‘समाचार र विचारको
साझा चौतारी’






बन्दा काउली प्रजातिमा लाग्ने गाँठे रोग र यसको व्यवस्थापन कसरी गर्ने ?


निराजन भण्डारी / उप–प्राध्यापक

२०७८ जेठ २२ गते प्रकाशित

काठमाडौँ, २२ जेठ । बन्दा काउली प्रजातिको जरामा गाँठो पर्ने रोग केही वर्ष यता नेपालमा प्रमुख समस्याको रुपमा देखा पर्दै आएको छ । केही वर्ष अघि बागमती प्रदेशका व्यावसायिक रुपमा बन्दा काउली उत्पादन हुने जिल्लाहरु मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरुमा यो रोगले ठुलो आर्थिक क्षति गरेको थियो ।

त्यसको केही वर्ष यता यो रोग पूर्वी नेपालको केही जिल्लाहरुमा पनि देखियो । वि.स. २०७३-७४ मा पूर्वी पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाहरुमा यो रोग देखा परेको स्थानिय कृषकहरु बताउनुहुन्छ ।

वि.स. २०७५÷७६ सालमा यो रोगको उच्च प्रकोपका कारणले केही कृषकहरुले बन्दा काउली खेती नै गर्न छोडेको र खेती गरिएका स्थानहरुमा समेत उत्पादनमा एकदमै ह्रास आएको स्थानीय कृषकहरुको अनुभव छ । यो रोग बन्दा काउलीका साथै ब्रासिकेसी परिवार अन्तर्गतका अन्य बालीहरु ब्रोकाउली, ग्याँठकोबी, रायो, तोरी, मुला, सलगम, चम्सुर आदिमा समेत लाग्ने गरेको पाइन्छ ।

यो रोग नर्सरी र नर्सरीबाट मुख्य बारीमा खेतमा बेर्ना सारि सकेपछि दुवै अवस्थामा लाग्ने गरेको पाइएको छ । नर्सरीमा संक्रमित बिरुवाको वृद्धि बिकास हुन सक्दैन भने बिरुवा मुख्य जमिनमा सारि सकेपछि मात्र संक्रमण भएमा केही हदसम्म उत्पादन हुने सम्भावना हुन्छ ।

सुरुवातमा बिरुवाको जरामा साना गिर्खाजस्ता आकारहरु देखिने र पछि सोही गिर्खा बढ्दै गई गाँठोमा परिणत हुने यो रोगको प्रमुख लक्षण हो । गाँठे रोगको जिवाणुहरु माटोमा धेरै वर्षसम्म जीवित रहने भएकाले यो रोग एकपटक लागि सकेपछि पूर्ण रुपमा नियन्त्रण गर्न प्राय असम्भव जस्तै हुन्छ । त्यसैले रोग लाग्नु पूर्व नै सावधानीका उपायहरु अवलम्वन गर्न सके उत्तम हुन्छ । याममा लगाइने बेमौसमी बन्दा काउलीमा यो रोगको प्रकोप बढी देखिने गरेको छ ।

जेष्ठदेखि कार्तिकसम्म उत्पादन गरिने बन्दा काउलीमा यो रोगको प्रकोप अत्याधिक देखिने गरेको पाएको छ । कृषकहरुले रोग नियन्त्रणका लागि स्थानीय बजारमा पाइने बेभिस्टिन डाइथेन लगायतका विषादीहरु प्रयोग गर्ने गरे तापनि यो रोगको आक्रमणमा केही कमी नआएको कृषकहरुको अनुभव छ ।

कारण

जरामा गाँठो पर्ने रोग प्लाज्मोडियोफोरा ब्रासिकी (Plasmodiophorabrassicae) नामको एक प्रकारको सुक्ष्म ढुसीको आक्रमणबाट हुन्छ । रोगी माटो र रोगी बिरुवामा यो रोग संक्रमणका प्रमुख कारणहरु हुन् । अन्य मानविय र भौतिक क्रियाकलापहरुले समेत रोगको संक्रमण हुने गरेको केही अध्ययनहरुले देखाएका छन् । सिंचाइको पानी, खनजोत गर्दा प्रयोग गरिने औजारहरु, गाईवस्तुको आवगमन आदि कारणहरुले गर्दा यो रोगको विजाणुहरु (Spores) एक ठाउँबाट अर्को ठाउँ सजिलै सर्न सक्दछन् ।

