मूल खबर

साढे छ सय फरार प्रतिवादी पक्राउ

गोरखापत्र अनलाइन
ढल्केबर । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार एकैदिन जिल्लाको विभिन्न स्थानबाट विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले बुधबार १५ जना र मङ्गलबार १४ जनालाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरेको बताउनुभयो। अदालतको फैसला कार्यान्वयन एकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेको बताउँदै दिनहुँजसो फरार प्रतिवादी पक्राउ परिरहेको उहाँले जानकारी दिनुभयो।

यस अभियानअन्तर्गत चालू आर्थिक वर्षको साउन १ देखि फागुन १८ गतेसम्ममा ६४६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीमध्ये कैद सजाय तोकिएकालाई अदालतमा उपस्थित गराइ कारागार पठाइएको छ भने अनुसन्धानका शिलशिलामा पक्राउ परेकालाई प्रहरी नियन्त्रणमा राखिएको छ।

प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट पनि फरार प्रतिवादीलाई खोजतलास गरी कारबाही चलाउन निर्देशन छ। प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “निर्देशनअनुसार कर्तव्य ज्यान, सवारी ज्यान, ठगीलगायतका मुद्दामा अदालतबाट दोषी ठहर भएका तथा आरोपित फरार प्रतिवादीलाई पक्राउ गरी कारबाही अभियान चलाइएको छ।”

यसका लागि एक जना प्रहरी निरीक्षकको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली नै खटाइएको छ। उहाँका अनुसार प्रहरी चौकीबाट पनि जनशक्ति परिचालन गरिएको छ। फरार प्रतिवादी खोज्ने र पक्राउ गरी कानुनी दायराभित्र ल्याउन काम तीव्र रूपमा भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button