काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार उपचार नपाएर निधन भएका पत्रकार एलबी विश्वकर्माको निधनमा सिभिल अस्पताल मुख्य दोषी रहेको बताएको छ।
महासंघले गठन गरेको अध्ययन समितिको प्रतिवेदनले सिभिल अस्पताल मुख्य दोषी देखाएको हो।
यस्तो छ महासंघको अध्ययन समितिको निष्कर्ष
-पत्रकार एल.बी विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्यकारण देखिन्छ। नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको छ। यसकापछि पाटन अस्पतालको समेत लापरवाही देखिन्छ।
– स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो। तर, अरुको अधिकारकोलागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद हो।
– यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हुने महासंघको ठहर छ।
– महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ।
– कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरु संक्रमणको जोखिमका बीच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय छन्। तर, पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको छ। महासंघले अग्रपंक्तिमा रहेर खटिरहेका पत्रकारहरुको स्वास्थ्य उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्दछ।
– महामारीका बेला हरेक नागरिकको निःशुल्क स्वास्थ्य उपचार गर्नु सरकारको दायित्व हो । सर्वोच्च अदालतले कोभिड–१९ बाट संक्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न ०७७ असोज १५ गते आदेश समेत जारी गरेको सन्दर्भमा महासंघ महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ।
– सर्वसाधारण नागरिक सरकारी तथा निजी जुनकुनै अस्पतालमा उपचारका लागि पुगेपनि पहिला उसको बाँच्न पाउने हकको सुनिश्चितता राज्यले गर्नुपर्दछ। नागरिक अगुवा संगठन समेत भएको हिसावले पत्रकार महासंघ यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।
– सरकारले सरकारी अस्पतालमा पटक–पटक पत्रकारहरुको निःशुल्क उपचार हुने भनी घोषणा गरेपनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको अवस्था छ। घोषणा गर्ने मात्रै होइन, त्यसको व्यवहारिक कार्यान्वयनकालागि महासंघ सरकारसँग आग्रह गर्दछ।
– टिभी टुडेसहित सञ्चार प्रतिष्ठानहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफना कर्मचारी पत्रकारहरुलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकुल पारिश्रमिक पूनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले ब्यवस्था गरे अनुसारको सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघ आग्रह गर्दछ। साथै, यसविषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।
– पत्रकारहरुको हकहितका लागि काम गर्ने संस्था नेपाल पत्रकार महासंघ नै हो। तर, पत्रकार विश्वकर्माले आफ्नो स्वास्थ्य र आर्थिक अवस्थाबारे महासंघलाई जानकारी नै नगराएकाले महासंघले आफूलाई परीक्षण गर्ने मौकासमेत पाएन। पत्रकार विश्वकर्माको जीवन बचाउने सन्दर्भमा कुनैपनि भूमिका खेल्नबाट बञ्चित भएकोमा महासंघ दुखी छ।
– यदि कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या छ भने पत्रकार महासंघको सम्पर्कमा आउन महासंघ आग्रह गर्दछ । महासंघलाई जिम्मेवारीवोध गराउन र पत्रकारको हकहितका लागि निरन्तर परीक्षणको मौका दिन घच्घचाउने काम गरिरहनु आग्रह गर्दछ।
– महासंघ स्वर्गीय पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। साथै, भविष्यमा पर्न आउने समस्याकालागि थप योगदान र सक्रियताकालागि प्रतिवद्ध छ।
– मृतक पत्रकार विश्वकर्मासँग आश्रित परिवार (श्रीमती र साढे ३ वर्षको छोरा) को हेरविचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाईको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई महासंघ आग्रह गर्दछ।Ratopati News



