सृजनाको चौतारी

ऊमाको कलम

( आफ्नै कथा )
म अरु साथीहरु भन्दा उमेरमा र शारिरिक रुपमा पनि अलि सानी थिंए । मेरो कक्षाका केटी साथीहरुमा गीता, ललिता, डुम्मर, कृति, ऊमा, नरमांया, दुर्गा, रुकमिणा, सरस्वती साथीहरु थिए (सावित्रा, वसन्ती, अलि पछि आए जस्तो लग्छ )। यी साथी मध्ये रुकमिणा मेरी ठुलो मुमाकी छोरी दिदी अनि ऊमा र म हाम्रो नजिकको नाताले सानिमा छोरी पर्थ्यौं । म उनि भन्दा सानी र साथी नै भए पनि ऊमाले मलाई “सानिमा” नै भनेर बोलाउथिन् ।
तपाईंहरुले पानीमा टांक मसी घोलेर मसी बनाउनु भयो कि भएन?हामी चैं बेला बेलामा टांक मसी पानीमा घोलेर मसी बनाउंथ्यौं ।टांक मसी वट्टाको मसी भन्दा अलि सस्तो पर्थ्यो ।तर बटुकामा राखेर,पानी हालेर घोट्नु पर्ने हुंदा अलि झंझटिलो चाहिं हुन्थ्यो । फेरि पानीको मात्रा मिलाउंन जानेन भने पातलो भएर लेख्दा अक्षर फुलेर धुस्स हुन्थे । अरु बेला टांक मसी हाले पनि जांचको बेलामा चाहिं बट्टाकै मसी ल्याइदिनु हुन्थ्यो घरमा आमाले । तर जांचको बेला स्कुलमा पनि इमरजेन्सीको लागि भनेर होला कलममा मसी भर्न पाइन्थ्यो । हामी पनि मौकाको फाईदा उठांउदै घरमा भएको निब भांचिएको कलममा समेत मसी भरेर राख्थ्यौं ।
अलि पुराना भए पछि कलमको निब कि त भांचिने , कि त निबको टुप्पो कामै नलाग्ने गरी दुई फ्याक हुने गर्थे । पुरानो कलममा नयां निब फेर्न पनि पाइन्थ्यो । तर कहिले काहिं भाचिंएको निबलाई खोलेर, दुबै तिरबाट चिल्लो सिमेण्टमा घोटेर, अलि सानो बनाएर पनि केही समयको लागि काम चलाउ्थ्यौं हामी । अनि दुई फ्याक भयो भने चाहिं निब निकालेर दांतले दुईतिरबाट टोकेर,नजिक ल्याएर पनि काम चलाउंथ्यौं । कलम हरांउने, भेट्ने,निब भाचिंने, घोट्ने, जोड्ने जस्ता घटना हाम्रा लागि नियमित जस्तै हुन्थे । भेटेका कलमहरु प्रायस् निब भांचिएका हुन्थे । सध्दे भेटिए भने त मालामाल भइहालिन्थ्यो।
माथिकी ऊमाको प्रसंग यहां आउंदैछ । यसै क्रममा निकै दिन देखि कलम हराएर स्कुल मै साथीहरु संग कलम मागेर गुजारा चलाई रहेकी थिंए म ।घरमा भनौं भने बुबा आमाको डर । साथीहरु पनि कसै न कसैले दुईटा कलम ल्याएकै हुन्थे । त्यो दिन पनि कसैसंग दुई वटा कलम छ कि भनेर सोधें । म संगै बसेकी ऊमाले “सानिमा म संग छ” भनिन्। त्यसताका अरु सामान्य कलम भन्दा अलि छोटा,गुलावी, हरिया र हल्का निलो रंगका, रबरको पाईप पिच् पिच् पारेर मसी भर्न पनि सजिला कलम चलेका थिए। ऊमाले पनि ज्यामिती बाकस बाट झिकेर मलाई त्यस्तै गुलावी रंगको कलम दिइन् लेख्नलाई । आजलाई ढुक्क भयो। मनमनै संझें ।