सृजनाको चौतारी

एउटा अधुरो गीत !

कविता
जी एन शर्मा
लेखिरहेको थिएँ
लाग्यो, अब पुरा गर्नु पर्ला यो गीतलाई
मान्छेहरु अब हाँस्न पाउँनेछन्
मान्छेहरुले अब मान्छे भएर बाँच्न पाउनेछन्
होला भन्ने लाग्यो, अनि गीतलाई पुरा गरेको थिएँ
त्यो गीत मान्छेहरुको गीत थियो
ठ्याक्कै तिमी जस्तै अनि म जस्तै मान्छेहरुको

गीतमा संगीत भर्दैँ थिएँ, शब्दसँगै संगीत नाच्दै थियो
स्वर भर्नेको खोजीमा थिएँ
तर, गीतले एक्कासी भन्यो !म अधुरो छु अझै अपुरो छु
पुरा गरेको गीतले चित्त बुझाउन सकेन
भन्यो — अझै लेख मलाई
सबै मान्छेहरु कहाँ हाँस्न पाएकाछन् त ?
सबै मान्छेहरुले कहाँ बाँच्न पाएकाछन् त ?
रुने हरु धेरैछन्, मर्नेहरुको संख्या धेर छ
अनि म कसरी पुरा भएको छु ?
लेख अझै लेख मलाई , मैले भयो नभने सम्म मलाई लेख्नु
मान्छेले मान्छेलाई ‘मान्छे’ भनेर नबुझे सम्म
केही दर्जनका लागि रमाईलो र घमाईलो छ
हजारौँ अझै उस्तैछन्
त्यसैले , तँ साच्चैको गीत लेख्छस् भने
एउटा हुरी र एउटा आँधीको पनि हरफ थपेर लेख !
एउटा संकल्प र एउटा मुक्तिको पनि अन्तरा बनाएर लेख !
किनकी सबैका लागि घाम पनि लागेको छैन
सबैका लागि पानी पनि त परेको छैन
केही थानले मात्र आङ् सुकाएकाछन्
केही केहीले मात्रै ओता पाएकाछन्
त्यसैले म अधुरो छु , अझै अपुरो छु
एउटा जितको हरफ पनि थप
एउटा ‘नयाँ बिहान’शब्द पनि राख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button