
लघुकथा
मोबाइलमा ब्यस्त छोरीलाई आमाले गाली गरिन ( यो के भएकी जतिखेर पनि त्यही मोबाइलमा झुन्डि रहन्छे,घरमा कति काम लठिभद्र छन् , बारीमा गर्ने काम सघाए पनि हुने , खेतमा गएर बाबालाई सघाए पनि अलिकति भरथेग हुन्थ्यो , अर्काको घरमा गएर गरि खानुपर्ने जात न घर भित्रको काम राम्ररी जान्दछे न बाहिरको काममा भर छ , हे भगवान १ यसले कसरी गरि खान्छे होला । गोठमा गाई बाख्रा कराइरहेका छन एक भारी घाँस काटेर ल्याइदिए पनि हुन्थ्यो ।
आमाको लामो गनगन सुनेर दिक्क मान्दै रिसले भनन् हुदै छोरीले मोबाइल त्यतै ओछ्यानमा फ्याकी र उठेर हसिया नाम्लो बोकेर घाँस काट्न गई । घाँस काट्दा पनि उसको दिमागमा त्यही मोबाइलमा भएका साथीहरूका टिकटक , युटुवमा भएका रमाइला नरमाइला प्रसंगहरू , फेसबुकमा अपलोड भएका इस्टाटस र फोटाहरू घुमिरहे ।
जसोतसो सानो सानो एक भारी घाँस ल्याएर गोठमा लडाई । गाई बाख्रालाई हालिदिउँ कि,एकपल्ट सम्झि,होइन आमाले नै हाल्नु हुन्छ होस् भन्दै घरतिर लागी ।यता गोठमा गाई बाख्रा घाँस देखेर कराइरहेका थिए । उता भान्सा घरतिर गएर हेरी आमा पनि खाना पकाउँदै मोबाइलमा ब्यस्त थिइन । यसो पसिना पुछ्दै अघि ओछ्यानमा फालेको मोबाइल टिपेर छोरी फेरि उहीँ धन्दामा लागि ।


