सृजनाको चौतारी

बलात्कारीको आरोपपछि कार्ल मार्क्सको वयान !

कविता

२०७८ बैशाख ४
– बलराम तिमल्सिना

समयको क्रुर कठघरामा
मृत्युपछि पनि पटक पटक
कोही उभिएको छ भने
सायद त्यो म नै हुँला है लेखिका जी ?
कैले मलाई जँड्याहा भनियो
मैले जाँड खाएको हुँ भन्न आएँ
मैले घुष खाइँन कमिशन खाइँन
मजदूरको एक थोपो पसिना खाइँन
सरकारी जागिर खाइँन
भात र रोटी त मैले
कैले खाएँ कैले खाइँन
हो कैलेकाहीं जाँड खाएको हुँ
जाँड खाएर मातेको पनि हुँ !
कैले मलाई जुवाडे भनियो
कौडा कस्तो हुन्छ कैलै देखिन मैले
हो, भोक तिर्खै बसेर
छोरा छोरीलाई भोकै मर्न दिएर
श्रमजीवीहरूका लागि
बिचारको हँतियार बनाउन बसें
र एउटा सिङ्गै जीवन जुवा खेलिदिएँ !
मलाई आवारा पनि भनियो
एकथरीको आँखामा
म आवारा पनि थिएँ
म भँडुवा पनि थिएँ
फ्रेडरिकसँग मिलेर
हामीले नै भनिदिएको हो
‘संसारका मजदूरहरू एक होऊँ !’
मेरा बर्ग बैरीहरूले पनि
भन्न नसकेको कुरा
यो पटक तिमीले भनिदियौ
मार्क्स बलात्कारी थिए
यो कठिन फत्तुरको जवाफ दिन
मैले फेरि कठघरामा उभिनु परेको छ !
हो ममा पनि पुरुषजन्य कमजोरीहरू थिए
ममा पनि उत्तेजना र आवेगहरू थिए
समकालीन रोगसँग लड्दा लड्दै
मभित्र पनि केही रोग सरेका थिए
किन कि म यही समयको मान्छे थिएँ
अझ एक जना पुरुष पनि थिएँ !
बलात्कार !
हाय हाय !!
यस्तो मैले कैलै सोचिंन
गर्न त धेरै टाढाको कुरा
तर तिमीले सजिलै भनिदियौ-
मार्क्स बलात्कारी थियो
उसले एक पटक हैन अनेक पटक
पटक पटक बलात्कार गरेको थियो !
यस्ती महाज्ञानी तिमी
आफैं कसरी मार्क्सवादी भयौ ?
मलाई तिम्रो दशा देखेर दया लाग्यो !
कि तिमी मार्क्सवादी होइन
कि म बलात्कारी होइन
फेसनको रुपमा मलाई मान्नेहरू
कसरी रातारात फेरिदा रहेछन
बजारमा अर्को फेशन आएपछि
कसरी बजारतिर भाग्दा रहेछन
तिमीले राम्रैसँग देखायौ कवि जी !
संसारमा एक मात्र तिमीलाई देखें
जो अझै बलात्कारीको विचारलाई
आदर गर्छ , पथ प्रदर्शक मान्छ
के तिमीलाई बलात्कार भन्ने कुरा
प्रेरणादायी र पथप्रदर्शक लाग्छ लेखिका ?
ए मुर्दाहरू हो
जो आफूलाई मार्क्सवादी हौं भन्छौ
किन चुपचाप छौ ? मधुमासमा छौ ?
के तिमीहरू पनि मलाई बलात्कारी ठान्छौ ?
२०७८|०१|०३
माइतीघर,moolbato.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button