‘समाचार र विचारको
साझा चौतारी’






सानै उमेरमा अर्गानिक तरकारी खेती रोजेका मिलन भन्छन्, ‘थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने व्यवसाय हो, कृषि’


महिनामा एक लाखसम्म आम्दानी
रेखा जोशी

२०७८ बैशाख २०

उमेरको हिसाबले सानै छन्, तर तरकारी व्यवसायमा भने अबल्ल छन्, काठमाडौँ बुढानीलकण्ठका मिलन श्रेष्ठ । म्यानेजमेन्टमा व्याचलर गरेका उनले पढाई सकिने बित्तिकै अर्गानिक तरकारी व्यवसाय रोजे । २०७४ सालदेखि अर्गानिक तरकारी खेती सुरु गरेका उनले अर्गानिक तरकारीमा पनि बेमौसमी तरकारी खेती रोजेका छन् । उनको खेतमा अहिले टमाटर, साग, काउली, फर्सीलगायतका तरकारी पाइन्छ ।

कम जग्गाबाट खेती सुरु गरेका उनले अहिले व्यवसायलाई बढाएर ६ रोपनी जग्गामा खेती गर्दै आएका छन् । व्यवसाय सुरु गर्दा ६/७ लाख रुपैयाँ बजेट लागेको थियो । ‘सुरुका वर्षमा खासै आम्दानी भएन । मैले व्यवसाय सुरु गर्ने वर्ष नै असिना पानीले क्षति गर्‍यो ।’ उनले भने, ‘व्यवसाय नै छोड्न खोजेको थिए तर फेरि एक पटक एउटा व्यवसायमा हात हालेको, दर्ताहरू पनि गरेको थिए । यहाँको प्रतिनिधिहरूले पनि कृषि व्यवसाय नछोड अलिअलि सहयोग गएका छौ भन्दै हौसला प्रदान गर्नु भयो । त्यसपछि फेरि सुरु गरे । अहिले राम्रो भइरहेको छ ।’

अझै सोचे जस्तो भएको छैन तर सन्तुष्टि गर्ने ठाउँ भने छ । उनले भने, कृषि व्यवसाय भनेको आत्मनिर्भरको पेसा हो । थोरै लगानीबाट पनि सुरु गर्न सकिन्छ । हामीसँग धेरै पुँजी लगानी हुँदैन । थोरै लगानीबाट सुरु गर्न सकिने भएका कारण पनि यो व्यवसाय गर्न सजिलो हुने उनी बताउँछन् । महिनामा यति नै कमाइ हुन्छ भन्नु भन्दा पनि व्यवसायमा कहिले धेरै कहिले कम आम्दानी हुने उनी बताउँछन् ।

उनले अहिले महिनामा एक लाखसम्म आम्दानी गर्छन् । ‘अब भन्नुस्, जागिर ठुलो कि व्यवसाय ?’, उनी प्रश्न गर्छन् । ‘मिहिनेत र लगनशील भएर काम गर्ने हो भने जागिरभन्दा धेरै कमाउन सकिँदो रहेछ’, उनले भने, ‘अहिले पछाडि फर्किनु परेको छैन । सफलताको साक्षी भएको छु ।’

उनले तरकारी व्यवसाय सुरु गर्दा धेरैले नराम्रो भन्थे । यति धेरै खर्च गरेर पढेको मान्छेले किन तरकारी खेती गर्नु ? भन्ने सबैको दबाबले उनलाई घरीघरी पिरल्थ्र्यो । तर आफ्नो दृढ संकल्पलाई उनले छाडेनन् । पढेलेखेकाले कृषि काम गर्नु हुँदैन भन्ने मान्यतालाई चिरेका छन् ।

