इतिहासमा नलेखिएका कुरा


केशव अधिकारी
नेपालको इतिहासमा वि.सं. १९०३ देखि राणा शासनको शुरुवात भएको थियो । २००७ साल फागुन ७ गते राणा शासन अन्त्य भएको औपचारिक घोषणा भएको दिन मानेर विगत पञ्चायती कालमा समेत यस दिनलाई नै प्रजातन्त्र दिवसको रुपमा मनाउने चलन चलेको थियो ।

सय वर्षभन्दा बढी कायम रहेको राणा शासन देशको चौतर्फी विकासको लागि बाधक ठानिएको थियो । राणा शासनकै कारण त्यति लामो समयसम्म देशको विकासको काम ठप्प भएको आरोप राणा शासनमाथि लाग्ने गरेको मात्र नभई केवल इतिहासको सामान्य अध्ययनबाट पनि यही कुरो थाहा लाग्न पुग्छ ।

राणा शासनको अन्त्य भएर केही समय देशमा प्रजातन्त्र आयो भनिएको भए पनि तत्कालीन राजा महेन्द्रले देशमा एक दलीय अर्थात् निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । यसो हुनाले राणा शासनकालपछिको कालखण्डमा पनि जनअपेक्षित देशको उन्नति हुन नसकेको भनेर राजा महेन्द्रमाथि दोष पन्छाउने चलन रहेको छ ।

स्कुल तहको पढाइका क्रममा इतिहासका केही नकारात्मक घटनाहरू केलाइएका प्रसङ्गहरूसमेतको अध्ययन गर्दा राणा शासनकालभरिको देशको उन्नतिको बाधक राणा शासक, त्यसपछिको बाधक भनेको निरङ्कुश एकदलीय पञ्चायती व्यवस्थाले गर्दा हो भनेर घोक्नु अनि सम्झेर इतिहासको परीक्षाको बेला पढ्ने बानी बसेको थियो ।

तर विडम्बना के भयो भने, २००४ सालतिर भारतमा केही नेपाली नेतृत्वका मान्छे जम्मा भएर खोलेको काङ्ग्रेस पार्टीका कमजोर निर्णय र शासनका कारणले पञ्चायती कालपछिका केही दशकमा पनि देशको अवस्थामा कुनै तात्विक भिन्नता आएको पाइँदैन । ती दुवै समयमा शासनको कुरामा केही उल्टोपाल्टो वा फेरबदल अवश्य भए होलान् तर नेतृत्व गर्ने राजनीतिक दलका नेताहरुका धनका मोहले होस् कि अविवेकी सोच र कर्मले होस्, यो देशको उन्नतिको खुट्किलोमा खासै तात्विक भिन्नता आएको महसुस हुन सकेन ।

त्यस कमजोर पक्षको कारणले गर्दा विकास वा उन्नतिको घोडेदौडमा दौडनुपर्ने यो सानो र सुन्दर देश दौडन त परै रहोस् पाइला चालेर हिँड्नसमेत सक्ने अवस्थामा रहेन । राणा शासन हटाउने नाममा भए भनिएका विभिन्न चरणका आन्दोलनपश्चात् तत्कालीन नेपाली काङ्ग्रेसका आम कार्यकर्ताको नकारात्मक सोच र तदनुसारकै व्यवहारले गर्दा कुनै गतिलो र धेरैभन्दा धेरै जनले सुविधा भोग्न पाउने कामको प्रथम थालनीसमेत गर्न असमर्थ नै रहे । यो असमर्थताको खास चुरो कुरो के रहेको छ भने, उनीहरू लाखौँ नेपाली जनताको हितको विषयमा भन्दा पनि मुठ्ठीभर शासकहरुका चिल्ला र मीठा गफमा भुलेर रहे ।

उनीहरूसँग देश विकासको कुनै बलियो र प्रभावकारी योजना बन्नै सकेन । आम जनताले आशा र भरोशा राखेका व्यक्तिहरू सबैजसो चाकडिया दिमागले भरिएका हुन थाले ।नेपालको थालनीको राजनीतिदेखिकै इतिहास हेर्दा के देखिन्छ भने, राजनीतिक कौशल, आम जनताका चाहना, देशको वर्तमानको जल्दोबल्दो आवश्यकता आदिजस्ता संवेदनशील कुरा एकातिर पाखा लागेर जान थाले । नेतृत्वमा पुग्नेको राजनीतिक कुशलताको कसी भनेको फलानो वा अमुक व्यक्ति अथवा यति वर्ष जेलजीवन बिताएको भनिने खालका प्रमाणहरू पेस गर्ने सिस्टम बस्दै जान थाल्यो ।