प्लाज्मोडियोफोरेसी (Plasmodiophoraceae) परिवार अन्तर्गत करिब ३५ वटा प्रजातिका जिवाणुहरु पर्ने भएकाले गाँठे रोग लागेको एउटै खेतबारीमा समेत धेरै प्रजातिका जिवाणुहरुले आक्रमण गरेको हुन सक्ने सम्भावना हुन्छ । यो रोग ओसिलो र न्यानो मौसममा निकै छिटो फैलिन्छ । विभिन्न अध्ययनहरुका अनुसार यो रोग १५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएमा सजिलै लाग्न सक्ने सम्भावना हुन्छ । साथै गाँठे रोग खास गरी अम्लिय माटोमा देखा पर्दछ । यो रोगको प्रकोप माटोको पिएचमान ६.५ भन्दा तल भएमा ज्यादा हुन्छ । पानी जम्ने जमिनमा यो रोगको जिवाणुको प्रकोप ज्यादा हुन्छ ।

यो रोग लागेको बिरुवाको जरामा ठुला गाँठाहरु देखा पर्दछन् । त्यस्ता गिर्खा वा गाँठाहरु क्रमशः बढ्दै जान्छन्, फलस्वरुप जराले माटोबाट पानी र खाद्य पद्धार्थ लिने प्रक्रिया अवरुद्ध हुन गई बिरुवा ओइलाएर मर्ने गर्छन् । रोगको जिवाणु बिरुवामा प्रवेश गरेपछि करिब २–३ हप्ता पछि मात्र जरामा गाँठाहरु देखा पर्छन् ।

जिवाणुहरु बिरुवाको जरामा प्रवेश गरि सके पछि साइटोकाइनिन्नामको एक प्रकारको हर्मोन निकाल्छन्, उक्त हर्मोनले बिरुवाको जरामा कोष विभाजन गराउँछ । फलस्वरुप बिरुवाले पनि जरामा कार्बोहाइड्रेट, नाइट्रोजन र अन्य तत्वहरु उत्पादन गर्न थाल्दछ, जुन जीवाणुले खाद्य पद्धार्थको रुपमा प्रयोग गर्दछन् । जसले गर्दा विस्तारै जरामा गाँठाको विकास हुन्छ ।

रोगको लक्षण

रोगको लक्षण नर्सरी र खेतबारीमा बेर्ना सारि सकेपछि बिरुवाको विभिन्न वृद्धि अवस्थामा देखिन्छ । साधारणतया सुरुवाती अवस्थामा बिरुवाको जमिनभन्दा माथिको काण्ड र पातको भागमा रोगको कुनै किसिमको लक्षण देखा पर्दैन । विरुवाको वृद्धि विकासमा कमी आउने, बिरुवा होचो हुने, पात केही निहुरिएकोजस्तो देखिने र सिंचाइको सुविधा नभएको ठाउँहरुमा दिउसो चर्को घामलागेकोे समयमा बिरुवा ओइलाएजस्तो देखिने सुरुवातीअवस्थाका साधारण लक्षणहरु हुन् ।

रोगी बिरुवाहरु बिहान र साँझपखमा भने स्वस्थ जस्तै देखिन्छन् । केही समय पछि गाँठे रोग लागेको बिरुवाको वृद्धि पूर्ण रुपमा रोकिन्छ, बोट पहेलिन्छ, बढ्न सक्दैन र संक्रमण उच्च भएमा बिरुवामा मर्ने समेत हुन्छ । उक्त बोट उखेलेर हेर्दा जरामा संक्रमणको सुरुवातमा साना गिर्खाहरु देखिन्छन् । क्रमशः उक्त गिर्खाहरु ठुला डल्ला वा गाँठोको रुपमा विकास हुन्छन् ।

मूल जरामा गाँठा वा डल्ला बसेका हुन्छन् भने सहायक जराहरुमा स–साना औंला जस्ता आकारका जराहरु बनेका हुन्छन । तर कहिलेकाही मूल जरामा मात्र गाँठा देखिने र सहायक जराहरु मान देखिने, त्यस्तै गरी सहायक जराहरुमा मात्र गाँठा देखिने र मूल जरामा नदेखिने पनि हुनसक्छ । विस्तारै उक्त गाँठाहरु कुहिएर बोटहरु मर्न थाल्दछन् ।

