‘समाचार र विचारको
साझा चौतारी’




वरिष्ठ अधिवक्ता उप्रेतीको ‘अन्तर्य: समीक्षात्मक टिप्पणी


हरिहर दाहाल

मित्र हरिप्रसाद उप्रेतीजीले रचना गर्नुभएको ‘अन्तर्य’ नामक पुस्तक पढ्ने मौका पाएँ । सर्वप्रथम ‘अन्तर्य’ नाम किन जुराउनुभएछ भनी घोत्लिन पुगेँ । यो पङ्क्तिकार आफू भाषाविद् नभएकोले ‘अन्तर्य’ भन्ने शब्दको अर्थको बारेमा धेरै जानकारी छैन । तर नेपाली साहित्यमा ‘अन्तर्य’ भन्ने शब्दको प्रयोग भएको देखिन्छ ।

‘अन्तर्य’ संस्कृत भाषाबाट आएको तद्भव शब्द हो । आजकल प्रायः पत्रपत्रिकामा पनि घटना÷परिघटनाको बारेमा समाचार सम्प्रेषित गर्दा र विश्लेषण गर्ने क्रममा ‘अन्तर्य’ शब्दको बहुधा प्रयोग भएको पाइन्छ । ‘अन्तर्य’ भन्ने शब्दको प्रयोग गर्ने लेखकले गहिराइ, अभ्यन्तर वा भित्री पाटो र कुनै–कुनै सन्दर्भको उद्देश्य वा लक्ष्य पनि बोध गर्ने वा विवेचना गरी जानकारी दिने ध्येय राखेको देखिन्छ । त्यसैले हरिजीले जीवनको गहिराइभित्र गएर आफ्ना अनुभूतिलाई लेखबद्ध गर्ने उद्देश्य राखेर साँच्चिकै कुनै भाषाविद्सँग परामर्श गरी आफ्नो पुस्तकको नाम ‘अन्तर्य’ भन्ने जुराउनुभएको देखिन्छ । किनकि यस पुस्तकमा हरिजीले वास्तविकरुपमा आफूभित्रको ‘अन्तर्य’ लाई बोधगम्य तथा सरल ढङ्गबाट वर्णन गर्नुभएको छ ।

प्रस्तुत पुस्तक ‘अन्तर्य’ मा हरिजीले आफ्नो जन्म भएदेखि अहिलेसम्मको जीवनको सजीव चित्रण गर्नुभएको छ । उहाँले आफ्नो बाल्यावस्थादेखि लगभग ६५ वर्षको उमेरसम्म आफूले देखे–भोगेको आफ्नो समाज, राजनीति, तराई मधेस र पहाडको भौगोलिक अवस्थासमेतको चित्रण गर्नुभएको छ । साथै जागिरे जीवनदेखि अहिले आएर आफू कसरी एक कुशल र सक्षम कानुन व्यवसायी बन्न सकेँ भन्ने कुराको पनि उहाँले विशद वर्णन गर्नुभएको छ । त्यसैले यो पुस्तकलाई हरिजीको जीवनकथा मात्र नभएर सामाजिक कथा पनि भन्न सकिन्छ ।

कुनै लेखक कथ्य भाषा प्रयोग गर्न सिद्धहस्त हुन्छन् भने कोही लेख्य भाषा प्रयोग गर्न रुचाउँछन् । वास्तवमा मेरो अनुभवमा कथ्य भाषामा लेखिएको संस्मरण वा आत्मकथा बढी जीवन्त हुन्छ, किनकि कथ्य भाषामा पाठकले पढ्दै जाँदा लेखकसँग तादात्म्यताको अनुभूति गर्न सक्छ । लेखक र पाठकको अन्तर्संवाद पनि हुन्छ । त्यसैले हरिजीले कथ्य भाषामा लेख्नुभएकोले यो पुस्तक आम पाठकको निमित्त रुचिकर हुने देखिन्छ ।हरिजीको यो पुस्तकमा ४ वटा खण्डहरु छन् । जसमा खण्ड (१) मा जीवन र जरा शीर्षक राखी आफ्नो जन्मदेखि हजुरबुबा, हजुरआमा, बुबा, आमामा राखिएको नामको अक्षयकोष स्थापनाको बारेमा वर्णन गर्नुभएको छ । खण्ड (२) मा राजनीतिक परिवेश भन्ने शीर्षक राखी आफ्नो राजनीतिक आस्था, दलीय संलग्नताको उल्लेख गर्नुभएको छ । खण्ड (३) मा वकालत र न्यायपालिका भन्ने शीर्षकको अध्यायमा आफूले वकिल बन्न गरेको संघर्ष र न्याय दिलाउन गरेका आफ्ना क्रियाकलापको मात्र वर्णन गर्नुभएको छैन, अपितु न्याय क्षेत्रमा विद्यमान विकृति र विसंगतिको यथार्थ चित्रण गर्नुभएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्तर्यको बारेमा चर्चा गर्ने क्रममा धर्म निरपेक्षता कसरी २०६३ साल जेष्ठ ४ को प्रतिनिधिसभाको घोषणामा समावेश गरिएको रहेछ भन्ने तथ्यगत विवरणलाई हरिजीले प्रकाश पार्नुभएको छ । जनआन्दोलनबाट जनादेश नहुँदा पनि सुवास नेम्वाङले धर्म निरपेक्षता कसरी प्रतिनिधिसभाको घोषणामा समावेश गर्न सफल हुनुभयो भन्ने कुरा उल्लेख गर्दै हरिजीले धर्म निरपेक्षतासँग जोडिएको सुवास नेम्वाङको भूमिकाका बारेमा समेत राम्ररी वर्णन गर्नुभएको छ । त्यसै गरी खण्ड (४) मा नित्य÷अनित्य शीर्षकअन्तर्गत विविध विषयहरु समेटिएका छन् । त्यसमा ‘दरबार हत्याकाण्ड’, ‘द्वन्द्वको पीडा’, ‘गुरुदेवको गुलाव’, ‘म’ हरु जस्ता अध्यायहरुमा अभिव्यक्त भएका कुराहरु निकै घत लाग्दा छन् ।

