विचार

प्रसङ्ग किराँत येले संवत्को

पुष २५, २०७७

डा.खगेन्द्र राई (साम्पाङ्)

पालमा बसोबास गर्ने विविध जात–जातिहरूमध्ये किराँत राई जातिले हरेक वर्षको माघ १ गतेलाई नयाँ वर्ष आरम्भको रूपमा मान्दै आएका छन् । किराँत राजवंशका पहिलो हाँःङ् (राजा) भनिएको यलम्बरले सुरु गरेको संवत् भन्दै यसलाई किराँत राईहरूले येले दँः (येले संवत्) भन्ने गरेको बुझिन्छ । उनीहरूले आफ्ना विभिन्न समुदायगत प्रकाशन तथा सांस्कृतिक विम्बहरूमा प्रयोग गर्दै आएको यो संवत् वि.सं. २०७७ माघ १ गतेदेखि ५०८१ मा प्रवेश गर्नेछ ।
येले संवत् नेपालको प्राचीन राजनीतिक इतिहाससँग जोडिएर आएको भए पनि देशको परिवर्तित राजनीतिक व्यवस्थाका कारण छाँयामा पर्दै आएको थियो । तर, पछिल्लो राजनीतिक परिवर्तनबाट देशमा नयाँ व्यवस्था स्थापना भएपछि वि.सं. २०६३ सालदेखि राज्यले यस प्रकारका समुदायगत मान्यता र पहिचानका विषयहरूलाई खुकुलो पारेको कारणले यो संवत् संरक्षण संवद्र्धन गर्ने अवसर मिलेको देखिन्छ । तथापि यस संवत्लाई राज्यले कानुनी मान्यताको फेटा गुथ्नु भने बाँकी नै छ ।
त्यसो त यो संवत्का बारेमा कतिपय व्यक्तिहरूले यसको गणना ठीक नभएको र यसलाई परिमार्जन गर्नुपर्छ भन्ने तर्क गर्दै आएका छन् । संवत् परिमार्जन गर्ने निहुँमा यस संवत्को गणना घटाउनुपर्ने तर्कहरू अघि सारेर यस सम्बन्धमा अध्ययन गर्न एक समिति नै बनेको थियो भन्ने सुनिन्छ। जुन समितिले, काठमाडौँ मालिगाउँमा भेटिएको जय वर्माको मूर्ति र त्यसमा उल्लेखित शक संवत् १०७ (सन् १८५)लाई आधार मानेको छ । उनीहरूले जय वर्मा किराँत कालपछिको पहिलो लिच्छवि शासक हुन् भन्ने आधार मानेर येले संवत् घटाउनु पर्ने तर्क लिएका छन् । जसअनुसार सन् २०१३ मा येले संवत् ५०७३ भएको र यसबाट १२८१ वर्ष घटाएर ३७९२ कायम गर्नुपर्छ भन्ने उनीहरूको तर्क छ ।
यस येले संवत् गणनाका सम्बन्धमा विभिन्न लेखक तथा ग्रन्थकारहरूले उल्लेख गरेको वर्णनहरूको आधार र प्रमाणहरू हेर्दा जय वर्मा लिच्छवि कालको पहिलो शासक नभएर आठौँ पुस्ताका राजा थिए भन्ने प्रष्ट उल्लेख पाइन्छ । भाषा वंशावलीको वर्णनअनुसार लिच्छवि शासन सुरु भएको ४१९ वर्षपछि मात्र जय वर्माको शासन सुरु भएको देखिन्छ । यसैगरी गोपालराज वंशावलीको वर्णनअनुसार लिच्छवि शासन सुरु भएको ३७९ वर्षपछि, मात्र जय वर्माको शासन सुरु भएको देखिन्छ । यस्तै, कर्कपेट्रिकका अनुसार ४०९ वर्षपछि र प्रपन्नाचार्यको अनुसार ४०८ पछि मात्र जय वर्माको शासन सुरु भएको देखिन्छ । यी वर्णनहरूबाट ती जय वर्मा लिच्छवि कालका पहिलो राजा होइनन् भन्ने प्रष्ट देखिन्छ । त्यसैले जय वर्माको शासन सुरुवातलाई आधार मानेर येले संवत् घटाउनु पर्छ भन्नेहरूको तर्क, मत र आधार मिलेको देखिँदैन । बरु बढाउनुपर्ने धेरै आधार र प्रमाणहरू देखिन्छ ।
गोपालराज वंशावलीको वर्णनलाई आधार मानेर हेर्दा प्राचीन नेपाल (काठमाडौँ उपत्यका) मा किराँतहरूले द्वापरयुग समाप्त हुन लगभग ४४७ वर्ष बाँकी रहँदादेखि कलि संवत् लगभग १५१६ सम्म जम्मा १९६३ वर्ष आठ महिना राज्य गरेको बुझिन्छ । हालको कलि संवत् ५१२१ (वि. सं. २०७७) भएको हुँदा यहाँ दोस्रो पटक राज्य गर्ने किराँतको पहिलो राजा भनिएको यलम्बरको शासन आजभन्दा ५५६८ वर्ष पहिले सुरु भएको देखिन्छ । यस हिसाबले २०७७ साल माघ १ गतेदेखि येले संवत् ५५६९ औँ वर्षमा प्रवेश गर्नुपर्ने हो । तर यस वर्ष यो संवत् ५०८१ वर्ष प्रवेश गरेको भनिएको पाइन्छ । यसरी २०७७ सालको येले संवत् ५०८१ औँ लाई नै मान्ने हो भने नेपालमा किराँत शासन सुरु भएको लगभग ४८८ वर्षपछिबाट मात्र यो संवत् सुरु भएको मान्नुपर्ने हुन्छ । यस अर्थबाट किराँत राजा यलम्बरले यो येले संवत् आरम्भ गरेका हुन् भन्ने
