‘समाचार र विचारको
साझा चौतारी’






महामारीमा सामुदायिक चिकित्सा विशेषज्ञहरूको भूमिका


डा प्रनिल मान सिंह प्रधान, डा पल्लवी कोइराला

सामुदायिक चिकित्सा (कम्युनिटी मेडिसिन)चिकित्सा शास्त्र विज्ञानको एक विशेष बिषय हो। जसको मूल उद्देश्य जनस्वास्थ्य प्रबर्द्धन, रोगहरूको रोकथाम, अन्तर समन्वय साथै प्रतिकारात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक माध्यमबाट जनतालाई स्वस्थ्य र दीर्घ जीवन दिनु हो। चिकित्सा शास्त्रमा स्नातक (एमबिबिएस) उतिर्ण गरि सामुदायिक चिकित्सा बिषयमा स्नाकोतर (एमडी) अध्यन पुरा गरि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका जनशक्ति सामुदायिक चिकित्साविज्ञको रुपमा चिनिने गर्दछनI

सामुदायिक चिकित्सा विज्ञानभित्र इपिडेमियोलोजी, बायोस्ट्याटिसटिक्स, महामारी अनुसन्धान तथा व्यवस्थापन, पर्यावरण र व्यवसायजन्य स्वास्थ्य, पोषण, जनसांख्यिकी, स्वास्थ्य व्यवस्थापन, स्वास्थ्य प्रणाली, स्वास्थ्य अर्थशास्त्र, प्रजनन स्वास्थ्य, मातृ र बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, प्रकोप व्यवस्थापन, जेरियट्रिक स्वास्थ्य, अन्तर्राष्ट्रिय स्वास्थ्य जस्ता विषयहरुमा पढाई हुनका साथै स्वास्थ्य अनुसन्धानमा पनि गहन अध्यापन गरिन्छI सामुदायिक चिकित्सा विशेषज्ञहरु अध्ययन अध्यापनका साथै विकास संस्थाहरुमा स्वास्थ्य परामर्शदाता र स्वास्थ्य प्रबन्धकको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्न सक्दछन्I सामुदायिक चिकित्सकहरु जनस्वास्थ्यका विभिन्न विधाहरु साथसाथै महामारीको अनुसन्धान र प्रतिक्रिया, मौखिक तरिकाबाट मृत्युको कारण पत्ता लगाउने बिधि, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, आपतकालिन अस्पतालको तयारी, संक्रामक र नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि प्राविधिक विज्ञहरूको रूपमा योगदान पुर्याईरहेका हुन्छनI

नेपालमा सामुदायिक चिकित्सा अथवा कम्युनिटी मेडिसिनको शिक्षा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगञ्ज मेडिकल क्याम्पसको स्थापनासँगै सामुदायिक चिकित्सा विभागबाट सुरु भयो । देशका लागि जन स्वास्थ्य जनशक्ति विकास गर्न नेपाल सरकारको निर्देशन अनुरुप यस विभागले सन् १९८७ मा जनस्वास्थ्य बिषयको अध्यापन थालनी गर्यो। यद्यपि सामुदायिक चिकित्सा बिषयमा स्नातकोत्तर कार्यक्रम (एमडी) भने हालसम्म सुरु भएको छैन। सामुदायिक चिकित्सामा स्नातकोत्तर तहको पढाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामुदायिक चिकित्सा विभागले सन् १९९९ मा शुरु गर्यो। काठमाडौं विश्वविद्यालयमा सामुदायिक चिकित्सामा स्नातकोत्तर प्रशिक्षण सन् २००९ बाट शुरु भयो।

हाल नेपालमा सामुदायिक चिकित्सामा स्नातकोतर (एमडी) गरेका ८० भन्दा बढी जनशक्ति नेपाल र विदेशमा रही विभिन्न स्वास्थ्य संस्थाहरूमा सेवा दिइरहेका छन् र बर्षेनी करीव ४० जना चिकित्सा शास्त्रमा स्नातक (एमबिबिएस) पास गरेका विद्यार्थी सामुदायिक चिकित्सामा रेसिडेन्सी प्रशिक्षणको लागि विभिन्न मेडिकल कलेजमा भर्ना हुन्छन्I यस बिषयमा बढ्दो चासोका कारण नेपालमा हरेक बर्ष स्नातकोत्तर पढाईका लागि सामुदायिक चिकित्सा छनौट गर्नेहरुको संख्या बढिरहेको छ। नेपालका अधिकांश (६९ प्रतिशत) सामुदायिक चिकित्सामा स्नातकोत्तर गरेका जनशक्ति मेडिकल कलेजहरुमा अध्यापन गराउछन् भने लगभग एक चौथाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा परामर्शदाताको रूपमा योगदान गरिरहेका छन्I

यद्यपि उनीहरू निजामती सेवामा प्रवेश गर्न नपाएका कारण सरकारी स्वास्थ्य सेवामा उपयोग हुन सकिरहेका छैनन्I दरबन्दी अभावका कारण सामुदायिक चिकित्सामा स्नातोकत्तर गरेका जनशक्तिले नेपालमा मेडिकल कलेजहरुमा नै जागिर पाउन मुस्किल हुने अवस्था आइसकेको छI सन् २०१९ देखि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट सामुदायिक चिकित्सामा स्नातोकत्तर पूरा गरेको जनशक्तिले स्वास्थ्य र जनसंख्या मन्त्रालयको छात्रवृत्ति पाए बापत दुई वर्ष सेवा (बोन्ड) अन्तर्गत मन्त्रालयले खटाएको ठाउँहरुमा सेवा सुरु गरेका छन् तर स्थायी दरबन्दी नभएका कारणले निजामती सेवामा भने प्रवेश पाउन सकेका छैनन्।

