खबर

नेपाल पक्षमा साढे ३ लाख कार्यकर्ता भएको दाबी

काठमाडौं, चैत ११, २०७७

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्। अध्यक्ष ओलीले वैधानिक रूपमा केन्द्रीय कमिटीको बैठक नराखी नेपाल समूहलाई तर्साउने र कारबाही गर्ने नियतले चार नेतालाई स्पष्टीकरण सोधेका छन्।

ओलीको यस्तो रबैयाबाट रुष्ट नेपाल समूहले आफ्नो साथमा साढे तीन लाख नेता–कार्यकर्ता रहेको भन्दै ती सबैलाई कारबाही गर्न चुनौती दिएको हो।

ओली समूहले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर कमिटीमा सदस्यहरू थप गरी नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो। नेपाल–झलनाथ खनाल पक्षले त्यो निर्णय अमान्य भन्दै सच्याउनुपर्ने, केन्द्रीय कमिटीको नवौं बैठकबाट पार्टीका काम अघि बढाउनुपर्नेलगायत माग राखेकै बेला ओलीले चारजना नेतालाई स्पष्टीकरण सोधेपछि विवाद उत्कर्षमा पुगेको छ।

ओली समूहले फागुन २८ गतेको निर्णय सच्याउन नमानेपछि नेपाल–खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ताको भेला गरेको थियो। भेलाले एमालेभित्रै बसेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो। त्यसबाट रुष्ट ओलीले नेपालसहित उनी पक्षका नेताहरूलाई तर्साउन स्पष्टीकरण सोधेका हुन्।

नेपाल समूहले राजनीतिक रूपमै स्पष्टीकरणको जबाफ दिने तर ओलीसामु घुँडा नटेक्ने जनाएको छ। वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएका बेला ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई तिलाञ्जली दिएका कारण जबजको असली हकदार उनी नभएको बताइसकेका छन्।

नेपालले स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन्। आफूनिकट अनेरास्ववियुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘के हामी केपी ओलीका अगाडि घुँडा टेक्ने बाटोमा जाने हो, आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन। त्यसकारण हामी केपी ओलीको कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं, आतंकित भएका छैनौं, केपी प्रवृत्तिविरुद्ध लड्छौं।’

नेपाल पक्षमा रहेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं महाधिवेशनको विधि, विधान र अवस्था हेर्ने हो भने पार्टीका सात लाख कार्यकर्तामध्ये साढे तीन लाखभन्दा बढी नेपाल पक्षमा रहेको र त्यसको पुष्टि चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले पनि गरेको बताए। नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button