एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत टोटेनहम हट्सपरले बुधबार स्थानीय शिर्ष डिभिजन लिग, के लिगको अल स्टार टिमलाई ६-३ ले पराजित गरेको छ ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा ह्यारी केन र ह्युङ मिन सनको आगमनपछि स्पर्सले लगातार गोल गरेको थियो । दुवै स्टार फरवार्डले २-२ गोल गरे । टोटेनहमका लागि अर्को गोल एरिक डाएरले गर्दा एक गोल आत्मघाती भएको थियो । कोरियाली टोलीका लागि गुए-सुन चो, लार्स भेल्द्विक र जुन अमानोले १-१ गोल गरे ।
खेलको ३० औं मिनेटमा डाएरले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा सुन चोले हेडर मार्फत स्कोर बराबरी गरे । दोस्रो हाफको सुरुवातमा केनको क्रसलाई क्लियर गर्ने धुनमा जिन-ह्योक किमले आफ्नै पोस्टमा गोल गरे । तर ५ मिनेट नबित्दै भेल्द्विकले पेनाल्टी क्षेत्र बाहिरबाट सहजै गोल गरे ।
५४ औं मिनेटमा केनले दायाँ खुट्टाले गोल गर्दै स्पर्सलाई अघि बढाए । ६८ औं मिनेटमा सनले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । तर अमानोको फ्रिकिक गोलले गोलअन्तर १ मा झर्यो । त्यसपछि केन र सनले १० मिनेटको अन्तरमा गोल गर्दै फराकिलो जित सुनिश्चित गरे ।
टोटेनहमले प्रि-सिजनमा पहिलो मैत्रीपूर्ण खेल खेलेको हो । टोलीले अब कोरियामा नै सेभिल्लाको सामना गर्नेछ । यस सिजन च्याम्पियन्स लिग खेल्ने टोलीले हालसम्म ५ खेलाडी अनुबन्ध गरिसकेको छ । बुधबारको खेलमा ब्राजिलियन फरवार्ड रिचार्लीसनले डेब्यु गरेका थिए । यभ्स बिसुमा, फ्रेजर फोस्टर, इभान पेरिसिच र क्लेमेन्ट लेंगलेट पनि यसै सिजन भित्रिएका हुन् ।हाम्रो खेलकुदबाट ।



