‘समाचार र विचारको
साझा चौतारी’






२०८ औँ भानु जन्मजयन्ती : यसरी उभिए काँकरभिट्टामा भानु


२९ असार २०७८
झुलन रेग्मी
मेचीनगर । नेपालको पूर्वीद्वार काँकरभिट्टा भाषा तथा साहित्य क्षेत्रको वृत्ति विकासमा सक्रिय छ । साहित्यानुरागीको पहल र प्रयत्नबाट भानुको पूर्णकदको शालिक स्थापना गरिएको छ । छेउमै देवकाटाको शालिक पनि ठडिएको छ ।

भाषा तथा साहित्य क्षेत्रका मुर्धन्य व्यक्तिको सम्झनामा हरेक जयन्तीमा उनीहरुको योगदान र चर्चा गरिरहँदा भाषा, साहित्य र संस्कृतिलाई जीवन्त बनाउन ठूलो सहयोग पुगेको छ ।

यस्ता महान् व्यक्तिहरुको शालिक स्थापना गर्नु चानचुने विषय भने होइन । काँकरभिट्टामा भानुको शालिक राख्न ठूलै मेहनत गर्नुपरेको छ ।

विसं. २०५६ सालतिरको कुरा हो । छिमेकी मुलुक भारतको सिलिगुडी सहरमा भानु जयन्ती भव्य रुपमा मनाइने गरेको खबर आयो ।

काँकरभिट्टा निवासी कृष्णप्रसाद उपेतीलाई उक्त कार्यक्रममा अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । नेपालको प्रतिनिधित्व गर्दै उनी सिलिगुडी गए । कार्यक्रममा उनलाई ठूलो सम्मान दिइयो । किनकि उनी आदिकवि भानुभक्त आचार्य जन्मिएको देशका साहित्यकार भनेर ।

उनलाई त्यो सम्मानले कता–कता ग्लानीबोध पनि गरायो । विदेशमा भानुको कत्रो सम्मान रहेछ, यहाँ भने कहीँ पनि चर्चा छैन ।

त्यसपछि समय बित्दै गयो । २०५९ सालमा मेची भन्सार कार्यालयका निमित्त प्रमुख दुर्गाप्रसाद आचार्यसँगको भेटमा भानुको शालिक स्थापना गर्ने चर्चा भयो । विगत सम्झदै उप्रेती भन्छन्, ‘उहाँले काँकरभिट्टामा भानुको शालिक राखौँ, म सहयोग गर्छु भनेर प्रस्ताव गर्नुभयो ।’

त्यसको केही समयपछि उनै दुर्गाप्रसाद आचार्य अध्यक्ष रहनेगरी भानु प्रतिमा प्रतिस्थापन समिति बनाइयो । उपाध्यक्षको जिम्मेवारी कृष्णप्रसाद उप्रेतीलाई दिइयो । समितिले तत्कालीन बस्ती विकास कम्पनीको जग्गामा प्रतिमा राख्ने प्रताव गर्यो। हाल सोही ठाउँमा भानुको पूर्णकदको शालिक उभिएको छ ।

समितिले जग्गा प्रस्ताव गरेपछि भानुको मूर्ति बनाउने कारखाना खोजी सुरु गर्यो । खोजी गर्ने क्रममा विराटनगरको हिडप्पा नाम गरेको मूर्ति कारखानामा सम्पर्क गरियो । हिडप्पाले पनि बनारसमा मात्रै भानुको मूर्ति बनाउन सक्ने जानकारी गराएको कृष्णप्रसाद उप्रेती बताउँछन् ।

त्यसपछि २०६१ सालमा त्यही हिडप्पाको सहयोगमा समितिका पदाधिकारी बनारस लाग्यो । त्यहाँ एउटा मार्वल कारखाना रहेछ । उक्त कारखानालाई भानुको प्रतिमा बनाउन जिम्मा दिइयो । त्यसबेला भारु १० हजार रुपैयाँ बैना गरेर ६० हजार भारुमा मूर्ति बनाउन जिम्मा दिएर फर्किएको टोलीमा सहभागी मध्येका उप्रेती बताउँछन् । मूर्ति बनाउन दिएपछि बीच–बीचमा उनी तीन पटकसम्म बनारस गइरहे ।

