मूल खबर

भूकम्पपछिको बलियो धरहरा,तत्काल सर्वसाधारणले चढ्न नपाउने

१२ बैशाख २०७८
मधुसूदन रायमाझी, काठमाडौं

भूकम्पले भत्काएको ऐतिहासिक धरहरा ठडिएको छ । ६ वर्षअघि विनाशकारी भूकम्पले भत्काएको धरहरा ठडिएको हो । विसं २०७२ सालको भूकम्पले भत्किएको धरहराको आधुनिकमा शैलीमा पुनर्निर्माण-नवनिर्माण गरिएको छ ।
भत्किएको धरहरा भन्दा उस्तै देखिए पनि नयाँ प्रविधिबाट निर्माण गरिएको छ ।

पहिलाको धरहराभित्र खाली सिँढीमात्र थियो भने अहिले भित्र संग्रहालयलगायत संरचना रहने गरी निर्माण भइरहेको छ । धरहरा चढ्नका लागि सिँढीका साथै लिफ्ट राखिएको छ । करिब ३ अर्ब ४८ करोड रुपियाँको लागतमा धरहरा निर्माण सम्पन्न भएको हो । यसमा अधिकांश चन्दा र सहयोग रकमबाटै निर्माण गरिएको हो ।भूकम्पले भत्काएको धरहराको पुनर्निर्माण सम्पन्न भए पनि धरहरा परिसरमा अन्य काम भने अझै बाँकी रहेको छ । बाँकी रहेका संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि भने धरहरा नखुल्ने भएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार यस वर्षको पुसम्ममा बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो । रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनर्निर्माणमा ३ अर्ब ४८ करोडमा ठेक्का सम्झौता भएको थियो । ढलेको धरहरा भन्दा नयाँ बनेको धरहराको चौडाइसमेत ठूलो रहेको छ । त्यसमा दुईवटा लिफ्ट पनि राखिएको छ । साथै एउटा परम्परागत भ-याङ रहेको छ । लिफ्ट र भ¥याङ दुवै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिएको छ । २४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैंचा, संग्रहालय, रंगिन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले ऐतिहासिक सम्पदा धरहरा आधुनिक शैलीमा निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँले धरहराको ऐतिहासिक महत्वलाई कायमै राख्दै आधुनिक र व्यवस्थितरूपमा धरहरा निर्माण गर्न सफल भएको बताउनुभयो । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेस रहेको छ । पहिलेको भन्दा अहिले २५ मिटर अग्लो धरहरा निर्माण भएको छ ।’

गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारीसाधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । धरहराको १८औं तलामा अवलोकलन कक्ष राखिएको छ । जहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । धरहरा परिसरभित्र हाल ३ सय ५० गाडी र ६ हजार मोटरसाइकल पार्किङस्थल निर्माण भइरहेको छ ।

विसं १८८२ मा भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा निर्माण गर्नुभएको थियो । विसं १९९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले उक्त धरहराको पुनर्निर्माण गर्नुभएको थियो । १९९० सालको भूकम्पले ११ तला रहेको धरहरा पुनर्निर्माण गर्दा ९ तला मात्र निर्माण गरिएको थियो । गोश्वारा हुलाक कार्यालय र धरहरासँगै जोडिएको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभाग पनि विस्थापन भएको छ । टक्सार विभागलाई बबरमहलमा वन विभागमा सारिएको छ । कर्मचारी सञ्चय कोष पहिलेकै स्थानमा रहेको छ भने त्यहाँ रहेको ढुङ्गेधारालाई थप संरक्षण गर्ने तयारीअनुरूप काम भइरहेको छ ।

यद्यपि धरहराको सबै निर्माण कार्य सम्पन्न भने भइसकेको छैन । हतार–हतार बाहिरबाट देखिने गरी धरहरा ठड्याइएको भए पनि भित्री कामहरु, बेसमेन्ट तथा पर्खाल र अन्य संरचना निर्माण, सजावट, भूकम्प संग्रहालय निर्माणलगायतका काम बाँकी छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको ६ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुनु खुसीको विषय भएको बताउनुभयो । हाल निर्माण भएको धरहरा निर्माण कार्यको लागि २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम शुरु गरेको थियो ।newsofnepal/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button