सृजनाको चौतारी

बन्धक जिन्दगीहरुको विद्रोह !

भन्छन् तिमी स्वतन्त्र छौ
जता बगे पनि हुन्छ अनि जता उडे पनि सक्छौ
बेलगाम तिमी हिड्न सक्छौ अनि पौडन पनि सक्छौ
तर फेरि भन्छन् हामीले देखाएको आकाशमा मात्र उड्न सक्छौ
हामीले भनेको नदीमा मात्र पौडन सक्छौ

यहाँ, स्वतन्त्रताका नाममा जिन्दगीहरु बन्धक बनेकाछन्
बोल्न पाएका छौ, लेख्न पाएका छौ
अधिकार नै अधिकारको छताछुल्ल छ
अब के चाहियो ?
तर, हामीले भनेको मात्र हेर, हामीले भनेका मात्र बोल

मुखियाहरुको मालामालको राजमा
रैति बनेकाछन् जिन्दगीहरु
विचारलाई नै बन्धक पारेर स्वतन्त्रताको हुँकार गरिएको छ
भन्छन् , जतातै समानता र अवसरको बाढ चलेको छ
मान्छेले म मान्छे बन्न पाउँ भनिरहेकाछन्
ठेकेदारहरु सबै ठिकठाक छ भन्छन्
तर, जता पनि जिन्दगीहरु बन्धक बनेकाछन्

मौनताको हुरिको संगठन चलिरहेको छ
बन्धक जिन्दगीहरु विद्रोहको यात्रामा रहेकाछन्
मालिकहरुले जति सुकै नौनी ओकले पनि अब पत्याउने र पर्खने आश छैन
कुप्रा बाको पालादेखिको उकुसमुकसबाट उम्कन
अब जिन्दगीहरु आफै चल्मलाउँदैछन्
फेरि एउटा नयाँ इतिहाँसको लेखनीका लागि उनीहरुकै औँला चल्दैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button