कविता
जानाजान मनसँग मन तोड्नेहरुलाई
अन्जानमै मनसँग मन जोड्नेहरुलाई
शकुनीको पासोसँगै स्नेहको कालो जाल ओछ्याउनेहरुलाई
शुभकामना, ममताको सागरमा नि स्वार्थको यात्रामा पलपल साथ दिनेहरुलाई
साथको नाटकमा मस्त निद्रामै घात गर्नेहरुलाई
आफुले पिडा पिएर अरुलाई हाँसो दिनेहरुलाई
ओठले प्रार्थना गरेझै गरेर मनले धारेहात लाउनेहरुलाई
शुभकामना, आफ्ना भागमा ब्यथा राखेर अरुलाई उल्लास दिनेहरुलाई
कुटिल ओठको हाँसोले मुटुमा आगो झोस्नेहरुलाई
आफ्ना भागमा चोटहरु पारेर अरुलाई खुशी बाँड्नेहरुलाई
अमृतको लेपन लगाएर विष पिलाउनेहरुलाई
शुभकामना, आँशु जति आफुलाई राखेर उत्सव अरुलाई दिनेहरुलाई
शुभकामना सबैलाई, सबैलाई अनि सबैलाई
रोएका मन र मुटुहरुलाई
हाँसेका मन र मुटुहरुलाई
मनले मनलाई नै जलाउनेहरुलाई
मनले मनलाई नै सजाउनेहरुलाई
अनि सबै सबै मनहरुलाई
सबै सबै मुटुहरुलाई


