खबर

नेपालकै पहिलो स्काइ ब्रिज सञ्चालनमा

दुर्गाप्रसाद शर्मा
पर्वत ।

नेपालमै पहिलो पटक सिसैसिसाको पुल(स्काइ ब्रिज) सञ्चालनमा आएको छ । पर्वतको कुस्मा बजारमा काली गण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज सोमबार देखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।

हार्नेस जिपलाईन प्रालि कुस्माले टिकटक पारखीहरुका लागि लक्षित गरेर मुलुकमै पहिलो पटक स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयो । काली गण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ्ग देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ ।

एक पटकमा १ सय जना सम्मले स्काईब्रिजको मज्जा लिन सक्ने बस्नेतले जानकारी दिनुभयो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ। ‘हामीले सिसाको पुल नेपालको लागि पहिलो पुल बनाएका हौ’ बस्नेतले भन्नुभयो ‘अहिले युवाहरुको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौ।’

अहिले निर्माण भएको छोटो स्काई ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताउनुभयो । स्काईब्रिज विश्वकै दोस्रो लामो सुपर म्यान जिप लाइन र विश्वकै दोस्रो अग्लो बन्जी तथा विश्वकै अग्लो स्विङ सँगै छ ।

हार्नेस प्रालिले कुस्मा बजारमा नै पहिलो पटक प्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबार देखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको बस्नेतले जानकारी दिनुभयो ।

कम्पनीले यस अघि विश्वकै दोस्रो लामो सुपर म्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जीपलाईनमा बालबच्चा देखि ८० बर्षे बृद्ध सम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँहरूबाट पनि धेरै पर्यटकले जिप लाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो ।

‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जिप लाइनमा केही कम डर लाग्ने अनुभव जिप लाइनमा बगेकाहरुले सुनाएका छन्। जिप लाइनप्रति उनीहरूको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ’उहाँले भन्नुभयो ।

जिलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ। काली गण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिप लाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा काली गण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिप लाइनको ल्यान्डिङ हुन्छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button