बनाउन दिइएको ६ महिनापछि तयार भएको खबर आएपछि समितिको पहलमा २०६१ साल चैतमा काँकरभिट्टामा भानुको प्रतिमा ल्याइएको हो । ०६२ सालको बैशाख र जेठ महिनामा मूर्ति स्थापना गरियो । त्यसपछि २०६२ असार २९ गते भव्य कार्यक्रम आयोजन गरी भानुको शालिक अनावरण गरिएको थियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे र कमलमणि दीक्षितको बाहुलीबाट भानुको पूर्णकदको शालिक अनावरण गरिएको थियो । पूर्णकदको शालिक आदिकवि भानुभक्त आचार्यको उचाई बराबरको छ ।

भानुको शालिक प्रतिस्थापन पछि भानु साहित्यिक प्रतिष्ठान दर्ता गरी गतिविधि सञ्चालन गरिदै आएको छ । जसको अध्यक्षमा उनै कृष्णप्रसाद उप्रेती चयन भएका थिए । हालसम्म निरन्तर उनै अध्यक्षको जिम्मेवारीमा छन् । प्रतिष्ठानको वर्तमान महासचिवमा यज्ञराज प्रसाई छन् ।
१९ सदस्यीय कार्यसमितिको वर्तमान उपाध्यक्षमा मेदनीप्रसाद खरेल, डिल्लीराम घिमिरे र मोहन उप्रेती, सचिवमा केशवराज पाण्डे र सुशील आचार्य तथा कोषाध्यक्षमा गोपीलाल लिम्बूलगायत छन् ।

प्रतिष्ठान दर्ता भएपछि कवि गोष्ठी, स–साना पुरस्कार वितरण, अक्षयकोष स्थापना गर्ने योजना अगाडि बढाएको पाइन्छ । हालसम्म आइपुग्दा ४० लाखको अक्षयकोष बनेको छ भने छिट्टै ५० लाख पुर्याउने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।

निरन्तर भाषा, साहित्य तथा संस्कृतिको उन्नयनमा सक्रिय प्रतिष्ठानको गतिविधिमा अरु दुईवटा संस्था आएर समाहित पनि भएका छन् । २०७७ साल चैतमा सक्रिय संस्था कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान र हेमराज–मेदनी खरेल प्रतिष्ठान शर्तसहित गाभिएको हो ।

भानुको योगदानलाई जीवन्त राख्न प्रतिष्ठानले भौतिक पूर्वाधारको कामलाई पनि सँगसँगै अघि बढाएको छ । संस्कृति, पर्यटन मन्त्रालयको १४ लाख रुपैयाँ अनुदानमा तीनवटा सटर कोठा भएको एकतले भवन बनेको छ । मेचीनगरबाट ५ लाख, कोठा भाडा वापत ३ लाख, मेदनी खरेल र कृष्णप्रसाद उप्रेतीबाट डेढ÷डेढ लाख गरी जम्मा ३ लाख रुपैयाँ प्राप्त भएसँगै २५ लाख रुपैयाँको लागतमा २ तले भवन निर्माण सम्पन्न भएको छ । भवनको माथिल्लो तलामा प्रतिष्ठानको कार्यालय रहेको छ ।

सँगसगै पुस्तकालय भवन पनि निर्माणको क्रममा छ । प्रदेश १ सरकारको १० लाख रुपैयाँ अनुदानमा भवनको जग हाल्ने काम भएको छ । पुस्तकालय भवनका लागि थप प्रदेश सरकारबाट आएको ५ लाख रुपैयाँले जग हाल्ने काम सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष उप्रेती बताउँछन् ।

पुस्तकालय भवनको छत ढलानका लागि संघीय सांसद कोष अन्तर्गत राम कार्कीबाट १० लाख रुपैयाँ प्राप्त भई निर्माणको चरणमा रहेको छ । भवन निर्माण सम्पन्न गर्न अझै २५ लाख रुपैयाँ लाग्ने अनुमान प्रतिष्ठानले गरेको छ ।

पुस्तकालयलाई अन्तर्राष्ट्रिय स्तरको ई–लाइबेरी सञ्चालन गरी देश तथा विदेशका साहित्यानुरागीका निम्ति अध्ययनको थलोको रुपमा विकास गरिने लक्ष्य राखिएको छ । भानु पुस्तकालयका लागि महेन्द्रद्वार सहकारी संस्थाले पुस्तक तथा फर्निचर अनुदान समेत दिएको छ ।janasamsadonline/from

प्रतिकृया दिनुहोस्