स्वास्थ्य

कोरोनाको त्रास र सुरक्षित रहने उपाय

कविराज सुमन सत्याल

कोरोनाको दोस्रो कहर शुरु हुन नपाउँदै सरकारले आफ्नो लाचारीपन देखाएर सारा नेपालीलाई निराश गराएको छ। कोभिड बिरामीका कारण अस्पतालका शय्या भरिएका छन्। अस्पतालमा अरु कुनै सामान्य रोग लागेर उपचार गराउन जाने बिरामीले समेत उपचार नपाउने अवस्था आइसकेको छ। कोरोनाले आफ्नो उच्चतम विन्दु निकै माथि पुर्या‍उने लक्षण देखाइरहेको छ। टावर र मैदानका नाममा अरबौं खर्च गर्दा सरकारलाई किन महशुस भएन यी भन्दा अत्यावश्यक कामहरु गर्न बाँकी नै छ भन्ने? आवश्यकताको पहिचान नगरी फजुल खर्चमा सरकार लाग्नुहँुदैन भन्ने कुरा सरकारले किन बुझेन?

संसारमा पहिलोचोटि कोरोना देखिँदा सारा विश्वनै आक्रान्त बनिरहेको अवस्थामा नेपालको अवस्था अति सामान्य थियो। तर सरकारले त्यसको मौका उठाएर अस्पताल बनाएर स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम थप्नुपर्ने थियो। तर त्यो सुनौलो समयमा सरकार कानमा तेल हालेर बसेको थियो। अझ प्रधानमन्त्री स्वयंबाट विज्ञको परामर्शबिनै बेसार पानी, तातो पानी, अम्बाको पात जस्ता कुरा गरेर समय टारिदिए।

समय अझै घर्किसकेको छैन। ढिला भएको पक्कै हो तर अझै पनि समय बाँकी छ। अवस्था जटिलतातर्फ अघि बढिरहे पनि समय बितिनै सकेको भने छैन। सरकारले इच्छाशक्ति देखाएर आजकै मितिबाट द्रुत गतिमा निर्माण हुनसक्ने किसिमका आधुनिक प्रविधियुक्त भवन बनाई प्रत्येक जिल्लामा आवश्यकता अनुसार एक हजार बेडदेखि अस्पताल बनाउन सुरु गर्ने हो भने बढिमा एक महिनाभित्र निर्माणनै गर्न सकिन्छ। यसतर्फ सरकारले सोचेर अघि बढ्नुपर्ने देखिन्छ।

सरकारले नै हात उठाएपछि जनताले कसमाथि आशा राख्ने? सरकारले बुद्धिमानी पूर्वक जनतालाई मार्गनिर्देश गर्नुपर्दछ। हाम्रो पूर्विय दर्शन, सभ्यता, आयुर्वेद, जडिबुटि, प्राकृतिक चिकित्सा, योग, ध्यानमा सबल रहेको हुनाले यस तर्फ पनि विज्ञसँग बसेर छलफल गर्न सकिन्छ। उपायहरु केही पक्कै निस्कने छन्। हामिले आफ्नो तर्फबाट हुनसक्ने सावधानि अपनाएर आफ्नो र परिवारको सुरक्षाका साथै सरकारलाई सहयोगी भूमिका निर्वाह गर्न सक्छौं। यसका साथै सुरक्षाका अन्य उपायहरु अपनाउँदै कोरोनाविरुद्ध प्रतिरोधि बन्नुपर्ने देखिन्छ। त्यसको लागि निम्न उपाय अपनाउनु उत्तम देखिन्छ।

– आयुर्वेदले सबैभन्दा बढि महत्वपूर्ण दिएको आम अवस्था हुन दिनुहुँदैन। आम भन्नाले पेटमा खाना बढि खाएर वा नपचेर बसेको खराब तत्व हो जसले गर्दा जुनसुकै रोग चाँडै लाग्न सक्छ। त्यसैले लघु आहार, दाल (मुंग वा रहर नमिसाई), भात, गँहुको रोटी, हरिया तरकारी आदि दुई छाक र भोक लागेमा मात्र खाजा खाने जसमा सुजीको हलुवा, जाउलो आदि लिन सकिन्छ जुन कुरा चाँडै पचेर निराम अवस्थामा रहनको लागि मद्दत गर्दछ।

