सृजनाको चौतारी

हेरेर आफै चिन

कविता
छन्द—शार्दूलविक्रीडित

आशाका सपना उठाइ जनमा छोडेर हिँड्छन् तर
दिन्छन् भाषण ती चुनाव नजिकै आएर दैलो घर।
राम्रो सोच बिचार जो छ उसको आऊ र देऊ मन
त्यो हाम्रो सहयोग खेर जन हो व्यर्थै नजाओस् भन।
आऊ छान सफा बिचार जसको हेरेर आफै चिन
जो राम्रो छ खुबी चरित्र उसको देखेर त्यो लक्षण।
यी हाम्रा धमनी रसाइ तनमा राम्रा पलाउन् मुना
बानी जो अब झन् सुधार सबले बाँधेर आफ्ना तुना।
बुझ्नैपर्छ सफा चरित्र जसको संभावना दर्बिलो
नेपाली जनका सुरा असल ती रोजेर हाम्रो भलो।
फाले इज्जत देशको सहज जो अस्तित्व मेटाउँदै‌
ती आफन्त मिलेर राष्ट्र ढिकुटी खाएर रित्याउँदै‌।
चाहा ती जनका थिचेर यिनले खुम्च्याइ राख्छन् जहाँ
यस्ताले कसरी विकास जन हो आएर गर्छन् यहाँ।
जो राम्रा जन छन् बुझेर सजिलै फाल्छन् दुराचार त्यो
राख्नेछन् तिनले अमूल्य गहना आफ्नै सदाचार यो।
जो गर्छन् प्रणले विकास गतिलो जोगिन्छ झन् इज्जत
जो गर्छन् मनले निकास लचिलो त्यो हुन्छ बेइज्जत।
देऊ साथ जहाँ अगाडि सहजै देख्यौ बढेको भने
राम्रा काम गरेर छन् असल ती राम्रै गरेको भने।

माईजोगमाई—१ इलाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button