रोग नियन्त्रणका उपायहरु

यो रोगका जिवाणुहरु माटोमा धेरै वर्षसम्म जिवित रहने सक्ने भएकाले यो रोग एकपटक लागि सकेपछि पूर्ण रुपमा माटोबाट निर्मूल पार्न प्राय असम्भव हुन्छ । नेपाल लगायत विश्वका धेरै अनुसन्धानकर्ताहरुले विभिन्न अनुसन्धानका आधारमा गाँठे रोग नियन्त्रण र व्यवस्थापनका निम्ति धेरै प्रकारका उपायहरु सुझाएका छन् । गाँठे रोग नियन्त्रण र व्यवस्थापनका लागि कुनै एक विधिभन्दा पनि एकिकृत बाली संरक्षण पद्धति (Integrated Approach) प्रभावकारी देखिएको छ ।

एकिकृत बाली संरक्षण पद्धतिअन्तर्गत निम्न कार्यहरु गर्नुपर्दछ ।

क) खेतबारीको नियमित अनुगमन गरी रोग पत्ता लगाउने ।

ख) रोग लागेको पत्ता लाग्ने बित्तिकै रोगलाई एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिने ।

ग) रोग लागि सकेपछि उक्त रोगको क्षतिलाई न्युनिकरण गर्न निम्न उपायहरु अपनाउनुपर्दछ ।

१.खेती प्रणालीमा सुधार

क) रोग प्रतिरोधक जातहरु लगाउने

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र (Seed Quality Control Center) का अनुसार नेपालमा गाँठे रोग प्रतिरोधक बन्दाका २ वटा जातहरु (बिग सन १७१ र वाईआर होनाम) पञ्जिकृत भएका छन् । बिग सन १७१ (Big Sun 171) उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको जात हो भने वाइआर होनाम (YR Honam) तराई, पहाड र उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको जात हो । त्यस्तै गरी टेकिला (Tekila) जातको बीउ पनि पूर्वी पहाडी जिल्लाहरुमा परीक्षण भईरहेको छ ।

ख) रोगमुक्त (निरोगी) बिरुवा लगाउने

गाँठे रोग देखा परेको ठाउँमा बेर्ना उत्पादन नगर्ने ।

गाँठे रोग देखा परेको ठाउँ वा क्षेत्रमा उत्पादन गरिएका बेर्नाको प्रयोग नगर्ने ।

ग) कृषि चुनको प्रयोग गर्ने

निरोगी बिरुवा उत्पादन गर्न नर्सरी ब्याड राख्ने ठाउँमा २–३ हप्ता अघि नै १ के.जी. प्रति वर्ग मिटरका दरले कृषि चुन हाली प्रशस्त मात्रामा गाईवस्तुको मल अथवा कम्पोस्ट मल मिलाई चर्को घाममा उक्त नर्सरी ब्याड बनाउने स्थानलाई सोलाराइजेसन गर्ने ।

खेतबारीको माटोको पिएचमान तटस्थ (७) बनाउन खेतबारीको माटोमा पनि कृषि चुन २ सय ५० के.जी. (प्रति रोपनी) को प्रयोग गरी प्रशस्त मात्रामा कम्पोस्ट मलको प्रयोग गर्ने । कृषि चुनको प्रयोगले रोगकाजिवाणुहरु मार्ने नभई यसले बिजाणुहरु ९क्उयचभक० को अन्कुरणलाई मात्र रोक्दछ ।

क्याल्सियम र बोरोन तत्वले बिरुवा सानो छदा गाँठे रोगको संक्रमणबाट बिरुवालाई जोगाउने हुँदा मुख्य जमिनमा बेर्ना सार्नुभन्दा ३ हप्ता अघि नै कृषि चुनसँगै बोरिक एसिडको पनि प्रयोग गर्दा राम्रो नतिजा प्राप्त हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

घ) बाली चक्र अपनाउने (घुम्ती बाली लगाउने)

ब्रासिकेसी परिवारमा पर्ने बाली बाहेक अन्य बालीहरु (आलु, गोलभेडा, कोशेबाली आदि) सँग ५ देखि ६ वर्षसम्म बाली चक्र अपनाउने ।