उनले ४ जना कामदार पनि राखेका छन् भने पार्ट-टाइम २ जना रहेका छन् । परिवारका सबैले कृषि व्यवसाय पहिलादेखि नै गर्दै आएको थिए । तर परम्परागत खेती हुन्थ्यो । धान, गहुँ, मकै रोप्थे तर उनले आधुनिक तरिकाले तरकारी व्यवसाय सुरु गरे । सुरु सुरुमा आम्दानी हुन्छ र ? भन्ने प्रश्न परिवारको मनमा उब्जन्थ्यो । तर बिस्तारै गर्दै गएपछि आम्दानी राम्रो भएपछि परिवारले पनि सहयोग गर्न थाले । साथी गाउँलेले भने अहिलेसम्म पनि अरू व्यवसाय नै गर्न सुझाव दिन्छन् ।

‘कृषि व्यवसाय गर्नु राम्रो हैन । त्यत्रो पढेको मान्छेले ठुलो व्यवसाय गर्नु छैन । तरकारीको पात काटेर गोलभेँडा खेती गरेर बसेको छ’ उनले भने, ‘अरू भन्नेले भनिरहन्छन् । आफूलाई जेमा सुन्तृष्टी मिल्छ त्यही गर्ने हो ।’

कहिलेकाहीँ तरकाको भाउ नआउँदा छोडेर विदेश नै जाऊ जस्तो लाग्ने गरेको गुनासो पनि उनी गर्छन् । तर फेरि उनी भन्छन्,‘अरूको देशमा गएर जति दुख गरे पनि केही हुने हैन । बरु आफ्नै देशमा बसेर केही गर्‍यो भने राम्रो हुन्छ । परिवारसँग बसेर २ पैसा कमाउँदा छुट्टै सन्तुष्ट मिल्छ ।’

अर्गानिक तरकारी खेतीबाटै उनको जीवनी नै फेरिएको छ । पहिला भन्दा धेरै राम्रो भएको छ । त्यही देखेर सँगै बढेका साथीहरू तरकारी खेतीबाट पनि आम्दानी हुने रहेछ भन्ने गरेको उनी सुनाउँछन् ।

‘मसँगै पढेका साथीहरू त्यतिकै हिँडेका छन् ’, उनले भने,‘हामीले भनेको खेतबारीमा मेहनत गरेर खाएका छौ । यति सानो उमेरमा आफ्नो व्यवसाय सम्हालेर खाएका छौँ ।’

उनले गरेको मेहनत देखेर गाउँ ठाउँका मानिसले पनि राम्रो भन्छन् । व्यावसायिक रूपमा तरकारी खेती गर्दा उनी सानै उमेरका थिए । अहिले बल्ल २७ वर्षको भए । यति सानै उमेरमा तरकारी व्यवसायबाट राम्रो आम्दानी गरेको देखेर सबै छक्क पर्छन् ।

‘कृषि पेसा भनेको हामीले जति मेहेनत गर्‍यो उति फल प्राप्त गर्ने व्यवसाय हो’ उनले भने, ‘जे जस्तो भए पनि आफैले उत्पादन गर्ने हो । सिधै हामी आफैले पैसा पाइन्छ आफूले पनि अर्गानिक तरकारी खान पाउँछौँ । हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ ।’ पछिल्लो समय अर्गानिक तरकारीको लागि बजारको पनि त्यस्तो समस्या नभएको उनी बताउँछन् ।

‘पहिला पहिला बजारको समस्या हुन्थ्यो तर पछिल्लो समय मानिसहरूले अर्गानिक तरकारी नै खोज्छन् । त्यसैले बजारको समस्या छैन । ’ उनले भने, ‘ अर्गानिक तरकारी गर्दा धेरै राम्रो हुन्छ । यसमा खासै खर्च पनि हुँदैन । रिक्स पनि छैन । सरकारले पनि विभिन्न कार्यक्रमबाट प्रोत्साहन, हौसला प्रदान गरिरहेको छ ।’

‘चुनौती हरेक व्यवसायमा हुन्छ। आफूले कसरी लिइन्छ भन्ने कुरा हो ।’ उनले भने, ‘म हरेक समस्या चुनौतीलाई सहज ढगंले लिन्छु ।’ बेमौसमी तरकारी फलाउँदा भनेजस्तो तरकारीको भाउ नपाइने समस्या रहेको उनले गुनासो गरे । ‘भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्दा हामीले उत्पादन गर्दा लागेको लागत भन्दा पनि कम मूल्य पाइन्छ । किनकि हामीले अगानीक तरकारी फलाउर्दा हामीलाई नै महँगो पर्न जान्छ ।’ उनले भने ।

No description available.

