर्दा नि हुन्छ भन्छौ
म , मान्छे मान्छे बन्न पाउन पर्छ भन्छु
म मान्छेको मुक्ति र उसको परिचयको पक्षमा छु
तिमी मान्छेको मन भाग लगाएर मान्छेबाट मान्छेलाई टाढा बनाउने जालमा छौ
यात्रा मेरो निरन्तर रहने छ, जब सम्म ति मान्छेहरु मनदेखि मुस्कुराउँदैनन्


