
कविता
‘भाले खाऊँ’ भन्नू र
‘खाऊँ भाले’ भन्नू उस्तै उस्तै हो
अप्रतिम कालेहरुका लागि ।
कालेहरुको मिल्दोजुल्दो कायामा,
मायामा, मनमा, तनमा र सिद्धान्तमा
नेपाल छ, नेपाली छ
र, त्यो व्यापक छ ।
सुदूर पूर्व मेचीदेखि फैलिएको
सुदूरपश्चिमसम्मको नेपालयभित्र
सहर्ष विचरित जाज्वल्यमान तथा
उदीयमान
कीर्तिमानी कालेहरु मिलेका छन् ।
‘तारगेट्’ भाले हो,
केवल खाइलाग्दो भाले ।
दीन(दुःखी)का सपना बहने
अविरल खोलामा जाल हान्नु,
प्रकृतिको हरित सम्पत्तिमाथि हात लम्काउनु,
जन(अभिप्राय निधिमाथि जरा गाड्नु ,
गिट्टी मट्टीदेखि ताल तलैयासम्म
ओथारे पोथीझैँ छोपेर बस्नु
कालेहरुको इहलौकिक कर्तव्य हो ।
आफ्नै कर्तव्यमा वशीभूत कालेहरु
खाइलाग्दा भालेमा द्रवीभूत भएर
कन्सिरी कन्याउँदै, सरम पचाउँदै
र, नाफाको उच्चासनको सर्त समाउँदै
एकै ठाउँमा गोलाकृत हुन्छन् ।
कालेहरुको गोलाकार वृत्तभित्र
न हँसियाहथौडा, न सूर्य, न रुख,
न तारा, न सारा प्रकृति
न त नेपाल तथा नेपाली मान छ,
छ त केवल, सिरिफ एक
नाफामय खाइलाग्दो भाले ।
‘जय भाले’



