स्वास्थ्य

सुरु भएन अस्पताल निर्माण : दुई वर्षअघि शिलान्यास

गोरखापत्र अनलाइन
धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित बेनीघाट स्वास्थ्य चौकीको नयाँ भवन शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि भवन निर्माणले गति लिन सकेको छैन। शिलान्यास भएको दुई वर्षमा न अस्पताल निर्माणको कार्य सुरु भयो न त शिलान्यास गरेको ठाउँको पहिचान नै।

पालिकाले अस्पताल बनाउन तयार पारेको जग्गा अचेल पार्किङ स्थल बनेको छ। एकातिर अस्पताल कहिले बन्छ भन्ने अन्योल छ भने अर्कातिर शिलान्यास गरिएको ठाउँ नै पहिचान गर्न मुस्किल छ। देशैभरका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले सरकारले २०७७ साल मङ्सिर १५ गते भर्चुअल माध्यमबाट अस्पताल शिलान्यास गरेको थियो। शिलान्यासपछि पालिकाहरूमा जनप्रतिनिधि फेरिए, सङ्घ र प्रदेशमा सरकार फेरियो तर शिलान्यास गरिएको अस्पतालको निर्माणले गति लिन सकेको छैन।

जग्गा अभावले भवन निर्माणको काम रोकिएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया बताउनुहुन्छ। शिलान्यास गरिएको ठाउँ भिरालो भएकाले अस्पतालका लागि योग्य नभएको प्राविधिकको ठहर छ। “शिलान्यास भयो तर काम अगाडि बढाउन मापदण्डविपरीत हुन जान्छ,” थपलियाले भन्नुभयो। योग्य जमिन र तयारी अभावजस्ता कारणले अस्पताल भवन निर्माणले पूर्णता पाउन नसकेको थपलियाको भनाइ छ।

शिलान्यास गरिएका अधिकांश स्वास्थ्य संस्थाका भवन निर्माण शिलान्यासमै सीमित छन्। थोरै मात्र निर्माणाधीन अवस्थामा छन्। जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणाधीन चरणमा छ। फाउन्डेसनका कार्यहरू भइरहेको स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताउनुभयो। १५ शय्याको अस्पताल १८ करोड रुपियाँको लागतमा निर्माण गर्न लागिएको हो।

“लामो समय जग्गा विवादका कारण स्वास्थ्य केन्द्रको भवन निर्माण हुन सकेन। व्यक्तिगत जग्गा परेको र पछिल्लो समय जग्गा किनेर भवन निर्माणको काम द्रुत गतिमा अघि बढेको छ,” श्रेष्ठले भन्नुभयो। ज्वालामुखी गाउँपालिका–२, सातदोबाटोमा शिलान्यास गरिएको अस्पताल पनि निर्माणाधीन अवस्थामा छ।

१५ शøयाको उक्त अस्पताल भवनको बोलपत्र आह्वान र जग्गाकै कारण निर्माणमा ढिलाइ भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button