त्यस कालखण्डपछिका हरेकजसो राजनीतिकर्मीको नापजोखको कसी भनेको पनि उसले भोगेको जेलजीवन नै प्रमुख सूत्र बन्यो । चाहे अरु कुनै अपराध गरेर अपराधी बनेको व्यक्ति किन नहोस्, जेलजीवन र त्यसमा पनि अलि धेरै समयको जेलजीवनको भोगाइको प्रचारले आम जनताको आफूप्रतिको सहानुभूति बढाउने काममा सहयोग पु-यायो । तर आम जनताले उसलाई आदरणीय नेता वा त्यत्रो वर्ष जेलजीवन बिताउन सक्ने र आम जनताका मुक्तिका लागि लड्ने यो मान्छे चानचुने त्यागी मान्छे होइन, यसैको पछाडि लागेर जान सकियो भने यसले पक्कै गन्तव्यमा पु-याउँछ भन्ने आशा र भरोशाका साथ हजारौँ जनता उनीहरुलाई भित्रैदेखि विश्वास गरेर त्यही बाटोमा स्वस्फूर्तरुपमा लागेका थिए ।

तर बीचैबाट धोका दिने नेतृत्ववर्गको प्रवृत्तिबाट वाक्क भएको जनमानसले एकपटक त पत्याउनसमेत छोडेकै थियो । निरङ्कुश राणा शासनको चेपारोमा परेका नेपाली जनताले पटक–पटक निराश बन्नुपर्ने अवस्था आयो । यसको मतलब शासक आम जनमानसको भावना समेटेर काम गर्न असफल नै साबित भइसकेको थियो भन्दा फरक पर्दैन । यसरी राजनीतिमा असफल बन्दै गएका तर आम जनतालाई ठगेर त्यस्तै ठग्ने काममा सिपालु बन्दै गएका अग्रजबाट आजको राजनीतिसँग जोडिएका धेरै व्यक्तिहरू प्रशिक्षित बन्न पुगे ।

यसरी प्रशिक्षित बन्नेहरुले इमानदारिता, सत्चरित्रता, सदाचार आदिजस्ता कुरा बिस्तारै गुमाउँदै गए । उनीहरुले अरु कुनै कुराको स्वार्थ नराखी साँचो राजनीति गर्न सकेका भए आजको नेपालका विभिन्न अवस्थाहरू यस विन्दुभन्दा धेरै नै माथि पुग्ने थिए ।भर्खर आजका पुस्ताले राजा र राणा विकासका बाधक भन्दै आफू भ्रष्टाचारको आहालमा पौडी खेलेर आफ्ना दरसन्तानका लागि धन थोपर्ने यिनको सक्कली रुप तथा नक्कली अफवाहलाई नियालेर चिन्न खोज्दै छन् ।

उनीहरूको सक्कली हर्कत हेरिँदै छ । यस्ता हर्कतले चरम विन्दुतिरको उकालो बाटो समात्दै छ । चरम विन्दुमा पुगेर विष्फोट हुने बेलामा मात्र यिनका चेत खुल्नेछ । अब म यति वर्ष जेलजीवन बिताएको नेता भनेर ठगी गर्ने दिन सकिँदै गएका छन् । अबका पुस्ताले आश्वासन बाँड्नेका आश्वासनमा फसेर होइन कि उसले गएर आफ्नो कार्यक्षेत्रमा गरेका कामलाई बढी विश्वास गर्नेछन् ।

त्यो जरुरी कुरा पनि हो ।दक्षिण एसियाको सात वा सार्क राष्ट्रमध्ये हरेक क्षेत्रको उन्नति–प्रगतिको क्षेत्रमा अग्रस्थानमा रहेको, शिक्षाको प्रतिशत सबैभन्दा उच्च रहेको, समुन्द्रको बाटो भएको, पौराणिक कालमा सुनले धपक्क बलेको श्रीलङ्कालाई राजपाक्षका सन्तान–दरसन्तानले जसरी टाट पल्टाएर त्यहाँका जनताको हमलाबाट आफैँ लखेटिनुपरेको छ, नेपालमा पनि त्यो दिन निकै नजिक आएजस्तो लाग्न थालेको छ । देशको सम्पत्ति लुट्नु भनेको देशद्रोह हो ।

देशद्रोह गर्ने मान्छे देशद्रोही वा अपराधी हो । त्यस्ता अपराधीले उचित सजायको भागी बन्नुपर्छ भन्ने आम न्यायपे्रमी मानिसको सोच हुन्छ । यसै सोचको आधारमा सत्ताको साँचो हातमा लिएर जनतामारा काम गर्ने कसैलाई पनि उचित सजाय दिनको लागि अब आम जनता एकजुट भएर सडकमा ओर्लन बाध्य बन्नुपरेको छ ।