तर्क मिलेको देखिँदैन ।
उता योगी नरहरिनाथले इतिहास प्रकाश सन्धिपत्र सङ्ग्रहमा उल्लेख गरेको वर्णनलाई हेर्दा नेपाल (काठमाडौँ उपत्यका) मा किराँत शासन सुरु भएको आज (वि.सं. २०७७)भन्दा करिब ४७९८ वर्ष अघि मात्र देखिन्छ । यस आधारबाट पनि येले संवत्को अवधिको तालमेल मिलेको देखिँदैन । यस्तै ग्रन्थकार स्वामी प्रपन्नाचार्यको वर्णनलाई हेर्दा किराँतकालदेखि मल्लकाल समाप्त हुँदासम्म जम्मा ६६१२ वर्ष बितेको देखिन्छ र यसमा मल्लकालपछि हालको समय २५२ वर्ष जोड्दा नेपालमा किराँत शासन आज (वि.सं. २०७७) भन्दा करिब ६८६४ वर्ष पहिले सुरु भएको देखिन आउँछ । यसमा किराँत राजा यलम्बरको ९० वर्षको शासन समाप्तीपछि मात्र येले संवत् गणना सुरु भएको मानेर उल्लिखित ६८६२ मा ९० वर्ष घटाउँदा पनि ६७७२ वर्ष बाँकी रहन्छ ।
यस आधारबाट हेर्दा पनि वि.सं. २०७७ को माघ १ गतेदेखि येले संवत् ६७७५ औँ वर्षमा प्रवेश गर्नुपर्ने हो । तर, यसो पनि भएको पनि पाइएन । यसैगरी अर्का विदेशी लेखक कर्कपेट्रिकसमेतको वर्णनको वर्णनबाट पनि येले संवत्को गणनामा कुनै तालमेल मिलेको देखिँदैन । लेखक प्रा.डा. गोपाल सिवाकोटीले, ‘ई.पू. ३०५९ देखि यले संवत् चलेको मानिएको छ’ भनी उल्लेख गरेको देखिन्छ । लेखकको यो वर्णनबाट किराँत राईहरूले मान्दै आएको येले संवत् वि.सं. २०७७ को माघ १ गतेदेखि मात्र ५०८० औँ वर्षमा प्रवेश गर्नुपर्ने देखिन्छ । तर, यसो पनि भएको नभएर यस वर्ष येले संवत् ५०८१ औँ वर्षमा प्रवेश गरेको भनिएको पाइन्छ । सम्बन्धित सरोकारवाला व्यक्ति, सङ्घसंस्थाहरूले गहन अध्ययन अनुसन्धान गरी निर्विवाद टुङ्गोमा पुग्नैपर्ने देखिन्छ । नत्र अलमल र अन्योलमा सधैँ रुमलिरहनुपर्ने हुन्छ ।
देशमा वि.सं. २०६३ पछिको परिवर्तित राजनीतिक व्यवस्थाले आम जात–जातिहरूलाई आ–आफ्नो जातीय पहिचानका आधारहरू इतिहास, भाषा, धर्म, संस्कार–संस्कृति, प्रथा, परम्परालगायतका मूल्य मान्यताहरू सहजरूपमा खोज अनुसन्धान गरी लिपिबद्ध रूपमा संरक्षण संवद्र्धन गर्ने अवसर दिएको छ । यस्तो अवसर पहिले त्यति सहज थिएन । यसर्थ यस प्रकारका जातीय इतिहास, धर्म, भाषा, संस्कार–संस्कृतिलगायतका बौद्धिक सम्पत्तिहरूको संरक्षण संवद्र्धन गर्न आवश्यक छ । यस प्रकारको बौद्धिक सम्पत्तिहरूको खोज अनुसन्धान गरेर संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित जात–जातिहरूलाई प्राप्त छँदैछ तर यस्ता बौद्धिक सम्पत्तिहरूको संरक्षण संवद्र्धन गर्ने जिम्मेवारी केवल सम्बन्धित जातिहरूको मात्र नभएर राज्यको पनि हुने भएकाले राज्यपक्षसमेत समयमा उचित ध्यान पु¥याएर काम गर्न‘पर्छ । नत्र भने एक दिन यस्ता विविध प्रकारका बौद्धिक सम्पत्तिहरू संरक्षणको अभावमा लोप भएर जाने छन् अनि विविधताको पहिचान बोकेका जात–जाति अनि राष्ट्रसमेत मौलिक र बौद्धिक पहिचानविहीन बुङ्गो बन्नु पर्नेछ ।
(लेखक सांस्कृतिक अध्याता हुनुहुन्छ ।)gorkhapatraonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button