हाल चलिरहेको कोभिड-१९ महामारीले नेपालको स्वास्थ्य प्रणालीमा सामुदायिक चिकित्साविज्ञहरुलाई प्रयोग गर्ने अवसर सिर्जना गरेको छ। कोभिड-१९ महामारीको पहिलो तरङ्ग आउदा सामुदायिक चिकित्सकहरुले स्वास्थ्य र जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी र रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग सफलतापूर्वक समन्वय गरेर प्रदेश र स्थानीय स्तरमा कोभिड-१९ को केस अनुसन्धान र सम्पर्क ट्रेसिंगको (सीआइसीटी) लागि प्राविधिक सहयोग प्रदान गरेका थिए I क्वारेन्टिन स्थलहरूको निरीक्षण गर्नको लागि समेत सामुदायिक चिकित्साविज्ञहरुलाई जिम्मेवारी दिईएको थियोI नेपालमा कोभिड-१९ महामारीले महामारी निगरानी, डाटा तथा अनुसन्धानमा विज्ञहरुको कमी भएको तथ्य प्रस्ट पारेको छI

सामुदायिक चिकित्साविज्ञहरु यो विषयमा पूर्ण रुपमा तालिम प्राप्त भएको कारणले यो जिम्मेवारी पूरा गर्नका लागि उपयुक्त जनशक्ति हुन्I विशेष गरी कम लचिलो स्वास्थ्य प्रणाली भएका देशहरूमा सामुदायिक चिकित्साविज्ञहरुले महामारी विरूद्ध लड्न निर्णायक भूमिका खेल्न सक्ने छन्। विगतमा नेपालमा भएका इन्फ्लूएञ्जा, हैजा, डेंगु जस्ता विभिन्न महामारीहरुमा पनि सामुदायिक चिकित्साविज्ञहरुले समुदाय स्तरमा खटेर, सर्भेलेन्स प्रणालीमा योगदान पुर्याएर स्वास्थ्य सेवामा रिक्तता भरि महामारीको व्यवास्थापन गर्न अतुलनिय योगदान पुर्याएका छन्। यद्यपि महामारी नियन्त्रण गर्नका लागि सिद्धान्तहरू लागू भए पनि यसको नेतृत्व लिन योग्य क्लिनिकल एपिडेमिलोजिष्टको आवश्यकता छ। यो कमीलाई सामुदायिक चिकित्सकहरुले पनि पूरा गर्न सक्छन्I

हाल जारी कोभिड-१९ महामारीको कारणले सरकारको प्राथमिकता स्वास्थ्य क्षेत्रको पुनर्संरचनामा केन्द्रित रहेको छ। महत्वपूर्ण परिवर्तन भनेको रोग नियन्त्रणको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्रको स्थापना हो जसले रोग नियन्त्रण र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने छI संक्रामक रोग अस्पतालहरू हरेक स्थानीय प्रदेशमा स्थापना गरिने योजना छ। सामुदायिक चिकित्साविज्ञहरुलाई उपयोग गर्न यो एक उपयुक्त संशाधन हुन्छ। नेपाल सरकारले सामुदायिक चिकित्साविज्ञ जनशक्तिलाई निजामती स्वास्थ्य सेवा अन्तर्गत स्थायी दरबन्दी खोल्नुका साथै वर्तमान संघीय संरचनाको उपयोग गरी संघ, प्रदेश र स्थानीय तहमा उचित स्थानमा परिचालन गर्न आवश्यक छ। सामुदायिक चिकित्सामा स्नातकोत्तर (एमडी) कार्यक्रम चलाईरहेका विश्वविद्यालय तथा प्रतिष्ठानहरुले स्नातकोत्तरको पाठ्यक्रमलाई समय सापेक्ष अध्यावधिक गर्न र यो कार्यक्रम नभएका संस्थानहरुले चाँडैनै सामुदायिक चिकित्सामा एमडी सुरु गर्न आवश्यक छ। सन् २०७५ को राष्ट्रिय चिकित्सा शिक्षा ऐन अन्तर्गत राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीले सामुदायिक चिकित्सालाई विशेषज्ञ पढाई हुने विषयको रूपमा मान्यता दिइसकेको अवस्था छI

सामुदायिक चिकित्सालाई जनस्वास्थ्यको एउटा महत्वपुर्ण विषयको रूपमा मान्न सकिन्छ जसले जनस्वास्थ्य र क्लिनिकल मेडिसिनको बिचको ठूलो दुरीलाई कम गर्दछ र सामुदायिक चिकित्सकहरुले यी दुई विधाहरु बीचमा समन्वय गरी योगदान पुर्याउन सक्छन्। कोभिड-१९ जस्तै भविष्यमा आउन सक्ने महामारीहरुको रोकथाम र नियन्त्रणका लागि सामुदायिक चिकित्सकहरुलाई उचित रुपमा उपयोग गर्न आवश्यक छ। यसले एमबिबिएस गरी स्नातकोत्तर (एमडी) गर्न खोजिरहेका डाक्टर जनशक्तिलाइ नेपालमै उपयोग गर्न मद्दत गर्नुका साथै नेपालमा सामुदायिक चिकित्सा विषयको विकाशमा योगदान पुर्याउने छ I

Note: यो लेख प्रथम लेखक (डा प्रनिल मान सिंह प्रधान) द्वारा Health Prospect Journal मा प्रकाशित “Role of Community Medicine experts in the changing epidemiological context of Nepal” लेखबाट लिइएको हो Iswsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्