सृजनाको चौतारी

पचिसकेको लज्जा

यो लाज पनि लजाएर भुतुक्कै हुने देशमा
तिम्रा गाँडेगर्चे कर्महरु
जतिसुकै समृद्धि पथिक ठाने पनि
आफैं बोक्साबोक्सी
आफैं धामीझाँक्रीले
लाज अँठ्याएर सर्बाङ्ग उदाङ्गो
पारेपछि,
मजस्तै भुतेक्राहरुलाई
न्याय के, निसाफ कतारु
जनमत के, अभिमत कतारु
राजनीति के, नेतृत्व कतारु
मुल्यबृद्धि के, मुल्यांकन कतारु
भ्रष्टाचार के, भ्रष्टाचारी कतारु
यावत् यावत् देहायका पदावलीहरु
यानेकी, तिम्रा मातहतका
अत्यन्त प्रिय कर्म सञ्जालहरु
कसरी पत्तो लाग्न आउलान् र १
यो
लज्जालाई नै भुतुक्क बनाउन सक्ने
शरमलाई बेस्सरी गलाउन सक्ने
तिम्रा प्रिय मस्तिष्क, मन, कर्म
र घतलाग्दा हत्कन्डा
बुझ्नै नसकेर विलखबन्दमा परेका
मजस्ता तमाम दर्शकहरू
यानेकि भुतेक्राहरु
विवश छन् त्यहाँ हेर्न
जहाँ,
लाज, शरम, घृणा, अपमान,
द्वेष, कलङ्क, अस्मिता, आबरु
इज्जतादि पनि हुने गर्छन् भनेर
किञ्चित् फिक्री पनि गरिँदैन
बस्, त्यो नै हो
हामीले मूक भएर हेर्ने
तिम्रो नाफाको उच्चस्तरीय डबली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button