चौथो घण्टी सम्म लेखेर, पुरानो भैसकेको आफ्नो झोलामा राखेको कलम टिफिन पछि लेख्न खोज्दा त छैन । आपत पर्यो।आफ्नो त कलम हरायो हरायो, अब त ऊमाको पनि हरायो । दिन भरिलाई लेख्न दिएको कलम लास्ट घण्टी पछि माग्लिन भनेर म छिट्टै कक्षाबाट निस्केर घरतिर टाप कसें ।त्यो दिन त टर्यो, भोली के गर्नु ? भोलिपल्ट त स्कुल जानु नै पर्थ्यो । भोलिपल्ट ऊमाले “ सानिमा हिजोको कलम दिनु न” भनिन् । कलम भए पो दिनु । दिनहरु बिते पनि ऊमाले आफ्नो कलम माग्न छाडिनन् ।मैले पनि कहिले “भोलि दिउंला” त कहिले “आज बिर्सें,” र कहिले “तिम्रो कलम खाएर भाग्दिन त” भनेर टार्न थालें । अति भए पछि “हेर ऊमा तिम्रो कलम हरायो, अब मसंग कलम नमाग, म संग जहिले हुन्छ त्यहिले दिउंला “ भने पछि विचरा ऊमाले कलम माग्नै छाडिन् ।
स्कुलबाट बजार जांदा ऊमाको घर बजारको शुरुमै थियो । मुल बाटो उनको घर अगाडि भए पनि घर पछाडि र घर अगाडिको घुम्ती पसल पछाडि बाट पनि बजार जान सकिन्थ्यो । कलम हराए पछि ऊमाको आमा( दिदी ) ले गाली गर्नु होला भनेर बजार जान पनि डर लाग्न थाल्यो । त्यही भएर स्कुलबाट बजार जांदा ऊमाको घर पछाडिको बाटो र घरबाट बजार जांदा घर अगाडिको घुम्ती पसल पछाडिको बाटो भएर हिंड्न थालें म डरले । निकै पछि एक दिन दिदी संग बजारमा भेट हुंदा केही पनि नभन्नु भएकोले ऊमाले उनकी आमालाई मैले उनको कलम हराएको कुरो भनेकी रहिनछन् भनेर ढुक्क भयो । तै पनि कलमको चिन्ता त छंदै थियो ।
किताब बोक्ने झोला पनि पुरानो भैसकेकोले सिला धान खोजेर आएको पैशाले किताब बोक्ने नयां झोला र आफुलाई कलम किन्ने मेरो सपना ऊमाको हराएको कलमले चकनाचुर भयो । जसरी भए पनि ऊमाको कलम त तिर्नै पर्थ्यो ।
मंसिरमा धान काटी सकेर पांजा उठाई सके पछि हाम्रो काम नै सिला धान खोज्ने हुन्थ्यो । दिन भरि सिला धान खोज्दा नरुवाले खुट्टामा पाछेर, बेलुका खुट्टा धुंदा सारै चहर्याउंथ्यो । कुनै बेला त घाउ नै भएर अलि पछि पिप संगै नरुवाका साना छेस्का पनि निस्किन्थे । हामी कहिले काहिं मुसे धान पनि खन्थ्यौं ।मुसाले दुला भित्र लगेको धान खोज्न कोदालोले खन्दा कहिले काहिं त सर्प पनि भेटिन्थे। बाहिर गरामा कत्तिको धान काटेको छ, त्यही अनुसार दुलामा कति धान छ भनेर अन्दाज गर्न सकिन्थ्यो । तर कहिले काहिं जमिन मुनि मुसाको दुलो चारै तिर गएका हुन्थे । अनि त्यस्तोमा निकै बेर लगाएर खन्यो , लास्टमा धान नै नभेटी दुलो टुंगिन्थ्यो भने कतै दुलो फिजारिएको हुन्थ्यो र त्यस्तोमा धान पनि निकै हुन्थ्यो अर्थात दिन भरि सिला धान खोजे जति त एकै छिनमा भेटिन्थ्यो ।कहिले काहिं भने दिन भरि खन्दा पनि हात लागि सुन्य हुन्थ्यो ।