समग्रमा पुस्तक पढ्दा हरिजीले कुनै व्यक्तिहरुको बारेमा उल्लेख गर्दा नडराई स्पष्टतापूर्वक अभिव्यक्त गर्नुभएको छ । आफ्नो आस्था भएको दलका नेताप्रति पनि तिखो टिप्पणी गर्नुभएको छ । वास्तवमा पुस्तक लेखकले लेख्ने क्रममा चपाइएर लेख्न खोज्यो भने यथार्थता बाहिर आउँदैन । त्यसैले हरिजीले जे अनुभूति गर्नुभयो, सोही अनुसार साहसपूर्वक उल्लेख गर्न सक्नु नै यो पुस्तकका लेखकको विशेषता हो ।
‘मेरा कमजोरीहरु’ नामक शीर्षक अध्यायहरुमा हरिजीले आफू नेपाल बार एसोसिएसनको अध्यक्षको उमेद्वार हुन नपाएको असन्तुष्टि वा पीडालाई पनि नलुकाई भन्नुभएको छ । ‘अचेतन मनमा त्यो असन्तुष्टि भने लुकिराखेकै जस्तो लाग्छ’ भन्ने शब्दसमेत उल्लेख गर्नुभएको रहेछ । तर उहाँले भन्नुभएको छ, ‘मैले जीवनमा जे–जति परिप्राप्ति गरेको छु त्यो परिप्राप्तिमा धेरै जनाको सद्भाव र सहयोग रहेको ठान्दछु ।’ पुस्तकमा हरिजीको यो उदात्त भावना पनि मुखरित भएको छ ।

हरिजीले सूक्ष्मरुपमा आफूले भोगेको घटनाको चित्रण मात्र गर्नुभएको छैन, अपितु प्रत्येक घटनासँग जोडिने पात्रहरुको नामसमेत उल्लेख गर्नुभएको छ । आफूलाई विभिन्न समयमा पढाउने शिक्षकहरु तथा आफूसँग पढेका सहपाठीदेखि लिएर आफूले विभिन्न कालखण्डमा सङ्गत गर्नुभएका साथीहरुको नामसमेत स्मरण गरी लेख्न सक्नु पनि उहाँको लेखन शैलीको वैशिष्ट्य हो । हरिजीले रचना गर्नुभएको पुस्तकमा समाहित सामग्री नयाँ पिँढीका निमित्त प्रेरणादायी हुनुको साथै जसले आफ्नो आत्मकथा तयार गर्दै हुनुहुन्छ, उहाँहरुसमेतलाई प्रेरित गर्न सहयोग गर्न सक्ने मेरो विश्वास छ ।

अन्त्यमा, स्वस्थानी व्रतको साङ्गे भएकै दिन हरि उप्रेतीजीकी आमालाई प्रसूति व्यथा लागेको र सोही समयमा पञ्चामृत खाएपछि हरिजीको जन्म भएको अपूर्व संयोग भान्नुपर्छ । यसरी गर्भमा नै पञ्चामृत खानुभएकोले हरिजीको वचन र कर्म सदैव दिव्य पञ्चामृतजस्तै भइरहोस् । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले हरिजीलाई ‘माचो म्यान’ को संज्ञा दिनुभएजस्तै उहाँको आकर्षक व्यक्तित्व सदैव रहन सकोस्, यही शुभकामना छ । हरेक कुराले हरिजीको यो ‘अन्तर्य’ पुस्तक पठनीय रहेको मेरो अनुभूति रहेको छ।

(समीक्षक दाहाल वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)newsofnepal/from

 

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्