मूल खबर

किरियामा बुहारीलाई समावेश गरिएन

मेचीनगर । मेचीनगर–१० का सूर्य प्रकाश कडरियाले १७ वर्षअघि अन्तरजातीय बिहे गरेका थिए, रञ्जु ल्वागुन (विश्वकर्मा) सँग । दलितसँग विवाह गरेका कारण परिवारबाटै बहिष्करणमा परेका सूर्य प्रकाशकी ७२ वर्षीया आमा दिलमायाको गत जेठ ८ मा मृत्यु भयो ।

सासूको मृत्युपछि बुहारी रञ्जुले धार्मिक विधिअनुसार काजकिरिया गर्न पाएकी छैनन् । परिवार र समाजका ठूलाठालुले उनलाई किरिया बस्न रोक लगाएका हुन् । आमाको मृत्युपछि सूर्य प्रकाशलाई पनि पाँच दिनसम्म काजकिरियामा निषेध गरिएका थियो । तर, बुहारी रञ्जुले ढिकुरो फोरेर भत्काइदिने चेतावनी दिएपछि बल्ल श्रीमान्लाई चाहिँ किरियामा सामेल गराइएको थियो । उनलाई त मूलघरमा ढिम्किनै दिइएको छैन । ‘जेठाजु जीवन कडरियाले यो कामीसँगै बसेर आमाको काम गर्नुपर्छ भने म सामेल हुन्न भने’, बुहारी रञ्जुले सुनाइन्, ‘मेरो श्रीमान् पाँच दिनसम्म अलग्गै कोरामा बस्नुभयो ।’

७ दाजुभाइमध्ये सूर्य प्रकाश कान्छा छोरा हुन् । ६ भाइले सँगै बसेर खान्छन् । बुहारीलाई घर पर्तिरको केराबारीमा राखेर खाना दिइन्छ । ‘कुनै पनि धार्मिक विधिमा सामेल नै गराइएको छैन,’ रञ्जुले भनिन्, ‘दलितसँग बिहे गरेकालाई समावेश गरिएको भनेर दुई तीन पटक पण्डित उठेर हिँडिसके ।’

मूलघरमा प्रवेश नदिए पछि रञ्जुले विगत ११ दिनदेखि घरमै सासूका किरिया कर्म गरिरहेकी छन् । समाज र परिवारको मिलेमतोमा भएको विभेद सहन नसकेपछि उनी बुधबार कोराकै पोसाकमा उजुरीका लागि इलाका प्रहरी कार्यालय धुलाबारी पुगेकी थिइन् ।

प्रहरी कार्यालय पुगेको थाहा पाएपछि परिवारका सदस्यले उनलाई किरियामा समावेश गर्ने आश्वासन दिएपछि उनी उजुरी नगरी फर्किएको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक अनिल मावोहाङले जनाए । तर, जब घर पुगिन तब उस्तै व्यवहार सहनुपर्‍यो । ‘फेरि घरमा ढिम्किनै दिएनन्,’ उनले दुखेसो पोखिन्, ‘म हैरान भएर बसेकी छु ।’

वडाध्यक्ष खनालले परिवारले किरियामा समावेश गर्ने भन्ने जानकारी पाएपछि आफूले कुनै कानुनी एक्सन नलिएको जनाए । झापाका एसपी विश्वमणि पोख्रेलले जातका आधारमा कुनै पनि धार्मिक या सांस्कृतिक कर्ममा विभेद गर्न नपाइने कानुनी व्यवस्था रहेको भन्दै त्यस्तो गरिएको पाइए कारबाही गर्न सकिने जनाए । कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button