ब्रासिकेसी परिवारमा पर्ने अन्य बालीहरुले पनि यो रोगको जीवाणुलाई आश्रय स्थल प्रदान गर्ने भएकाले ब्रासिकेसी परिवारमा पर्ने कुनै पनि बालीहरु नलगाउने ।

ङ) छिप्पिएका बेर्नाहरु मात्र प्रयोग गर्ने

कलिला बेर्नाहरु प्रयोग नगर्ने ।

बन्दा काउलीका बेर्नाहरु नर्सरीमा ३–४ हप्ता (६–८ पता) का भए पछि मात्र मुख्य जमिनमा बेर्ना सार्ने ।

च) सिंचाइ गर्दा ध्यान पु¥र्याउने

रोग लागेको खेतबारी वा ठाउँ हुँदै बगेर आउने पानी सिंचाइका लागि प्रयोग नगर्ने ।

पानी जम्ने गरी सिंचाइ नगर्ने, माटोमा ठीक मात्रामा चिस्यान कायम गर्ने ।

खेतबारीमा निकासको उचित प्रबन्ध मिलाउने ।

छ) अग्लो ड्याङ उठाएर बाली लगाउने

वर्षा याममा बन्दा काउलीको खेती गर्दा तराईमा पानी जम्ने समस्या हुने हुनाले ड्याङ उठाएर खेती गर्ने । साथै पहाडी क्षेत्रमाकुलो खनेर निकासको उचित प्रबन्ध मिलाउने ।

ज) खेतबारीको नियमित सरसफाई गर्ने

खेतबारीबाट झारपातहरु समय समयमा हटाइ राख्ने । ब्रासिकेसी परिवारमा पर्ने अन्य झारहरुले समेत यो रोगको जिवाणुलाई आश्रय प्रदान गर्ने भएकाले ब्रासिकेसी परिवारमा पर्ने झारहरुलाई पूर्ण रुपमा नष्ट गर्ने । खनजोत गर्दा प्रयोग गरिने कृषि औजारहरु प्रयोग गरिसके पछि राम्रोसँग धोई पखाली गरेर मात्र राख्ने । गाँठे रोग लागेका बोटका जराहरु नष्ट गर्ने ।

झ) रासायनिक मलको उचित प्रयोग गर्ने

नाइट्रोजनयुक्त रासायनिक मलको प्रयोगले पनि यो रोगको प्रकोपमा केही असर गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । तसर्थ युरिया र एमोनियम सल्फेटको तुलनामा क्याल्सियम नाइट्रेटको प्रयोग गरेमा रोगको प्रकोप केही कम हुने देखिएको छ ।

२. जैविक विधि

विभिन्न अध्ययनहरुले देखाए अनुसार जैविक विधिबाट पनि गाँठे रोगको प्रकोपलाई केही हदसम्म कम गर्न सकिन्छ । गाँठे रोग नियन्त्रणका लागि खास गरी दुई प्रकारका जैविक विषादी (वनस्पति जैविक विषादी र जिवाणुयुक्त ढुसीनाशक विषादी) हरु प्रयोग गर्ने गरेको पाइएको छ । वनस्पतिक जैविक विषादीहरुले माटोको उपचार गरिन्छ भने जिवाणुयुक्त ढुसीनाशक विषादीहरुले बीउ र माटो दुवैको उपचार गर्न सकिन्छ । नर्सरीमा बीउ रोप्नु र मुख्य जमिनमा बेर्ना सार्नु अघि नै जिवाणुयुक्त जैविक विषादीहरुले बीउ र माटोको उपचार गर्नु पर्दछ ।

साथै बिरुवा नर्सरीमा नै हुँदा र मुख्य जमिनमा सारि सकेपछि पनि गाँठे रोग देखा परेमा जिवाणुयुक्त जैविक विषादीहरुको प्रयोग गर्न सकिन्छ । जिवाणुयुक्त जैविक विषादीको गुणस्तर, प्रयोग र प्रभावकारितामा धेरै कुराहरुले असर गर्ने हुनाले विषादीको छनोट तिनीहरुको प्रयोग विधि र भण्डारणमा निकै सावधानी अपनाउनु पर्दछ ।

ढुसीयुक्त ढुसीनाशकयुक्त जैविक विषादीहरु

ट्राइकोडर्मा भिरिड (Trichoderma viride) (संजिवनी) ५ ग्रामप्रतिलिटरका दरले प्रयोग गर्ने ।

