
वैशाख १२, २०७८
एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मेट्जलाई सहजै पराजित गरेको छ ।
पीएसजीले मेट्जलाई उसकै मैदानमा ३–१ ले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मोउरो इकार्डीले एक गोल थपे । फाविन सेन्टोनजीको गोल सान्त्वना बन्यो ।
मेट्जको घरेलु मैदानमा शनिबार राति भएको खेलको चौथो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए । ४६औं मिनेटमा फाविन सेन्टोनजीले फारिद बोउलायाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
५९औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । ८९औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । डेलान ब्रुनले पेनाल्टी बक्समा इकार्डीमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा इकार्डी आँफैले गोल गरेका थिए ।
जितसँगै पीएसजी ३३ खेलबाट ७२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले एक खेल कम खेलेको लिललाई २ अंकले पछि पारेको छ । लिलको ७० अंक छ । पराजित मेट्ज ४३ अंक जोडेर १०औं स्थानमा रहेको छ ।hamrokhelkud/from