जसरी भए पनि एउटा झोला अनि ऊमा र मेरो लागि कलम किन्ने पैसा जुटाउनु थियो मैले सिला धान खोजेर । बल्ल बल्ल सिला धान र मुसे धानको पैसाले झोला र कलमलाई पैसा पुग्ने अन्दाज भयो । झोला र दुई वटा कलमलाई एघार रुपैंया जति पर्थ्यो । अब त पैसा पुग्छ होला भनेर एक दिन धान बेच्न बजार गएं । यसो कांटामा हालेर वनियांले हिसाब गर्दा १० रुपैंया आउने भयो । अझै एक रुपैंया जति पुगेन । “एघार रुपिंया दिनु न दाइ “ भन्दा “एघार रुपिंयको धानै छैन त कहांबाट दिनु” भन्दै दश रुपैंया भन्दा नदिने भए वनियांले । पैंसा अलि बढी आए त केही खानु पनि हुन्थ्यो भनेको त आफुलाई चाहिएको पैसा पनि नपुग्ने भयो । धान बेचेको पैसा मासिन्छ भनेर बनियांलाई “म धान बेच्दिन” भनेर काटांमा हालेको धान पनि फेरि झोलामा खन्याउन लगाएं । तौलेको धान पनि नबेचेको देखेर वनियां पनि खुब रिसाए ।
केही खान पनि नपाई धानको पोको जस्ताको तस्तै बोकेर घर फर्किनु पर्दा नरमाइलो पनि लाग्यो ।घर आंउदा सिला धान बेच्न बजार गएकी छोरीले धान नबेची फेरि बोकेर आएको देखेर आमाले “किन नबेचेको त धान “ भनेर सोध्नु भो । अनि मैले मेरो र ऊमाको कलम हराएको र झोला किन्ने पैसा नपुग्ने भएर अरु फेरि खोजेर बेच्ने भनेर अहिले धान नबेचेको भनेपछि आमाले “तंलाई पनि कलम किन्नु अहिले धान बेच्नु पर्दैन, पछि बेचेर जे गर्न मन लाग्छ गर्नु” भनेर बाह्र रुपैंया पैसा दिनु भयो ।आमाले पैसा दिए पछि खुसीले म निकै बेर रोएं पनि ।
अनि अर्को हप्ता बजारको दिन ऊमालाई संगै लिएर गएर दुबैजनाले एकै खालका कलम र झोला किन्यौं । मांया मारि सकेको कलम पाए पछि ऊमाले पनि उनकी आमालाई सबै कुरा भनिन्। अनि दिदीले पनि “ लु आईज बुईनी चना चिऊरा खा” भन्दै मलाई उहांहरुकै होटलमा चना चिउरा खुवाउनु भयो। एक रुपैंया जस्ताको तस्तै बांकी नै रह्यो दिदीले चना चिउरा खुवाए पछि । ऊमा पनि खुसी भईन्। उब्रेको एक रुपिंया आमालाई नैं फिर्ता दिए । मलाई झन फाईदै फाइदा भयो। ऊमाको कलमको लागि मेरो सिला धानको पैसा खर्च भएन, आफूलाई कलम पनि आयो र चना चिउरा पनि खान पाइयो।
ऊमा, साइनोले मेरी छोरी, मेरी साथी त्यही सानो, प्यारो मेरो माईती गांऊ झापा,घैलाडुव्वामै छन। भेट नभएको वर्षौं भयो । तर पनि वालापनमा हराएको ऊमाको कलम तिर्न पाएकोमा अझै गर्व लाग्छ आफैसंग, अर्काको सित्तै खानु हुदैन भन्ने कुरामा ।(फेसबुकबाट)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button