धनमोह एवं आपराधिक मानसिकताले ग्रस्त भई विभिन्न राजनीतिक दलको नाम राखेर त्यसैको छहारीमा बसी गरिब जनताको पसिना र रगतमा होली खेल्न पल्केकाहरुका दिन नराम्ररी बिग्रिएका छन् । यदि यी बिग्रेका दिनलाई सुधारको बाटोतिर हिँडाउन कुनै प्रयास भएन भने इतिहासमा नलेखिएको त्यो विषय अबको नयाँ इतिहासमा जरुर लेखिनेछ ।हाम्रो देशमा राजनीति गर्ने हरेक व्यक्तिले मभन्दा ठूलो वा महान् मान्छे शायद कोही होला र ? भन्ने साँघुरो सोचाइको घेराभित्र रहेर आफ्ना अभिव्यक्ति दिइरहेको हुन्छ ।

जब उसले भनेको कुरो असत्य हो वा झुट हो भनेर दुनियाँलाई थाहा हुन्छ तब पनि उसलाई कुनै प्रकारको पछुतो वा आत्ग्मलानि भएको पाइँदैन । त्यस्तै मूर्ख मान्छेहरुको भीडले घेरिएर निसासिँदो अवस्थामा बाँचेको छ सिंहदरबार अनि त्यहाँको वातावरण पनि । इतिहास लेख्नेलाई दोष दिनु यो लेखको आशय होइन।

बिचरा बबुरो इतिहासकार शासकका अगाडि डुहुरे मुसो पनि नभनौँ, डुहुरे मुसोले त कपडा काट्ला कि भनेर अलिकति सतर्क हुन्छ नै मान्छे, तर झिँगाको कसलाई के डर ? जाबो झिँगो कपडामा बस्छ, खुट्टा मडार्छ अनि केही गर्न नसकेपछि उडेर अर्को उपाय खोज्नतिर लाग्छ ।

यदि शासकजत्तिको शक्तिशाली इतिहासकार भैदिएका भए, उनीहरुले राजा वीरेन्द्रको वंश विनाश हुने गरी मच्चाइएको नरसंहारको दोषी आजसम्म खुल्ला छाती पारेर स्वतन्त्रसाथ कहाँ हिँड्न सक्थ्यो होला र ? पानीमुनि लुकेकै भए पनि निकालेर, खोतलखातल पारेर उहिल्यै अपराधी पत्ता लागिसक्ने थियो । बलात्कारपश्चात् मारिएकी भनिएकी युवती निर्मला पन्तको हत्यारा पानीमुनि लुकेकै भए पनि खोतलेर निकाल्ने थिए । तर निर्मलाको हत्यारा पत्ता लाउनुको साटो उल्टो दोष पो बोकाउँछन् र त्यति पेचिलो मुद्दालाई हावामा उडाउन बेर लाउँदैनन् कि भन्ने डर आम मानिसका मनमा पस्न थाल्यो ।

विगतको देशोन्नतिको बाधक राणा शासन र पञ्चायती शासन हो भने २०६२ देखि झन्डै दुई दशक लामो कालखण्डमा नेपालमा जति मात्रामा विकासका काम हुनुपर्ने थियो, त्यसको आधाको आधा मात्र पनि हुन नसक्नुको बाधक को हो नि ? कुनै एउटा राजनीतिक दलको एक नेताले अर्को नाम कहलिएको राजनीतिक दलको नेतालाई भन्दै थिए, ‘हामी त चोर पो अरे ! हो त ?’ यसरी प्रश्न राख्ने उनी पछि आफैँले भने, ‘होइन, हामी चोर होइनौँ ?’ यदि उनीहरू साँच्चै चोर होइनन् भने सिङ्गो र एउटा मजबुत अर्थतन्त्रकै जगमा बलियैसँग उभिँदै आएको नेपाल कसरी टाट पल्टिने अवस्थाबाट गुज्रँदै छ त ? यदि उनीहरू चोर होइनन र साधु मान्छे हुन्थे भने त त्यो पैसाको सही सदुपयोग गरेर उन्नतिको स्तरलाई धेरै माथि उठाउन सकिने अवस्था आउने थियो ।

२००७ सालपछिको कालखण्डमा मातृका कोइराला, बीपी कोइराला आदिको नेतृत्वमा एउटा दृष्टिकोणका साथ देशको हरेक क्षेत्रबाट उन्नतिका कामको थालनी हुन सकेको भए तत्कालीन राजा महेन्द्रले पनि असन्तुष्ट भएर जबर्जस्ती एकदलीय पञ्चायती व्यवस्थालाई लाद्ने थिएनन् होला । यी कुरा विगतका इतिहासमा दर्ज नभए पनि अबको इतिहासमा अवश्य समेटिनेछ । त्यसैले नेताहरु सच्चिन ढिला भइसकेको छ ।न्युजअफ नेपालबाट ।

50% LikesVS
50% Dislikes