
एजेन्सी – दोस्रो हाफमा एमेरिक लापोर्टाले गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी हारबाट जोगिएको छ ।
सिटी घरेलु टोली साउथह्याम्टनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेन्ट मेरिस स्टेडियमा ह्याम्पसायरमा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि केल वाल्कर पिटर्सले गोल गर्दा सिटीका एमेरिक लापोर्टाले बराबरी गोल फर्काएका थिए ।
सातौ मिनेटमा नै केल वाल्करले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले नाथन रेडमन्डको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई घरेलु टोलीले जोगाउन सकेन ।
६५औं मिनेटमा एमेरिक लापोर्टाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले केभिन डि ब्रुएनको पासलाई सदुपयोग गरेका थिए । घरेलु टोलीविरुद्ध ७४ प्रतिशत बल पोसेसन राखेपनि सिटीले त्यसपछि गोल भने गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यो बराबरीसँगै शीर्षस्थानको रहेको सिटीको २३ खेलबाट ५७ अंक पुगेको छ । सिटी दोस्रो स्थानको लिभरपुलभन्दा १२ अंकले अघि छ । लिभरपुलले दुई खेल कम खेलेको छ । साउथह्याम्टन २२ खेलबाट २५ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
अर्काे खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडमाथि १–० को कठिन जित निकालेको छ । युनाइटेड जितमा इन्ज्युरी समयमा मार्कुस रासफोर्डले गरेको गोल निर्णायक बन्यो । उनले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसअघि प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन सकेन । यो महत्वपूर्ण जितसँगै युनाइटेड २२ खेलबाट ३८ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । पराजित वेस्ट ह्याम २३ खेलबाट ३७ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।hamrokhelkud/from



