मूल खबरस्वास्थ्य

‘ओमिक्रोन महामारी अन्त्यको शुभ संकेत’

काठमाडौँ
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र यसले युरोपमा कोरोना महामारीको अन्त्य हुन सक्ने विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक हान्स क्लगले बताएका छन्। मार्च अन्त्यसम्म ६० प्रतिशत युरोपेलीमा ओमिक्रोन संक्रमण हुने बताउँदै उनले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘युरोप महामारीको अन्त्यतिर उन्मुख देखिन्छ।’

युरोपभर हाल फैलिरहेको ओमिक्रोनको संक्रमण घटेपछि केही साता र महिनामा विश्वव्यापी रूपमा यो भाइरसविरुद्धको प्रतिरक्षा बढ्ने उनको दाबी छ। खोप तथा रोगको संक्रमणपछि प्राकृतिक रूपमा विकास भएको प्रतिरोध क्षमता तथा मौसमका कारण यो सम्भव हुने उनको तर्क छ। ‘केही समयको शान्तिपछि यो वर्षको अन्त्यमा कोभिड–१९ फेरि देखिन सक्छ तर महामारीकै रूपमा होेइन,’ उनी थप्छन्।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि आइतबार यस्तै धारणा व्यक्त गरेका थिए। एबिसी न्युजलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकाको धेरै भागमा ओमिक्रोनको संक्रमण ह्वात्तै घटेको छ र यसले शुभ संकेत दिएको छ।’

अत्यधिक आत्मविश्वासी हुन नहुने बताउँदै उनले अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा देखिएको संक्रमणको कमजोर दर देशभर देखिएमा स्थिति अत्यन्त सुखद हुने दाबी गरेका छन्। दक्षिण अफ्रिकामा रहेको विश्व स्वास्थ्य संगठनको कार्यालयले गत साता कोभिड–१९ को केसमा ह्रास आएको र मृत्युको संख्या पनि घटेको जनाएको थियो। यसअघिको डेल्टा भेरियन्टभन्दा ओमिक्रोन कम खतरनाक मानिएको छ।

यसले यो रोगलाई महामारी (पान्डेमिक) बाट स्थानीय रूपमै व्यवस्थापन गर्न सकिने तथा मौसमी रूपमा देखिने स्थानीय रोग(इन्डेमिक) को रूपमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक क्लग कोभिड–१९ महामारीको अन्त्य हुने विषयमा तत्काल हतार गर्न नहुने बताउँछन्। ‘कोभिड–१९ इन्डेमिक रोगमा रूपान्तरण हुने विषयमा धेरै चर्चा भएको छ। इन्डेमिक रोग कसरी विकास हुन्छ भनेर भविष्यवाणी गर्न सकिन्छ।

तर यो भाइरसले हामीलाई धेरै पटक छक्याएको छ, त्यसैले यो भाइरसको बारेमा हामी सावधान हुनुपर्छ,’ उनी भन्छन्। विश्वव्यापी रूपमा ओमिक्रोन फैलिएको पृष्ठभूमिमा अन्य भेरियन्टको विकास हुन सक्ने उनको तर्क छ। (गार्जियन)nagariknews/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button