– पानीमा अदुवा, मोथे, गुर्जो, हालेर १ लिटरमा ५ ग्राम जति राखेर दिनभर आवश्यकता अनुसार पिउने।

– चियापत्तिको रुपमा घरेलु जडिबुटिहरुको प्रयोग गर्न सकिन्छ, तुलसी, कागती, ल्वांग, मरिच, पिप्ला, बेसार, अलैँची, दालचिनी आदि। यस्ता जडिबुटिको प्रयोगले पाचन प्रणाली राम्रो बनाउँछ र पेटबाट उत्पन्न हुने ज्वरो लगायतका रोग लाग्न दिँदैन भने श्वासप्रश्वास मार्ग पनि सफा गर्दछ।

– दिनचर्याको पालन गर्ने, सूर्योदय हुने १ घण्टा अगाडि उठ्ने, दिसापिसाब गरेपछि दाँत माझ्ने, नाकमा तोरीको तेल दुई थोपा दुबै नाकमा हाल्ने, जिउमा तेलले मालिस गर्ने, व्यायाम वा योग अभ्यास, प्राणायाम गर्ने र स्नान अनि मात्र भोजन गर्ने।

– हाल कोरोनाका बिरामीमा श्वासप्रश्वास सम्बन्धि समस्या बढि देखिएकाले योग अभ्यास गर्दा श्वासप्रश्वासलाई सहज गराउने किसिमका अभ्यासहरु जस्तैः भुजंगाशन, मत्स्याशन, पवन मुक्ताशन, सबै किसिमका प्राणायम र समय पुगेसम्म अन्य आशनहरुमा जोडदिनुपर्दछ। तर संक्रमण देखिएकाहरुले भने विज्ञसँगको सल्लाह अनुसार मात्र यस्ता आसनहरु गर्नुपर्छ।

– सुत्ने दुई घण्टा अगाडिनै हलुका भोजन गर्ने।

– दिनमा केहि मिनेट ध्यान गर्ने, सकेसम्म आधादेखि एक घण्टासम्म बढाउँदै लाने।

– घरबाट अनावश्यक बाहिर ननिस्कने, निस्कदा अनिवार्य सावधानि अपनाउने, मास्क आदि प्रयोग गर्ने।

– स्यानिटाइजरको भन्दा साबुन पानीको प्रयोग बढि गर्ने, स्यानिटाइजर प्रयोग गरेर खानु त्यति उपयुक्त हैन।

– दिनमा खाली समयमा बिल्कुलै सुत्नु हुँदैन। परिवारसँग रमाइलो कुराकानी, बच्चाहरुसँग खेल खेल्ने, करेसाबारी हुनेले काम गर्न सकिन्छ भने अन्यले उर्जाशिल किसिमका क्रियाकलापमा लाग्नुपर्दछ। जतिबेला पनि मोबाइल, टिभी, समचार मात्र हेर्दा पनि अनावश्यक तनाव सिर्जना हुन्छ। त्यसैले लेख लेख्ने, उपन्यास, कथा, कविताहरु पढ्ने लेख्ने गर्नु उत्तम हुन्छ।

– यस्तो बेलालाई अवसरको रुपमा लिएर घरमा अनिवार्य रुपमा जडिबुटिहरुको विरुवा लगाऔं। अनावश्यक रुपमा घरको शोभाको रुपमा अनेक काँडा र अन्य रुप, रस, गन्धबिनाका फूलहरुले घरलाई भरिभराउ बनाउनुभन्दा तुलसी, पुदिना, जेठिमधु, अश्वगन्धा, भृंगराज, असुरो लगायतका थुप्रै जडिबुटिहरु लगाउने।

– सरसफाइमा ध्यान दिने। दैनिक स्नान गर्ने।
– नयाँ पुस्तालाई हाम्रो संस्कार, सभ्यता, वैदिक ज्ञान दिने।

-(सत्याल हाल पतञ्जली आयुर्वेद मेडिकल कलेजमा आयुर्वेद चिकित्सा अध्ययनरत छन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button