‘पहिला अर्गानिक हो भनेर बुझाउन समस्या हुन्थ्यो तर अहिले त्यस्तो छैन । उपभोक्ता आफै अर्गानिक तरकारी खोज्दै हिँड्छन् ।’ कोरोना पछि झन् अर्गानिक तरकारीको माग बढेको उनले महसुस गरेका छन् । ‘अर्गानिक तरकारीले हाम्रो स्वास्थ्यलाई धेरै राम्रो गर्छ । अब मानिसहरूमा अर्गानिक चिज खानुपर्छ भन्ने लागि सकेको छ’ उनले भने, ‘अहिले त बजारको समस्या छैन तर ठाउँ हेरेर पनि बजारको समस्या हुन्छ । तर यहाँ त्यस्तो छैन । ’

उनले खेती गरेको ठाउँ वरिपरि धेरै बस्ती छ । बजारको भन्दा पनि उनको बारीको तरकारी राम्रो छ भन्दै बढी पैसा तिरेरै तरकारी किन्छन् । ‘उहाँहरू सन्तुष्टिका साथ किन्नु हुन्छ । मलाई त्यसैमा खुसी लाग्छ’ उनले भने । अरू तरकारी उत्पादन गर्नु भन्दा अर्गानिक तरकारी फलाउन अलि गाह्रोँ चैँ पर्ने उनी बताउँछन् । ‘विषादी हुनु भएन, मौसम अनुसारको स्याहारसुसार गर्नु पर्छ, किराफटेग्रा पनि अर्गानिक तरीकाले समाधान गर्नु पर्छ’ उनले भने, ‘तालिम लिएकाले मात्र अर्गानिक तरकारी फलाउन सक्छन् नभए गाहे हुन्छ । धेरैले अर्गानिक फलाई रहेका छौँ भन्छन् तर उनीहरूले अर्गानिक फलाएका हुँदैनन् ।’

जति अर्गानिक फलाउन गाह्रो हुन्छ त्यही अनुसारको फल पनि मिठो हुने उनी बताउँछन् । लकडाउनको समयमा पनि खासै समस्या नभएको उनी बताउँछन् । ‘बिउ बिजन लिन, मलबनाउदा चाहिने सामान लिन जान पाइँदैन । नभए अरू खासै समस्या छैन ।’ उनले भने, ‘अरू सबै व्यवसाय लकडाउनले चौपट भएको छ तर कृषि व्यवसाय फस्टाइरहेको छ । यहाँबाटै थाहा हुन्छ । कृषि व्यवसाय भनेको कस्तो हो भनेर ।’

‘कृषि पेसा भनेको त्यस्तो पेसा हो जुन जस्तो सुकै समस्या आए पनि रोकिँदैन ।’ उनले भने । सरकारले दिने अनुदानबाट कृषि व्यवसाय गर्न केही मात्रामा सहज हुने उनी बताउँछन् । उनले प्रागंगारीक खेती गरिरहेको हुँनाले गएको वर्ष कृषि ज्ञान केन्द्रबाट मल बनाउन र इनार बनाउन ५० प्रतिशत अनुदान पाएका थिए । वडा नगरपालिकाहरूले पनि कहिलेकाहीँ बिउ बिजन प्लास्टिकहरू सहयोग गर्ने उनले बताए ।

‘अनुदान भनेको हामीले आदी लगानी गरेर फुल नाफा कमाउन सकिन्छ । यस्तो अनुदानका कार्यक्रमले सुनमा सुगन्ध थपिन्छ ’ उनले भने,‘तर सही र वास्तविक किसानले सही तरिकाले पाउनु पर्‍यो । ’halokhabar/from

प्रतिकृया दिनुहोस्