ट्राइकोडर्मा भिरिड (Trichoderma viride) (निप्रोट) ५ ग्रामप्रतिलिटरका दरले प्रयोग गर्ने ।

ट्राइकोडर्मा हार्जियानम (Trichoderma harzianum) (निप्रोट) ५ ग्रामप्रतिलिटरका दरले प्रयोग गर्ने ।

ग्लियोक्लाडियम क्यान्टेनुलेटम (Gliocladiumcantenulatum) (प्रिस्टप) २.८० ग्राम प्रति लिटरका दरले प्रयोग गर्ने (१.४० के.जी ५०० लिटर पानीमा घोली एक हेक्टर जमिनको माटो उपचार गर्ने) ।

ब्याक्टेरियायुक्त जैविक ढुसीनाशक विषादीहरु

सिउडोमोनास फ्लुरोसेन्स (Pseudomonas fluorescence) ५ ग्रामप्रतिलिटरका दरले प्रयोग गर्ने ।

बेसिलस सब्टिलिस (Bacillus subtilis) (सेरेनेड) १३ लिटरप्रति हेक्टरका दरले दरले प्रयोग गर्ने।

वनस्पतिक जैविक विषादीहरु

विभिन्न अध्ययनहरुका अनुसार लसुनको रसले माटोको उपचार गर्दा रोगको संक्रमण केही कम हुने देखिएको छ ।

खेतबारीमा बेर्ना सारि सकेपछि पिना २० ग्राम प्रति बोटका दरले प्रयोग गर्दा राम्रो नतिजा पाइएको छ ।

३. रासायनिक विधि

नर्सरीमा बीउ रोप्नु अघि ढुसीनाशक विषादीहरु क्याप्टान वाथिराम ४ ग्राम प्रति के.जी. बीउका दरले बीउको उपचार गर्ने ।

नेबिजिन (रासायनिकनाम : फ्लुसलफेमिड) नामक विषादी जमिन तयारी गर्ने बेलामा १० के.जी. प्रति रोपनीका दरले माटोमा राम्रोसँग मिसाउने वा २ ग्रामप्रति लिटरको घोल बनाई बन्दा काउली रोप्ने ड्याङ राम्ररी भिज्ने गरी छर्कने ।

नर्सरी ब्याडलाई बीउ रोप्नु करिब १५ दिनअघि फर्मालिन र पानीको मिश्रण (१ भागफर्मालिन र ५ भागपानी) बनाई माटो राम्रोसँग भिज्ने गरी उपचार गर्ने र प्लास्टिकले उपचार गरिएको नर्सरी ब्याडलाई छोपिदिने । फर्मालिनको गन्ध र असर गएपछि मात्र बीउ रोप्ने ।

नर्सरीबाट मुख्य जमिनमा बेर्ना सार्नुभन्दा अघि बेर्नाहरुलाई ढुसीनाशक विषादी बेन्लेट ५ ग्राम प्रति लिटरको घोल बनाइ बेर्नाको जरालाई उक्त घोलमा करिब १५ मिनेट जति डुबाएर उपचार गर्ने ।
त्यस्तै गरी ढुसीनाशक विषादी बेभिस्टिन २ ग्राम प्रति लिटरको घोल बनाई बेर्नाको जरा रोप्नु अघि उपचार गर्ने र बेर्ना सारि सकेपछि पनि त्यस्तै घोल बनाई २ सय ५० मिलिलिटर प्रति बोटका दरले बोटको फेद वरपर हाल्दिने ।

फ्रोन्साइड, लिगेसी, एलेग्रो (रासायनिकनाम : फ्लुुयाजिनम) १.४५ के.जी.प्रति हेक्टर र र्‍यानम्यान-टोरेन्ट (रासायनिकनाम : साइजोफेमिड) ०.२२ के.जी.प्रति हेक्टरका दरले ५०० लिटर पानीमा घोली माटोको उपचार गर्ने । विभिन्न अनुसन्धानका प्रतिवेदन अनुसार उक्त विषादीहरु अन्य मुलुकहरुमा परीक्षण गर्दा गाँठे रोग नियन्त्रणमा राम्रो नतिजा देखिएकाले उक्त विषादीहरुलाई नेबिजिनको विकल्पका रुपमा नेपालमा समेत परीक्षण गर्न सुझाव गरिएको छ ।halokhabar/from

प्रतिकृया दिनुहोस्